.

केपीका बुवा भन्छन्, ‘के पिर, छोरो छ महिनामा फेरि प्रधानमन्त्री भइहाल्छ’



पूर्व प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीको पहिलो बिहान अत्यन्तै पारिवारिक रह्यो। उनले बिहानभरि परिवारसँगै बिताए। त्यसपछि बालकोट निवासमै एकाध भेटघाट गरे। लगभग दिउँसो साढे २ बजे मात्र उनी बाहिर जान तयार भएका थिए।
 
बालकोटबाहिर उनको पहिलो मुकाम रह्यो, नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालको सपथग्रहणका लागि राष्ट्रपति निवास।
 
सेना, प्रहरी र आफ्नो निजी सचिवालयका कर्मचारीको पछि लागेर गाडी चढेका ओलीले ढोका बन्द गर्नुअघि घरतिर फर्केर हात हल्लाए। त्यतिबेलासम्म प्रहरी र सेनाका अधिकृतबाहेक सबै कार्यकर्ता निस्किसकेका थिए। कोही अर्को गाडीमा चढिसकेका थिए।
 
ओलीले मायापूर्वक हात हल्लाएका ती व्यक्ति अरू कोही थिएनन्, उनकै ८६ वर्षीय बाबु मोहनप्रसाद थिए, जो छोरालाई विदाइ गर्न आँगनसम्मै आएका थिए।
 
दौरा सुरुवाल र ढाकाटोपीमा ठाँटिएका मोहनप्रसादलाई ओली निस्किसकेपछि सुरक्षाकर्मीहरूले सिकुवाको सोफामा बसालेका थिए। ओली प्रधानमन्त्री भएको नौ महिनाका बीचमा केही समय बालुवाटारमै बिताएका मोहनप्रसाद बुधबार छोरासँगै बालकोट फिरेका हुन्।
 
‘प्रधानमन्त्रीको बुवा भएर बालुवाटारमा बस्दा कस्तो लाग्यो त?’ सिकुवाबाट सँगसँगै कोठाभित्र छिरेका मोहनप्रसादलाई हामीले सोध्यौं।
 
‘मलाई त न बालुवाटार न बालकोट, आफ्नै गाउँ प्यारो, बाबु,’ वाकपटुतामा छोराभन्दा एक कदमअगाडि उनले फ्याट्टै भनिहाले, ‘म दुःख पर्यो भनेर आत्तिँदै कहिल्यै तल झरिनँ, सुख भयो भनेर मात्तिँदै कहिले माथि चढिनँ पनि।’
 
ग्रामीण आनीबानीमा भिजेका मोहनप्रसादलाई खासमा काठमाडौं बस्ने न कहिले धोको थियो न त अहिले नै छ। छोरो प्रधानमन्त्री भएपछि मात्र हो, उनले अलि बढी काठमाडौं ओहोरदोहोर गर्न थालेको। पछिल्लो डेढ महिनायता भने उनी काठमाडौंमै रहेछन्।
 
उनी काठमाडौं हुँदाका दुइटा संयोग उनले रमाइलो मान्दै सुनाए।
 
‘नौ महिनाअघि छोरा प्रधानमन्त्री निर्वाचित हुँदा म काठमाडौंमै थिएँ, यसपालि प्रधानमन्त्रीबाट मुक्त हुने घडी पनि म काठमाडौं भएकै बेला परेछ,’ उनले भने, ‘कस्तो संयोग भने बालुवाटार जाँदा पनि बाबुछोरा सँगै भइयो, बालुवाटारबाट निस्कँदा पनि सँगसँगै भइयो।’
 
छोरा पूर्व प्रधानमन्त्री भएसँगै आफूलाई गाउँ फर्किन हतार लाग्न थालिसकेको उनले बताए। ‘म तीन–चार दिनमै झापा फर्किन्छु, काँ यहाँ बस्छु र,’ मोहनप्रसादले भने, ‘गाउँ बस्न कता हो कता राम्रो नि!’
 
ओलीको घर झापा पृथ्वीनगर–९, हिमाली चोकमा पर्छ। विर्तामोड, चन्द्रगढी हुँदै दक्षिण भारतसँग जोडिएको पृथ्वीनगर झापाका विकट गाविसमध्ये एउटा हो, जहाँ ओलीका पिता मोहनप्रसाद कान्छो छोरासाथ बस्छन्।
 
संविधान जारी भइसकेपछि भारतीय नाकाबन्दीको समयमा ओली बाबुलाई भेट्न गाउँ पुगेका रहेछन्। त्यतिबेला ओली नयाँ प्रधानमन्त्री बन्ने वातावरण तयार हुँदै थियो। छोरा प्रधानमन्त्री बन्ने माहोल बुझेपछि मोहनप्रसादले काठमाडौं आउने इच्छा देखाए। ओलीले सँगसँगै ल्याए पनि। झापाबाट काठमाडौं आएको केही दिनमै ओली प्रधानमन्त्री भए। 
 
गाउँको त्यो परिवेशले खारिएका पाका मोहनप्रसाद आफ्नो जीवनमा कहिल्यै नसोचेको बालुवाटारमा खुट्टा बिसाउने अवसर पाउँदा दंग परेका थिए।
 
लगत्तै दसैं आयो। मोहनप्रसादले बालुवाटारमा ओली र अन्य सबैलाई टीका लगाइदिए। र, टीकाकै दिन दिउँसो झापा फर्किए। घरमा कान्छो छोरा जयप्रसाद, बुहारी इन्दिरा, नाति सन्तोष, नातिनी गंगा सबै मोहनप्रसादको प्रतिक्षामा थिए। कान्छो छोराको परिवारलाई दसैंको टीका लगाइदिन पृथ्वीनगर गएका मोहनप्रसाद त्यसपछि केही समय उतै रहे।
 
माघमा फेरि काठमाडौं आउने अवसर मिल्यो। उनी त्यतिबेला १५–२० दिन बसेर फर्केका थिए।
 
राम्ररी आँखा देख्ने, सुन्ने र मजाले हिँडडुल गर्नसक्ने, चम्किलो अनुहारका मोहनप्रसादलाई पछिल्लो डेढ महिना भने पट्यारलाग्दो लागेछ। किन त?
 
‘बिहान उज्यालो भएदेखि अँध्यारो भएसम्म गाउँघरका इष्टमित्र र नातेदारसँग भेट्न, कुराकानी गर्नमा व्यस्त भइन्थ्यो। यहाँ बालुवाटारमा त बन्धक भएझैं लाग्यो,’ उनले भने, ‘यहाँ त कसैलाई पनि हतपत भेट्न नपाइने, गेटबाट छिर्न नै नदिँदा रहेछन्।’
 
कतिपयले त उनलाई फोन गर्थे। आफैं दगुरेर जान्थे गेटसम्म लिन। ‘बाहिर मान्छे भेट्न आएका छन्, भित्र छिर्न दिनू’ भनेर त त्यहाँका सुरक्षागार्डलाई धेरैचोटि भने।
 
मोहनप्रसाद बालुवाटार बसेको यही डेढ महिनामै हो, ओली सरकारको दिनगन्ती सुरू भएको। ओलीको राजनीतिक दौडधूप यतिबेला उकुसमुकुस बनेको थियो। राजनीतिक घटनाक्रम तीव्र बनेका बेला बालुवाटार पुगेका मोहनप्रसादले ओलीसँग बसेर १५ मिनेट पनि कुरा गर्न पाएका थिएनन्।
 
‘आउँथ्यो, उभिएर बुबा कस्तो छ भन्थ्यो, गइहाल्थ्यो,’ मोहनप्रसादले भने, ‘अरू के कुरा गर्नु? राजनीति उसलाई सिकाउनु पर्दैनथ्यो मैले।’
 
बालुवाटार बसाइ क्रममा पनि मोहनप्रसाद छोराबाट लगभग टाढा नै रहे। उनी बस्ने र छोरा बस्ने कोठा नै लामो दुरीमा पथ्र्यो। मोहनप्रसाद पहिले–पहिले त ठम्याउन पनि सक्दैनथे। अलि दिन बसेपछि बल्ल ठम्याउन थालेका थिए।
 
‘ढोकैढोका, कता हो कता लंकाजस्तो लाग्थ्यो ऊ बस्ने ठाउँ,’ मोहनप्रसादले भने, ‘कहिलेकाहीँ टुकुटुकु हिँडेर जान्थेँ। भेट्थेँ र फर्किन्थेँ।
 
ओली पनि मोहनप्रसादलाई भेट्न झन्डै दुई–दुई दिनको फरकमा एकपटक कोठामा पुग्दा रहेछन्। र, हालचाल बुझेर फर्किँदा रहेछन्।
 
‘बुबालाई यसो जुस, फलफूल किनेर राखिदिनू,’ कहिलेकाहीँ मोहनप्रसादको कोठा पुग्दा केपीले भन्ने गर्थे, ‘सञ्चो–बिसञ्चो ख्याल गर्नू।’ 
‘म तगडा थिएँ, त्यसैले कसैले केही गर्नुपरेन,’ उनले भने, ‘डाक्टरकहाँ एक–दुईपटक लगे तर मैले बेकारमा डाक्टर चाहिँदैन भन्दिएँ।’
उनलाई चित्त दुःखेको रहेछ। मोतियाबिन्दुको अप्रेसन गर्नुअघि उनी आँखा राम्ररी देख्थे रे। पढ्थे रे। तर, अप्रेसनपछि चश्मा नलगाई अक्षर चिन्न छोडेछन्। ‘बेकारमा अप्रेसन गरेर म आँखा नदेख्ने भएँ, घुरमैलो देखिन्छ,’ उनले भने, ‘कान सुन्दैन भनेर देखाएका थिएँ, मैले उल्टै हकारिदिएँ।’
‘कानमा ढ्याङ्ग्रा लगाएर हिर्काउँथे ट्याङ्ट्याङ पारेर, अनि सुनिस भन्थे, के को नसुन्नु, सुत्दा लामखुट्टे ट्याँट्याँ कराएको सुन्ने मान्छेलाई कान नसुन्ने भन्ने? भन्दिएँ,’ मोहनप्रसादले ठट्यौली पारामा भने।
बालुवाटारको बसाइमा दिक्क हुँदा उनी गाउँ सम्झिन्थे। आफन्त, नातागोता र छरछिमेकी सम्झिन्थे। हल्का हात हेर्ने ज्योतिष विद्या सिकेका र झारफुक पनि गर्ने गरेका मोहनप्रसादलाई घरमा भेट्न आउनेको कमी हुँदैनथ्यो।
‘तपाईं त बालुवाटार पुगेको मान्छे, हामीसँग उसैगरी पहिलेजस्तै बोल्नुहुन्छ,’ गाउँलेले मोहनप्रसादलाई जिस्क्याउँदा रहेछन्।
 
तिनलाई मोहनप्रसाद जवाफ दिन्थे, ‘सुख पाएँ भनेर उक्लिनु हुँदैन, दुःख पाएँ भनेर आत्तिनु हुँदैन।’
 
उनले ०३१ सालको घटना सम्झे। मोहनप्रसाद त्यतिखेर चप्रामारी बस्थे। केपी घैलाडुब्बामा रत्नलाल ओलीको घरमा बसेर पढ्थे।
 
असार–साउनको बेला माइखोलाले चप्रामारीको घरखेत बगायो। मोहनप्रसाद छिमेकीकोमा आश्रित भए। त्यतिबेलै ओली राजनीतिमा हिँडडुल गर्न थालेका थिए। माइखोलाले घरबारविहीन बनाएको त्यो परिस्थितिमा मोहनप्रसादले केपी पक्राउ परेको सुनेका थिए।
 
‘कहाँ के गर्न सक्थेँ र आफू नै अर्काको टाँढमुनि बसेको बेला,’ मोहनप्रसादले सम्झिए।
 
घरखेत हुँदा अरूलाई अँधिया लगाउँथे। त्यसपछि त पटुवा रोप्न पनि अरूको घरखेत अँधियामा कमाउने दिन आए।
 
‘म कमजोर भएको बेला लत्याकलुतुक पनि हुन्न, बलियो हुँदा माथि पुगेको धाक पनि पसार्दिनँ,’ मोहनप्रसादले कण्ठ फुकाएर भने, ‘एक दिन कहाँको मान्छे कहाँ पुग्छ, मैले यो सब देखेको छु, त्यसैले धनको घमन्ड गर्नुहुन्न।’
 
मोहनप्रसादले केपीलाई धेरै नजिकबाट अध्ययन गरेको कि बाल्यकालमा थियो, कि अहिले प्रधानमन्त्री भइकनै। केपीको राजनीतिक व्यस्ततामा मोहनप्रसाद सधैं छुटेकै हुन्थे। बालुवाटार बसाइले थोरै नजिक्याएको मात्र थियो।
 
मोहनप्रसादले छोरा प्रधानमन्त्री हुँदा गरेका कामबारे पनि बोलेका छन्। जनता खुसी भएको दाबी पनि गरेका छन्।
 
सबैभन्दा खुसी ओली सरकारमा हुँदा नाकाबन्दी हटेकोमा लागेको रहेछ। आफूजस्तै वृद्धवृद्धालाई लक्ष्य गरी भत्ता बढाएकोमा गदगद भएका छन्। ओलीकै सरकारका पालामा कर्मचारीले मन दुःखाउनु नपरेको मोहनप्रसादको बुझाइ छ। 
 
‘कर्मचारी कोही दुःखी हुनु परेन, सबैको तलब बढ्यो,’ मोहनप्रसाद भन्छन्, ‘सबै खुसी भएका छन्, बूढाबूढी खुसी भएका छन्, जनताको लागि ज्यान दिएर काम गरेको छ।’ 
 
छोराको कामको मुक्तकण्ठले प्रशंसा गर्ने यी बाबु केपी फेरि प्रधानमन्त्री भएर आउनेमा पनि उत्तिकै विश्वस्त छन्।
 
‘छोराविरुद्ध अविश्वास प्रस्ताव आउँदा, प्रधानमन्त्रीबाट हट्दा तपाईंलाई पिर लागेन?’
 
हाम्रो यो प्रश्नमा उनले भविष्यवाणीसमेत गर्न भ्याए, ‘किन पिर मान्नु, छ महिनापछि फेरि प्रधानमन्त्री बन्ने पो योग देख्छु म त।’
source: setopati
Loading...
Share on Google Plus