मेला पर्व सँगै निगमको लापरबाहीले पेट्रोल पाइएन

Loading...
आयल निगमको लापरबाहीका कारण बजारमा पुन: इन्धनको अभाव देखिएको छ । मन्त्री भएलगत्तै बजार अनुगमन बढाउन थालेका आपूर्ति मन्त्री दीपक बोहराले पनि बिनाकारण बजारमा पेट्रोल अभाव हुँदा पनि कुनै कारबाही गरेका छैनन् । झन्डै ५ दिनदेखि उपत्यकामा रहेका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ को सूचना टाँसिएका छन् । केही सरकारी स्वामित्वमा सञ्चालित पम्पमा वितरण भए पनि सर्वसाधारणको भीड अत्यधिक छ ।

‘पेट्रोल खोज्न बिहानै घरबाट निस्कें । गोंगबु, सामाखुसी, बसुन्धरा, महाराजगन्ज, सुकेधारा, चाबहिल, मित्रपार्क लगायतका पेट्रोल पम्पहरू बन्द थिए,’ मनमैजुका कविन अधिकारीले भने, ‘पम्प बन्दले धेरै दु:ख पाएँ ।’ सार्वजनिक बिदा हुनुअगावै पर्याप्त इन्धन वितरण नगर्दा सर्वसाधरणले दु:ख पाएको उनको भनाइ छ । सामान्य अभाव हुँदा गोंगबु प्रहरी पेट्रोल पम्पबाट इन्धन बिक्री हुन्थ्यो । तर, शुक्रबार भने प्रहरी पम्पबाट पनि इन्धन वितरण नभएको उनले बताए । सानो गौचरनमा भेटिएका ट्याक्सी चालकको भनाइ पनि उस्तै थियो । ‘पेट्रोलका लागि दुई दिन पम्प धाएँ,’ कालोपुल बस्दै आएका जीवन तामाङले भने, ‘तर, पेट्रोल पाएको छैन ।’ पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बजार मागअनुसार पेट्रोल वितरण नगर्दा अभाव भएको बताए । ‘सार्वजनिक बिदा हुनुअगावै पर्याप्त मात्रामा वितरण गर्नुपर्छ । तीन दिनका लागि ९ सय किलोलिटरभन्दा बढी पेट्रोल वितरण गर्नुपथ्र्यो । तर, वितरण भएन,’ अध्यक्ष प्रधानले भने, ‘पेट्रोल नहुँदा उपत्यकाका करिब ९० प्रतिशत पम्पहरू बन्द छन् ।’

उपत्यकामा १ सय ३३ पेट्रोल पम्पहरू छन् । तीमध्ये ८ वटा सरकारी स्वामित्वका हुन् । निगमका अनुसार पेट्रोलको दैनिक माग ३ सय ५० देखि ४ सय किलोलिटर छ । प्रधानका अनुसार थानकोट डिपोबाट साउन ३१ गते ३ सय ८७ किलोलिटर पेट्रोल वितरण भएको थियो । तीमध्ये ९८ किलोलिटर सरकारी स्वामित्वमा रहेका पम्पलाई वितरण भएको थियो । साउन ३२ गते ३ सय ९० किलोलिटर वितरण भयो ।

जसमध्ये ९६ किलोलिटर सरकारी पम्पलाई थियो । यस्तै, भदौ १ गते ४ सय ३२ किलोलिटर वितरण भएको मध्ये ९९ किलोलिटर सरकारी पम्पलाई दिइएको थियो । सबै निजी पम्पहरूमा तेल नपुग्दा अभाव हुँदै गएको अध्यक्ष प्रधानले बताए । चाडबाडमा पेट्रोलको मागमा वृद्धि हुन्छ । सहरी क्षेत्रमा इन्धन छिट्टै सकिन्छ । त्यसपछि सरकारी पम्पमा भीड लाग्छ । पम्पहरूमा लाइन हुनेबित्तिकै बजार अस्तव्यस्त हुन्छ । ‘करिब एक सातादेखि सबै पम्पले पाएका थिएनन्,’ प्रधानले भने, ‘अहिले सार्वजनिक बिदासमेत भएकाले थप अस्तव्यस्त भएको हो ।’

निगमका थानकोट डिपो प्रमुख रवीन शर्मा सर्वसाधारणको मागभन्दा बढी इन्धन वितरण गरेको दाबी गरे । बाटोका कारण थानकोटमा लोड भएका इन्धन समयमै पम्पमा पुग्न नसकेको उनको भनाइ छ । ‘थानकोटसँगै सतुंगलमा सडक बाटो समस्या छ । कलंकीसम्म पुर्‍याउन धेरै समय लाग्छ,’ उनले भने, ‘शुक्रबार ६ लाख लिटर पेट्रोल बजारमा पठाएका छौं । अब पेट्रोलकै लागि लाइन बस्न पर्दैन ।’ उनले बेलुकासम्म ९९ प्रतिशतले पम्पले पेट्रोल पाउने दाबी गरे । अहिले दैनिक माग ३ सय ५० हजार किलोलिटरदेखि ४ सय किलोलिटर छ । उपत्यकामा रहेका डिलरहरू वर्गीकरण नहुँदा पनि बेलाबखतमा अभाव हुने गरेको शर्माको भनाइ छ । ‘वर्गीकरण नहुँदा मागअनुसार सबै पम्पलाई दिन सक्दैनौं,’ उनले भने, ‘जसले गर्दा कहिलेकाहीं लाइन देखिएको हो ।’

निगमका प्रवक्ता भानु खनालले इन्धनको अभाव नभएको दाबी गरे । सार्वजनिक बिदा भएकाले केही पम्पहरू बन्द भएको उनले बताए । ‘बिहीबार सार्वजनिक बिदा थियो । जसले गर्दा थानकोट डिपो खुलेन,’ उनले भने, ‘शुक्रबार सर्वसाधारणको मागअनुसार पठाएका छौं ।’ बजारमा थप अभाव भइरहे शनिबार पनि बजारमा पेट्रोल पठाइने उनले बताए । ‘भारतीय आयल कर्पोरेसन्सबाट आयात गर्दा कुनै समस्या छैन, जसले गर्दा पेट्रोलकै लागि आत्तिनु पर्दैन,’ खनालले भने, ‘शनिबार बजारको अवस्था हेरेर निर्णय गर्नेछौं ।’

सार्वजनिक बिदामा बैंकहरू सञ्चालन नहुँदा पनि इन्धन कारोबारमा समस्या भएको निगमले जनाएको छ । व्यवसायीले रकम जम्मा गरेपछि थानकोट डिपोले इन्धन पठाउछ । तर, बैंक बन्द हुँदा ती कामबाट वञ्चित भएको खनालले बताए । व्यवसायी भने बैंकको कुनै समस्या नभएको दाबी गर्छन् । ‘सहजीकरणका लागि निगमको कम्पाउन्डभित्रै बैंक शाखा छ । बैंककै कारण कुनै कामकारबाही रोकिँदैन,’ प्रधानले भने, ‘तर, निगमले नबाँड्दा समस्या भयो । मागअनुसार पम्पले तेल पाएनौं ।’

उपभोक्ता अधिकारकर्मीले पनि मन्त्रालय र निगम समाजप्रति जवाफदेही नहुँदा उपभोक्ताले सधैं दु:ख पाएको बताउँछन् । ‘लामो समय कार्यालय बन्द हुने जानकार हुँदा पनि सरकारी निकाय गैरजिम्मेवार बनेका छन्,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘लापरबाहीकै कारण सर्वसाधारणले दु:ख पाए ।’ अभाव भइरहे कालो बजारीयाहरू सल्बलाउन मौका मिल्ने उनले बताए । मन्त्री बोहराले पनि निगमकै भनाइमा सही थपे । ‘शुक्रबार मात्रै ६ लाख लिटर बाँडिएको छ,’ उनले भने, ‘शनिबारदेखि सहज हुन्छ ।’
कान्तिपुर बाट 
Loading...
Share on Google Plus