छोरा–बुहारीले नै बोक्सी भनेर कुटे

Loading...
बोक्सीको आरोपमा आफ्नै छोरा बुहारीको यातना दिएपछि अर्मला–६ डिहीकी ६९ वर्षीया सुमित्रा खत्री घर छाडेर बृद्धाश्रमको शरणमा पुगेकी छन् । बोक्सी भन्दै छोराले कुटेपछि घर छाडन बाध्य भएको उनले बताएकी छिन् ।तेह्र वर्षअघि श्रीमानको मृत्यु भएपछि उनी छोराबुहारीकै भरोसामा बसेकी थिइन् । सुरुमा राम्रो व्यवहार गरेका उनीहरूले चार वर्षयता बोक्सीको आरोपमा मानसिक र शारीरिक यातना दिन थालेपछि घर छाड्नु पर्ने अवस्था आएको उनले बताइन । 

श्रीमान नरबहादुरको नाममा अर्मलामै साढे १९ रोपनी जग्गा थियो । बाबुको निधनपछि आमालाई झुक्याएर छोरा रामबहादुरले १८ रोपनी जग्गा आफनो नाममा पास गराए । डेढ रोपनी जग्गा आमा र छोराको नाममा संयुक्त थियो । उक्त जग्गा बुहारी बसन्तीले नामसारी गरिदिन वा जग्गा बिक्री गर्न दवाव दिँदै आएकी थिइन् । तर, सुमित्राले मानिनन् । त्यसपछि उनले दैनिकजसो छोरा बुहारीको नराम्रो गाली खानु पर्थ्यो । 

‘म बुढी भइसकें मरेपछि तिमीहरुले नै सम्पत्ती खाने हो बाँचुञ्जेलसम्म डेढ रोपनी जग्गा मेरै नाममा राख्न देउ भन्दा उल्टै छोरा र नातिनीले त बोक्सी होस् भन्दै कुटपिट गरे,’ उनले भनिन्, ‘दुई वर्षअघि छोराले घरमा जम्मा भएका दुई चार जना छिमेकीकै अगाडि टाउकोमा नराम्ररी हान्यो । लामो समय निधार सुन्नियो । नातिनीले पनि कुटी । रुँदै बसेँ । खानपिनमा वास्ता गरेनन् । ज्यान जोगाउनै गाह्राो भयो ।’ गाली गर्न नछाडे पनि घरमै बसेकी उनले यातना उग्र भएपछि घर छाड्नुको विकल्प नभएको बताइन् ।

उनले भनिन् ‘बारम्बार बोक्सी भन्दै गाली गरे । सानो कोठामा राखेर बोक्सी हो भन्दै इष्टमित्र र छिमेकीलाई समेत भेटघाट गर्न दिएनन् ।’ गाली धेरै गरेपछि नातेदार कहाँ बस्न गइन् ।  ‘आफैंले जन्माएको छोरो त हो, अब त गाली नगर्ला भन्दै केही दिनपछि घरमा आउँथे, पिटेपनि गाली गरेपनि मेरो मन छोरातिर फर्कियो तर, छोराको मन मतिर फर्किएन’, उनले भनिन्, ‘डरत्रासमा बस्न सकिँन । जीवनभर दु:ख गरेर जोरेको सम्पती माया मारेर घर छाडें । अब कहिल्यै घर फर्किन्न ।’ 

अधिवक्ता शोभा पौडेलको सहायतामा स्थानीय रेडियो जननीमा गुहार माग्न आएकी खत्रीलाई बुधवार पोखराकै वात्स्यान वृद्धाश्रममा लगिएको छ । नेपाली सेनाबाट अवकास प्राप्त भएपछि पोखराको एक विद्यालयमा सुरक्षागार्डमा कार्यरत उनका छोरा रामबहादुरले घर परिवारमा झैंझगडा भएपनि आमालाई दुर्व्यवहार नगरेको दाबी गरेका छन् । वात्स्यान वृद्धाश्रमका अध्यक्ष बोधबहादुर कार्कीले खत्रीलाई  ‘आमाजस्तै सम्मान गरेर खुसी बनाएर राख्छु । वृद्धाश्रममा अर्की आमा थपिनुभयो ।’ वृद्धाश्रममा हाल १४ जना वृद्धवृद्धा छन् । 
कान्तिपुर बाट साभार 
Loading...
Share on Google Plus