.

हसंपुरमा भएको जीप दुर्घटनाका चालक विरुद्ध ज्यान मुद्दा

प्रेम आचार्य

अर्घाखाँची, भदौ १३ – आइतबार दिउँसो हसंपुरमा भएको जीप दुर्घटनाका चालक विरुद्ध जिल्ला अदालत अर्घाखाँचीमा सोमबार सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता भएको छ । प्रहरीले गाडी चालक गुल्मीका उत्तम श्रीस विरुद्ध जिल्ला अदालत अर्घाखाँचीमा  सवारी ज्यान सम्बन्धी मुद्धा दर्ता गराएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेको र सवारी ज्यान मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक नबरत्न पौडेलले बताउनुभयो । 
हंसपुरमा भएको दुर्घटनामा चालकको लापरबाही र गाडीको कन्डिसन ठिक नहुनु रहेको प्रहरीले जनाएको छ । अर्घाखाँचीको सन्धिखर्कदेखि प्युठानको बादीकोट जाँदै गरेको जीप हसंपुरमा आइतबार दिउँसो दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो । 
‘उकालोमा हिँड्दा हिँड्दै गाडीले तानेन । गाडी ब्याक हुन खोज्यो चालकले स्टेरिङ घुमाए । स्टेरिङ घुम्न सकेन । ड्राईभरले ब्रेक दाबे ब्रेक लागेन । गाडी सडकमै झण्डै ५० मिटर ब्याक भयो’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले घटनाको वर्णन गर्दै भन्नुभयो, ‘घटनास्थलको प्रकृति हेर्दा पुरानो गाडी कन्डिसनमा नहुनु र ड्राइभरको लापरबाहीका कारणले दुर्घटना भएको हो । उक्कालो बाटोमा जीपले नतान्नु, स्टेरिङ नघुम्नु र ब्रेक नलाग्ने एकै पटक हुँदा ड्राइभरको होस गुमेको हुन सक्छ ।’ 
दुर्घटनामा ज्यान गएका सबैको सनाखत भएको छ । पोष्टमार्टमपछि सबै शव आफन्तलाई अन्तिम सस्कारको लागि बुझाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक सुजनराज भण्डारीले बताउनु भयो । तीन जना घाइतेको बुटबलमा उपचार भैरहेको छ । 
source: ujyaalo online
Loading...
Share on Google Plus