सावधान ! जुम्रा जस्तै सुक्ष्म जीवबाट डरलाग्दो रोग सर्ला

Loading...
जुम्रा, मुसा, किर्नाले दुःख नदिएको तपाई हामी मध्ये सायदै छौं होला । टाउकोमा जुर्मा पर्दा खेप्नुपर्ने हैरानी, घर वरपर डुल्ने मुसाले दिएको सास्ती अनि गाईभैँसीमा देखिने किर्नाको समस्या । तर यस्तै एक प्रकारको संक्रमित किराले टोकेमा मानिसमा डरलाग्दो रोग लाग्छ । त्यो रोग हो स्क्रब टाइफस ।
के हो स्क्रब टाइफस ?
अंगे्रजीमा माइट भनिने यो किरा जुम्रा जस्तै तर सुक्ष्म हुन्छ । यो जनोसिस अर्थात जनावरबाट सर्ने रोग अन्तर्गत पर्छ । यो जीवलाई माइक्रोस्कोपबाट हेर्न सकिन्छ । विशेष गरी यसले मुसालाई शिकार बनाउँछ ।
मुसाले टोक्दैमा रोग सर्ने होइन तर संक्रमित मुसाले मानिसलाई टोकेमा अथवा मुसाबाट घाँसपात/झारझाडीमा झरेको बेला माइट मानिसमा सरेर टोकेमा रोग लाग्ने जोखिम बढी हुने सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बताउनुभयो ।

यसले लार्भा अवस्थामा बढी चुस्छ । त्यसैले झाडी वरिपरी, खेतबारीमा काम गर्ने, चौर र झारमा बस्दा सर्ने सम्भावना बढी हुने भएकाले सजग रहन डाक्टरको सुझाव छ ।
नेपालमा जोखिम कस्तो छ ?
स्क्राबटाइफस दोस्रो विश्वयुद्धका बेला जापानका सेनामा देखिएको थियो । घाँसमा झरेको माइट सेनामा सरेको मानिन्छ । नेपालमा पनि यो रोग सन् २००४ मा पाटन अस्पतालमा जाँच गर्न आएका बिरामीमा देखिएपनि कसैले पनि गम्भीरतापूर्वक नलिँदा धेरैलाई सचेत रहनुपर्छ भन्ने जानकारीसम्म नभएको डा. शेरबहादुर पुनको भनाई छ ।
२००४ सालको अध्ययन् प्रतिवेदनले नेपालमा जाडो, गर्मी वा मनसुन जुनसुकै बेला लाग्न सक्ने भएपनि पछिल्लो समय पानी पर्ने समयमा बढी देखिन थालेको हो ।
भाइरल ज्वरोसँगै स्क्रब टाइफसका बिरामी बढ्दै
अहिले भाइरल ज्वरो भन्दै उपचारका लागि अस्पताल आउने बिरामीमा परीक्षण गर्दा स्क्रब टाइफसको संक्रमण देखिएको छ । भाइरल ज्वरोको प्रकोप बढ्दै जाँदा स्क्रब टाइफसको जोखिम पनि उत्तिकै रहेको डा. पुनले बताउनुभयो । १०÷११ वर्ष अगाडि नै नेपालमा देखिएकाले यो कुनै नयाँ रोग नभएपनि पछिल्लो समय बिरामी बढ्दै गएका छन् ।
टेकु अस्पतालमा आएका केही व्यक्तिमा पनि यो रोग देखिएको र उपचार पछि निको भएको उहाँले बताउनुभयो । तर चितवनमा मात्रै चार महिनायता ५३ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।
बढी चितवनमा देखिएपनि यो रोग अहिले नवलपरासी, मकवानपुर, बारा, पर्सा, बाग्लुङ्ग, रुपन्देही, उदयपुर, सिन्धुली, नुवाकोट, बाँके लगायतका जिल्लाबाट ज्वरो निको नभएपछि आएका बिरामीमा देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
स्क्रब टाइफस रोगका लक्षण 
एक सय चार डिग्री ज्वरो आउने बिरामीमा टाउको दुख्ने घाँटीमुनि र कम्मरमाथि र शरीरका विभिन्न भागमा फोका देखिनेआँखा रातो हुँदै जानेटोकेको ठाउँमा कालो दाग देखिदै जाने पसिना आउने ग्रन्थी समेत सुनिन्छ
यस्ता लक्षण देखिएकामध्ये ३० प्रतिशतसम्म ज्यान जाने जोखिम हुन्छ । माइटले टोकेको ५ देखि २० दिन भित्रमा लक्षण देखिन थाल्छ । यो रोग लाग्दैमा आत्तिनु पर्दैन तर रोगका लक्षण देखिए तत्काल स्वास्थ्य परीक्षण गराउन डाक्टरको सुझाव छ । रोग पत्ता लागेमा उपचार सहजै हुन्छ ।
‘ब्याक्टेरिया इन्फेक्सन भएकाले औषधि खाएपछि निको हुन्छ,’ डा. पुनले भन्नुभयो ‘बेलैमा उपचार नभए यसले शरीरका अन्य भागलाई पनि असर पुर्‍याउँछ ।’  यसले निमोनिया हुने, फोक्सो र दिमागलाई असर पुग्ने हुँदा लक्षण देखा पर्नासाथ स्वास्थ्य संस्थामा जाँच गराउन उहाँको सुझाव छ ।

कसरी बच्ने ?
घर वरिपरी सफा राख्नेमुसा, किर्नालाई नियन्त्रण गर्नेशरीर छोप्ने गरी कपडा लगाउनेरोगबारे पूर्व जानकारी राख्ने
आफू बस्ने वरिपरी यो रोग फैलिएको छ या छैन ध्यान दिने र ज्वरो आएको, आँखा रातो भएको पाएमा तत्काल स्वास्थ्य संस्था जानुपर्छ ।
यो रोग अहिलेसम्म मानिसबाट मानिसमा सरेको भने पाइएको छैन । रोग थाहा पाइसकेपछि बेलैमा उपचार भएमा एन्टिबायोटिकले सजिलै निको हुने हुँदा बेला बेला रगत परीक्षण गर्न आवश्यक छ ।
मदन पौड्याल/उज्यालो 
Loading...
Share on Google Plus