.

गणतन्त्र नेपालमा हाम्रो भुमिका : बुद्धि रायमाझी

गणतन्त्र : गणतन्त्र जनचाहानामा आधारित राजनैतिक पद्धति हो । प्राचिन कालमा युनान लगायत एसियाका विभिन्न स्थानमा गणतान्त्रीक राज्य व्यवस्थाहरु स्थापित भएका थिए । कालान्तरमा गणन्तन्त्रको स्थानमा राजतन्त्रहरु स्थापित हुन पुगे । राजतन्त्रले जनचाहाना र आधुनिक युगको प्रतिनिधित्व गर्न असफल भएपछि पुनः गणतन्त्रहरु स्थापित भएका छन् । वर्तमान विश्वमा गणतान्त्रिक व्यवस्था लोकप्रिय राजनितिक पद्धति हुन पुगेको छ । संसारका बहुसंख्यक मुलुकहरुमा राजतन्त्र विरोधी दिर्घकालिन संघर्ष पछि आधुनिक गणतान्त्रिक राज्यहरु स्थापित हुन पुगेका छन् । भुतपुर्व अमेरिकी राष्ट्रपति अव्राहम लिंकनले भनेका थिए । “लोकतन्त्र जनताको निम्ति जनता द्धारा संचालित जनताकै शासन व्यवस्था हो” उनको यो परिभाषा पुँजीबादी गणतन्त्रमा आधारित छ । हाल भारत, अमेरिका, फ्रान्स, ज्रमनी, स्वीडेन, स्वीजरल्याण्ड जस्ता मुलुकहरुमा पुँजीवादी गणतन्त्र विद्यमान छ । गणतान्त्रीक राज्य व्यवस्थाको माध्यमबाट ति देशका जनताहरु प्रगतिको पथमा अगाडी बढिरहेका छन् ।

    अर्को तर्फ चीन, क्युवा, उत्तर कोरिया लगायतका मुलुकहरुमा जनचाहाना अनुरुप समाजवादी गणतन्त्र स्थापित भएका छन् । यी दुवै खाले गणतन्त्रको लक्ष्य उद्धेश्य देशको विकास गर्नु र जनचाहाना अनुरुप सरकार संचालन गर्नु रहेको छ । दुवै खाले गणतान्त्रिक पद्दतीका आ–आफ्ना विशिष्टताहरु रहेका छन् । तर पनि गणतन्त्रका केही साझा विशेषताहरु छन् । जसमा आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको प्रतिपक्षी, विधिको शासन, नागरिक सर्वोच्चता, मानवधिकार, व्यक्तिगत तथा प्रकाशन सम्वन्धि स्वतन्त्रता आदि पर्दछन् । राज्यका महत्वपूर्ण ३ वटा अंगहरु नियन्त्रण र संतुलनको सिद्धान्तमा आधारित हुन्छन् । सवैभन्दा महत्वपूर्ण कुरा गणतान्त्रीक राज्य व्यवस्थामा सामान्य मजदुर किसानका छोरा छोरीहरुले पनि राज्यको सर्वोच्च पद राष्ट्रपतिमा पुग्न सक्छन् । महिला, दलित, जनजातिहरुले सामाजिक न्याय र मर्यादा प्राप्त गर्दछन् । शासकहरु निरंकुश बन्न पाउदैनन् । जनताका सच्चा प्रतिनिधिहरु निति निर्माण तहमा पुगेका हुन्छन् र उनीहरुले कुनै पनि दल या नेताको तानशाह बन्ने चाहना पुरा हुन दिदैनन् ।

गणतन्त्र नेपाल
 प्राचिनकालमा नेपालका विभिन्न स्थानहरुमा गणतन्त्रहरु स्थापित भएका थिए । ति गणतन्त्रहरुमा प्रत्यक्ष प्रजातन्त्रको अभ्यास हुने गथ्यो । समाज विकासको क्रममा गणतन्त्रको स्थानमा राजतन्त्रहरु स्थापित भए । हुँदा हुँदा नेपाल बाईसी र चौविसे राज्यहरुमा विभाजित हुन पुग्यो । राजा पृथ्वीनारायण शाहको विशाल नेपाल निर्माण गर्ने अभियानको क्रममा बाइसी चौविसे राज्यहरु त विलिन भए तर यो अभियानले विशाल नेपाल निर्माण गर्न त परै जाओस् । सुगौली सन्धिमा पुगेर आफनो आकार घटाउन पुग्यो । नेपालको केन्द्रिंकृत सामान्ति राजतन्त्रले आफु कमजोर भएको बेला जनता सित गुहार माग्ने तर बलियो हुन पुग्दा जनतालाई दमन गर्ने निति अपनायो । २००७ सालमा राजा त्रिभुवनले जनता सामु गरेको प्रतिबद्धता पुरा नगर्नु, २०१७ सालमा महेन्द्रले संसदिय व्यवस्थालाई अफाप घोषणा गर्दै प्रजातन्त्रबादी नेताहरुलाई जेल चलान गर्नु, ०४६ सालको जनआन्दोलन पछि निर्मित संविधानलाई राजा ज्ञानेन्द्रलाई कागजको खोस्टोमा परिणत गर्नुले नेपालको राजतन्त्रले जनता प्रति गद्दारी गरेको पुष्टि गर्दछन् ।
    माथि लेखिएका कारणहरुले गर्दा नेपाली जनताहरु राजतन्त्रको विरुद्ध उत्रीएर लामो संघर्ष र सयौ शहिदहरुको बलिदान पछि २०६४ साल जेष्ठ १५ गतेका दिन हाम्रो मुलुक विधिवत गणतन्त्र घोषणा भयो । सयौ वर्ष देखि नेपाली जनताहरुको खुन पसिना चुस्दै आएको राजतन्त्र समाप्त भयो ।

हाम्रो भुमिका
 नेपाल गणतन्त्र घोषित भएकोमा नेपालीहरुले दिपावली गरेर गणतन्त्र नेपालको स्वागत गरे । गतवर्ष शाह वंशको अन्तिम राजा ज्ञानेन्द्र दरवारबाट पलायन भए । यसरी अव प्रत्येक नेपालीको काधमा नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी आएको छ । सफलतासाथ नयाँ जिम्मेवारी पुरा गर्न प्रमुख भुमिका हाम्रा राजनेताहरुको रहन्छ । वँहाहरुले माओवादी लडाकुहरुको समायोजन र व्यवस्थापन गर्दै शान्ति प्रक्रियालाई तार्किक निष्र्कषमा पुरयाउनु देश र जनताको हितमा हुन्छ त्यसपछि नँया संविधान निर्माण गरी गणतन्त्र नेपालको पहिलो आम निर्वाचन सम्पन्न गराएर नयाँ नेपालको निम्ति नयाँ सरकार दिन सक्नु पर्छ । यसरी राजनैतिक समस्या हल गरेर नयाँ वातावरण सिर्जना हुन पुग्छ र हामी विद्यार्थीहरु, शिक्षकहरु मजदुर किसान, महिला, दलित, जनजाति, व्यवसायी, उद्योगपति, पत्रकार, मानवअधिकारकर्मीहरुले आ–आफ्नो परिभाषित कामहरु इमान्दारिताका साथ गर्नुपर्छ । विद्यार्थीहरुले मुलतः आफनो अध्ययनलाई अर्जुनदृष्टि मान्नुपर्छ । विद्यार्थी क्षेत्रमा रहेका समस्याहरु प्रक्रियागतरुपले हल गर्न  विद्यार्थी संगठनहरु क्रियासिल रहनुपर्छ । सामान्य कारणले पनि बन्द र शैक्षिक हडताल जस्ता आन्दोलनका रुपहरु अपनाउनु हुदैन् । गणतन्त्र नेपालमा शिक्षकहरुले पनि आधुनिक शिक्षणविधि प्रयोग गरेर अध्यापन गराउनु पर्छ । शिक्षक विद्यार्थीहरु विचको सम्वन्ध मैत्रीपूर्ण हुनुपर्छ । विद्यालयको बातावरण बालमैत्रीपूर्ण हुन जरुरी हुन्छ । पत्रकारहरुले देश र जनताको हित हुने र सामाजिक सद्भाव अभिबृद्धि हुन समाचारहरु सम्प्रेषण गर्नुपर्दछ । कर्मचारीहरुले आफनो मानोबृति कार्यशैली र पद्धती नयाँ युग सुहाउदो गरी परिमार्जन गर्नु जरुरी हुन्छ ।

निष्र्कष
 हरेक तहका मानिसहरुले आफनो अधिकारको उपभोग गर्दा अरुको अधिकार हनन् नहुने गरी कार्य गरेमा सामाजिक सदभाव कायम रहन्छ । र  समाजमा द्धन्द्धले उत्पन्न गरेको असैहिष्णुताको पनि अन्त्य हुन्छ । गणतन्त्र नेपाललाई चिरस्थायी र लोककल्याणकारी बनाउनको निम्ति सामान्य नागरिकदेखि राजनेताहरु सम्ममा आत्म परिवर्तनको आवश्यकता रहेको छ । गुरु बनेर आर्दश सिकाउनेहरुले नै व्यवहारमा आर्दश प्रस्तुत गर्न सक्नुपर्छ ।
Loading...
Share on Google Plus