केन्यामा उदाउँदैछन् नेपाली युवा व्यवसायीहरू अर्घाखाँची बाशीको पनि बिशेष भूमिका

Loading...
अर्घाखाँची सन्धिखर्क १, का प्रकाश रायमाझी, स्याङजा मालुङ्गा ३ का रामचन्द्र बस्याल, स्याङजा नै मुलघर भइ हाल पोखराबासी कुल कार्की र सुनिल कार्की हरूको त्यस्तै एउटा समूह छ । अफ्रिकाको केन्यामा रोजगारीका लागि पुगेको यो समूहले अफ्रिकनहरूको बीचमा विश्वको उच्च हिमाल सगरमाथाको देश नेपाल हो भन्ने चिनाउँदै, आफ्नो क्षमता र दक्षता देखाउँदै सगरमाथा इन्जिनियरिङ लि. का नाममा व्यवसाय समेत सुरु गरेको छ । 
प्रकाश रायमाझी
देशमै विभिन्न पेशामा आबद्ध रहेपनि देशको विभिन्न परिस्थितिका कारण रोजगारीका लागि अफ्रिका पुगेका यी चार युवाको मनमा सधै आफ्नै केहि गर्नुपर्छ भन्ने सोच थियो । आफू कार्यरत कम्पनीमा आकर्षक रोजगारी र तलब भएपनि नेपाली सान र नेपाली मान राख्न यी चार युवाले आफ्नै कम्पनी खोलेर केही गर्ने दृढ सोंच बनाएपछि सगरमाथा कम्पनीको जन्म भएको हो । “आफै केही गर्नुपर्छ भनेर बारम्बार झक्झाउने कुलबहादुर कार्कीको छत्रछायाँमा नै हामी अघि बढेका हौंँ ।” बस्याल भन्छन् । एनआरएनए केन्याका संस्थापक अध्यक्ष समेत रहेका कुल कार्की सगरमाथा कम्पनीका प्रमुख संरक्षक हुन् । त्यसो त, भारतीय मुलका व्यवसायीले ८० प्रतिशत केन्याको बजार ढाकिसकेका छन् । यसमा नेपाली व्यवसाय तथा व्यवसायीलाई चुनौती पनि छ, व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने ।
छिट्टै भारतीय सञ्जाललाई चिरेर आफ्नो व्यवसायलाई स्थापित गराउने उनीहरूको छ । “चुनौती मात्र नभएर असम्भव जस्तै छ, तर, चुनौतीको सामना नगरी अगाडि बढ्न सकिदैंन भन्ने हाम्रो समूहको मान्यता छ” बस्याल थप्छन् । अफ्रिकाको नियम अनुसार शेयर होल्डरमध्ये स्थानीय नागरिकलाई समेट्नु पर्ने अनिवार्य रहेको छ । उनीहरूको समूहमा एकजना केन्याली नागरिक पनि छन् । भूकम्पले देश थिलो–थिलो भएपछि देशमा पुनः निर्माणको काम सुरु भएका बेला यो समूहको तन केन्यामा भएपनि मनभने हरपल नेपालमा नै छ । पुनर्निर्माणमा यसभन्दा अघि विभिन्न माध्यमबाट आर्थिक तथा नैतिक सहयोग गरेर आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउँदै आएको छ । आफ्नो तर्फबाट के गर्न सकिन्छ भनेर, कम्पनीका डाइरेक्टरहरू सुनिल कार्की, कुल कार्की र प्रकाश रायमाझीहरू अहिले केही समय नेपालमै रहेर अध्ययन अनुसन्धानमा लागेका छन् । देशको पुननिर्माणमा यहाँहरूको पनि त योगदान होला नी ? भन्ने ऐक्यबद्धताको प्रश्नमा बस्याल भन्छन्, “भूकम्पले देश पूर्णरूपमा क्षति भएको छ । यसको निर्माण कार्य अबधि १० बर्षभन्दा बढी हुन्छ । त्यो बिचमा हामी अवश्य आउछाँै आर्थिक, भौतिक तथा नैतिक सहयोग बोकेर, देश निर्माणमा काँधमा काँध मिलाउन ।”
२०४९ सालमा बुटवल टेक्निकल इन्स्टीच्यूट (बिटीआई) बाट ४ वर्षे मेकानिकल तालिम पुरा गरेका रामचन्द्रले केन्या जानुभन्दा पहिले बुटवलमा इलेक्ट्रो मेकानिकाल वर्कस प्रालि नामक कम्पनी खोलेर देशमै केही गर्छु भनेर केही युवाहरूको साथ लिएर काम गर्न खोजे । इण्डियाबाट मेशीनरी र अन्य उपकरणहरू ल्याएर भाडामा लिइएको जमिनमा सानो भवन पनि बनाए । त्यसपछि बिजुलीको कनेक्सनका लागि आवेदन दिए । ं तर उनीहरूको आवेदन विद्युत प्राधिकरणले बास्ता गरेन । फाइल कुनामा थन्क्याइदियो । पछि किन यस्तो भयो ? भनेर बुझ्दै जाँदा, विद्युत प्राधिकरणका हाकिमले मागे जति रकम बुझाउन नसकेकोले आवदेनमा तोक नलाइएको रहेछ । यसका लागि उनले पैसामात्रै नभएर झण्डै २ बर्ष त्यत्तिकै गुमाए । “त्यसपछि हामीलाई लाग्यो देशमा उद्योगधन्दा खोलेर केही गराँै भनेर लागेपनि निराशा सिवाय केही दिँदैन नेपालको प्रशासन क्षेत्रले ।” बस्यालले गुनासो गरे । एउटा दक्ष प्राविधिक आफ्नो देशमा रोजगार नपाएर विदेश पलायन हुनु भनेको देशकै लागि दुर्भाग्य रहेको बताउँछन्, बस्याल । तसर्थ नेपाली युवाशक्तिलाई यसरी विदेश जान बाध्य नपारेर सरकारले उसको क्षमता र दक्षता कुन क्षेत्रमा छ र उ कहाँ फिट हुनसक्छ ? भन्ने कुराको अध्ययन गरेर नेपाली युवाहरूलाई विदेश पलायनबाट रोक्नुपर्ने उक्त समूहको सुझाव पनि छ ।

सुनिल कार्की
झण्डै १ लाख अमेरिकी डरल (१ करोड रूपैयाँ) बैंक ग्यारेन्टी राखेर २ वर्ष अघि सुरु गरिएको उक्त सगरमाथा इन्जिनियरिङ कम्पनीको मुख्य काम निर्माण क्षेत्रमा फलाम सम्बन्धी डिजाइन, फेब्रिकेशन, इन्स्टलेसन रहेको छ । “अब यसलाई सिभिल कन्स्ट्रक्सनमा पनि लैजादैँ छौँ ।” कम्पनीका डाइरेक्टर रामचन्द्र बस्याल भन्छन् “हाम्रो व्यवसाय अहिले पूर्वि अफ्रिकी क्षेत्रमा तिब्र गतिमा फैलँदो छ, निकट भविष्यमै मध्य अफ्रिकी क्षेत्रमा पनि विस्तार गर्ने योजना छ ।”
कम्पनीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्याका अध्यक्ष समेत रहेका रामचन्द्रले मेकानिकल इन्जिनियरका साथै प्रोडक्सन र कन्स्ट्रक्सन, एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक रहेका (पेशाले चार्टड एकाउन्टेन्ट) सुनिल कार्कीले एकाउन्ट र फाइनान्स तथा एनआरएनए केन्याका उपाध्यक्ष रहेका प्रकाश रायमाझीले म्यानेजमेन्टको जिम्मेवारी लिएका छन् । 

कुल कार्की
आफ्नै देशमा सुख दुःख गरेर सानो देखि ठूला व्यवसाय गरेर सफल हुने थुप्रै नेपाली छन् । तर, अहिले नेपाली व्यवसाय स्वदेशमा मात्र सिमित नरहेर संसारभरी पुगिसकेको छ । जहाँ–जहाँ नेपाली युवा पुगेका छन् त्यहाँ उनीहरूको मन, भावना, नेपाली व्यवसाय, नेपाली कला संस्कृति अनि नेपाली पौरख पुगेको छ । 
नेपाली संसारको जुन कुनामा पुगेपनि शिर उचो बनाएर ‘म नेपाली हुँ’ भनेर गर्व गर्ने वातावरण बनाएका छन् । चाहे त्यो ५० डिग्रीको तातो घामका अरबी देशहरू हुन् चाहे विकासको चरम चुलीमा पुगेर संसारको मन तान्न सक्ने अमेरिका, क्यानडा, अष्ट्रेलियाका विभिन्न सहर यात फेरि गृहयुद्धले अक्रान्त बनेको अफ्रिकी देशहरू नै किन नहोस त्यहाँ पनि नेपाली हिम्मत र साहसका फूलहरू फुलिरहेका छन् । नेपाली पौरखहरू मौलाउँदै गएका छन् । त्यो नेपाल र नेपालीले गर्व गर्ने विषय हो । 
रामचन्द्र बस्याल
अफ्रिकी देशहरूमध्ये केन्या, नाइजेरिया, युगाण्डा, मदागास्कर, बोत्सोआना, कंगो, गुयाना, घाना, लिसोथो, मोजाम्बिक, साउथ अफ्रिका, साउथ सुडान, जाम्बिया लगायतका देशहरू अहिले दक्ष नेपाली कामदारहरूको प्रमुख गन्तव्य बनिरहेको छ । केन्याको इतिहास हेर्दा झण्डै १९८० तिर नेपालीहरू सिंचाइ तथा हाइड्रोपावर इन्जिनियरका रूपमा केन्या पुगेका थिए । जहाँ अहिले १५० देखि ४ सयको हाराहारीमा नेपालीहरू रहेका छन् । 
केन्यामा सिए, इन्जिनियर, सेफ (कुक) सुरक्षा गार्ड, डोमेस्टीक कुक, युनाइटेड नेसन, आइएनजीओ र अस्पताल लगायतका धेरै क्षेत्रमा नेपालीहरू कार्यरत छन् । रेष्टुरेण्ट तथा कन्ट्रक्सन कम्पनीहरूमा लगानी गरेर नेपाली व्यवसायीको रूपमा आफूलाई अफ्रिकी तथा अन्य देशका नागरिका बीचमासमेत नेपाली नाम चिनाएका छन् ।

Loading...
Share on Google Plus