के ठुलो पेटले हर्टअट्याकको जोखिम हुन्छ ?

Loading...
मुटुको रोग लागेको हो होइन भन्ने पत्ता लगाउन विभिन्न प्रकारका जटिल जाँच गराउनुपर्छ भनेर बिरामीलाई निक्कै चिन्तित बनाएको हुन्छ । आत्तिनु पर्दैन, यो रोगको सजिलोसंग निदान गर्ने तरिका पनि छन् । एउटा नाप्ने फित्ता महत्वपूर्ण साधन हुन सक्छ । अमेरिकी मुटु संघको बैठकमा प्रस्तुत भएको एक प्रतिवेदनमा ठुलो कम्मर  हुनु हृदयाघातको वा मुटुको रोगलाई छिटो निम्त्याउनु हो भनी जोड दिइएको छ ।

मुटु रोग विशेषज्ञहरु धेरै देशमा मृत्युको अग्रणी कारण बनेको मुटुको रोग लाग्ने सम्भावना बुझ्नका लागि कोलेस्टेरोलको स्तर, रक्तचाप, मोटोपन, अरु जाँचहरु नियमित रुपमा गराइरहन्छन् । मुटुको रोगबाट मृत्यु हुनाको प्रमुख कारण धूमपान र उच्च रक्तचाप हो भने त्यसपछि मोटोपन पनि हो । शरीरमा जम्मा भएको बोसो र हृदय रोग लाग्ने एउटा महत्वपूर्ण संकेत हो भनी तथ्यांकहरुले देखाएका छन् । बोसो बीचमा रहेको  स्याउको आकारको पेट पिँधमा फैलिएको आरुको आकारको पेटभन्दा खतरनाक हुनछ ।

फ्रान्समा सन् १९६७ देखि १९८४ सम्म हृदयाघात वा मुटुसंबन्धी रोगबाट मृत्यु हुने सात हजार प्रहरीमा यो रोगको अध्ययन गरिएको थियो । उक्त अध्ययनमा कम्मरको गोलाई र शरीरको उचाइको अनुपातमा तौल कति रहेछ भन्ने पनि अभिलेख गरिएको थियो । शरीरको उचाईको अनुपातमा तौलको सूची (बिएमआई) कुनै व्यक्ति धेरै मोटो वा असाध्यै मोटो छ कि छैन भनी जान्न प्रयोग रिने सूची हो । यसअध्ययनले पेटको घनत्व बढी भएकालाई मुटुसंबन्धी रोग लागेको र चाँडो मृत्यु भएको तथ्य देखाएको थियो । यसबाट के प्रष्ट हुन्छ भने बढी तौल भएपनि कम्मरको गोलाई कम भएका मानिसलाई अकस्मात मृत्यु हुने डर कम हुन्छ । पुरुषका लागि ३७ इन्च गोलाई अन्तिम सीमा हो भने महिलाका ३३ इन्च हो । यसभन्दा बढी भए हृदयाघात हुने जोखिम बढ्छ ।
४५ वर्ष र सोभन्दा माथिका अमेरिकन वयस्क मानिसमा उनीहरुको कम्मर तथा गर्धनको गोलाई, तौलको मापन र पाखुरा तथा तिघ्राको छालाको बाक्लोपनबारे एक अनौठो खालको अध्ययन गरिएको थियो । यस अध्ययनले पनि जसको शरीरको बीचमा बोसो जमेको हुन्छ उसलाई विशेष प्रकारको मुटुको रोगबढी लाग्ने कुरा पक्का हो भने देखायो ।
यो रोगलाइ चिकित्साशस्त्रमा  ‘लेफ्ट भेन्ट्रिकुलर डायस्टोलिक डिस्फङसन’ भनिन्छ । यो मुटु ठीक तरिकाले र राम्रोसंग चलेको छरछैन भनी मापन गर्ने विधि हो ।
पाँच वर्षको अन्तरालमा मृत्यु भएका मान्छेका शवको शारीरिक बनोटको विश्लेषण गर्दा यस अध्ययनले कमजोर डायस्टोलिक फङसन र ठुलो कम्मर भएकालाई मृत्युको खतरा बढी हुन्छ भन्ने पत्ता लगाएको थियो र तौल, उचाई र शरीरको पिण्डको सूची लिनुको साटो अब कम्मर र गर्धनको गोलाईको नाप लिनु बेस हुन्छ भन्ने निचोड निकालेको थियो । केही वर्षपहिले तेस्रो अध्ययन पूरा भएको थियो । यसलाई ‘इन्टर हार्ट स्टडी’ नाम दिइएको थियो । यस अध्ययनलाई हृदयाघात हुने जोखिमका कारण के के हुन् भन्ने पत्ता लगाउन अहिलेसम्म भएको सबैभन्दा ठुलो अनुसन्धनात्मक योजनाका रुपमा लिइएको छ । यो अध्ययन नेपाललगायत ५२ मुलुकमा गरिएको थियो । नेपालमा यसलाई चाहिने तथ्यांक त्रिवि शिक्षण अस्पताल र नर्भिक अस्पतालबाट लिइएको थियो । यस क्रममा शरीरको समग्र तौल अथवा बिएमआई को जाँच गर्नुभन्दा कम्मर र नितम्बको अनुपात लिनु जरुरी छ भन्ने स्पष्ट भएको थियो ।
कम्मर  र नितम्बको अनुपात कसरी नाप्ने ?
कम्मरको नाप लिँदा नाइटोदेखि गोलाई नाप्नुपर्छ ।
नितम्बको नाप लिँदा आफ्नो नितम्बको सबैभन्दा बढी फैलिएको भाग नाप्नुपर्छ ।
अनुपात कति हुनुपर्छ त ? पुरुषको ०.९ भन्दा कम र महिलाको ०.८ भन्दा कम ।
यदि यो अनुपात बढी छ भने आफ्नो तौल नियन्त्रण गर्न सुरु गरिहाल्नुपर्छ ।
-डा भारत रावत
Loading...
Share on Google Plus