नेपाल वायु सेवा निगमको जहाजमार्फत दुबईबाट काठमाडौं आउँदा ३५ किलोग्रामसम्मको तौल भएको लगेज निशुल्क ल्याउन पाउने

Loading...
एकतर्फी भाडा २२ हजार ७ सय, दुईतर्फीको साढे ३८ हजार image


नेपाल वायु सेवा निगमको जहाजमार्फत दुबईबाट काठमाडौं आउँदा ३५ किलोग्रामसम्मको तौल भएको लगेज निशुल्क ल्याउन पाउने सुविधा रहेको निगमका कर्पोरेट डाइरेक्टर समेत रहेका प्रवक्ता शर्माले बताए। त्यस्तै काठमाडौंबाट दुबई जाँदा भने यात्रुहरुले २० किलोसम्मको लगेज निशुल्क लैजान पाउने छन्। स्वादिष्ट खाना, नेपाली वातावरण तातो चिसो तथा आरामदायी सिटको व्यवस्था निगमको विमानमा यात्रा गर्दा हुने आकर्षक पक्ष रहेको शर्माले बताए।
अगामी भदौ २ गतेबाट राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई उडान पुनः सञ्चालन गर्ने भएको छ।
जहाज अभाव तथा प्रतिस्पर्धी क्षमता गुमाउँदै गएपछि चार वर्ष अगाडि बन्द भएको दुबई उडान निगमको कार्यक्षेत्र विस्तार योजना अन्तर्गतको पहिलो चरण भएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए। अरु विमान कम्पनीहरुको भन्दा सस्तो तथा सुविधायुक्त हुने बताएको निगमले हप्तामा तीन दिन उडान भर्ने जानकारी गराएको छ।
हप्तामा आइतबार, मंगलबार तथा बिहीबार हुने उडान तालिका काठमाडौंबाट साढे १० बजे हुने निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए। काठमाडौंबाट दुबई पुग्न ४ घण्टा ४० मिनेट लाग्ने छ भने दुबईबाट काठमाडौं आउन ४ घण्टा १५ मिनेटको समय लाग्ने निगमका निर्देशक जनकराज कालाखेतीले जानकारी दिए।
भाडा कति ?
निगमले उडनको सुरुआती चरणमा प्रबर्द्धनात्मक भाडादर कायम गरिएको र नियमित भाडादर पनि अरु विमानहरुको भन्दा सस्तो हुने बताएको छ। निगमका प्रवक्ता शर्माले दिएको जानकारी अनुसार उडानको सुरुआती चरणमा काठमाडौं देखि दुबईसम्मको एकतर्फी भाडा २२ हजार ७ सय र दुइतर्फीको लागि ३८ हजार ५ सय रुपैयाँ रहेको छ।
त्यस्तै दुबईबाट काठमाडौं आउनको लागि भने एकतर्फी भाडा ५ सय ६५ दिराम र दुइतर्फीको लागि ११ सय ३० दिराम निर्धारण गरिएको छ। यो भाडा सुरुआतमा प्रबर्द्धनात्मक भएको र पछि नियमित भाडादर कायम गरिने शर्माले जानकारी दिए।
लगेज सुविधा
नेपाल वायु सेवा निगमको जहाजबाट यात्रुले यात्रा गर्दा दुबईबाट काठमाडौं आउँदा ३५ किलोसम्म निशुल्क लगेजको सुविधा पाउने निगमका कर्पोरेट डाइरेक्टर समेत रहेका प्रवक्ता शर्माले बताए।
त्यस्तै काठमाडौंबाट दुबई जाँदा भने यात्रुहरुले २० किलोसम्मको निशुल्क लगेज सुविधा पाउने छन्।
‘काठमाडौंबाट जाने यात्रुहरुले सामान धेरै नलिने र दुबईबाट नेपाल आउनेहरुले समान धेरै ल्याउने भएकोले उताबाट आउनेलाई बढी सुविधा दिएका हौँ’ शर्माले भने। कुनै यात्रुले निशुल्क लगेज सुविधा भन्दा बढी समान ल्याउन चाहेमा पनि निगमले सस्तो भाडामा समान ल्याउने सुविधा दिएको शर्माले बताए।
स्वादिष्ट खाना, नेपाली वातावरण तातो चिसो तथा आरामदायी सिटको व्यवस्था निगमको विमानमा यात्रा गर्दा हुने थप आकर्षण भएको शर्माले जानकारी दिए। ‘पहिलो कुरा त हाम्रोमा नेपाली वातावरण हुन्छ, भाषाको समस्या हुँदैन, आफ्नै घरमा पुगेजस्तो महसुस हुन्छ त्यसमा सुविधामा हामी कुनै पनि सम्झौता गर्दैनौँ’ शर्माले सबै नेपालीहरुलाई राष्ट्रिय ध्वजाबाहकमा यात्रा गर्न अनुरोध गर्दै सेतोपाटीसँगभ भने।
नेपाल वायुसेवा निगमले कुनै पनि यात्रुले तोकेको मितिमा यात्रा गर्न असमर्थ भएमा उसको मिति परिवर्तनसँगै पैसा पनि फिर्ता गर्ने सुविधा दिएको छ। ‘निर्धातिर मितिमा टिकेट काटिसकेका यात्रुले यात्रा गर्न असमर्थ भएमा हामी उहाँहरुको पैसा नै फिर्ता गरिदिन्छौं’ शर्माले भने।
यो सँगै निगमका अन्तराष्ट्रिय उडान गन्तव्य सँख्या ८ पुग्ने भएको छ । तीन वटा विमान सञ्चालनमा रहेको निगमले विमान संख्या थप गरेपछि उडान गन्तव्यहरु पनि बढाउँदै जाने र दुबईको लागि फ्लाइट संख्या पनि वृद्धि गर्ने योजाना बनाएको निर्देशक कालाखेतीले बताए ।
नेपालीहरुको लोकप्रीय रोजगारीको गन्तव्य भएको दुबई उडानबाट एकवर्षमा ४० हजारभन्दा बढी यात्रुलाइ सेवा दिएर १ अर्ब भन्दा बढी आम्दानी गर्ने लक्ष्य निगमले लिएको छ।

Loading...
Share on Google Plus