.

‘नक्कली डाक्टर’ काममा फर्किए

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर अभ्यास गरेको अभियोग अदालतमा विचाराधीन रहेका चिकित्सकहरू पुन: काममा फर्किएका छन् । १२ जिल्लामा मुद्दा चलिरहेका चिकित्सकहरू मुद्दाको छिनोफानो नभई काममा फर्किएका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘अप्रेसन क्वाक’ अन्तर्गत पहिलो पटक गत वर्ष पक्राउ गरेका १७ चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले तत्काल निलम्बन गरेको थियो । दोस्रो चरणमा असारमा पक्राउ परेका ३७ चिकित्सकलाई भने काउन्सिलले अझै निलम्बन गरेको छैन । पुर्पक्षका लागि थुनामा राख्नुपर्ने सरकारी वकिल कार्यालयको मागदाबी अस्वीकार गर्दै १२ वटा जिल्ला अदालतहरूले उनीहरूलाई धरौटीमा छाडेको थियो ।

प्रहरीले नक्कली चिकित्सकहरू पक्राउ परेकै जिल्ला न्यायाधिवक्ताको कार्यालयमा अनुसन्धान फाइल पठाएपछि मुद्दा पनि सोही जिल्ला अदालतमा दर्ता गरिएको थियो । धरौटीमा छुट्नु सफाइ पाउनु नभए पनि काउन्सिलले निलम्बन नगरेको भन्दै उनीहरू काममा फर्किएको सूचना आएको ब्युरोका एक अधिकारीले बताए ।ब्युरोका डीआईजी नवराज सिलवालले केही चिकित्सक अस्पताल फर्किएर काम गर्न थालेको सूचनापछि अनुगमन गर्दा प्रशासनिक काममा संलग्न रहेको देखिएको बताए । ‘कसैको आफ्नै लगानी रहेकाले प्रशासनिक काम गरिरहेको देखियो । चिकित्सकीय अभ्यास गरेको खुल्यो भने फेरि पक्राउ गरेर कारबाही गरिनेछ,’ सिलवालले भने ।

पूर्वप्रधानमन्त्री केपी ओलीको दाँत परीक्षण गरेका कान्तिपुर डेन्टल अस्पताल सामाखुसीका बुद्धिमान श्रेष्ठ धरौटीमा रिहा भएदेखि नै नियमित अस्पताल जाने गरेका छन् । उनी उक्त अस्पतालका अध्यक्ष हुन् ।

 तराईका अस्पतालमा कार्यरत अधिकांश नक्कली चिकित्सक काममा फर्किएको सूचना आएको ब्युरोका एक अधिकारीले जानकारी दिए । नारायणी उपक्षेत्रीय अस्पतालका ३ चिकित्सक अस्पतालमा हाजिर हुन थालिसकेका छन् । ब्युरोले उक्त अस्पतालमा कार्यरत पन्नालाल पटेल, कुशराज गिरी र सरोजकुमार सिंहलाई पक्राउ गरेको थियो । ब्युरोले विराटनगरको ट्रमा अस्पतालका मोहम्मद अबुल कलाम, राम डाइग्नोस्टिक क्लिनिकका सञ्जयकुमार दास र विराटनगर आँखा अस्पतालकी लिली राजवंशीलाई पक्राउ गरेको थियो ।

विराटनगरकै युनिभर्सल मेडिकल कलेजका सञ्जय यादव रूपन्देहीमा पक्राउ परेका थिए । कुशराज गिरी, पन्नालाल पटेल, निमेललाल स्मन, मोहम्मद रहुल्लाह, रन्धीर राजवंशी, इशादुल हक, सरोजकुमार सिंह, रामकुमार प्रधान, अरुण गुप्ता र दिनेशकुमार साह वीरगन्जमा पक्राउ परेका थिए भने रामजी यादव धनुषामा पक्राउ परेका थिए । ‘मेडिकल काउन्सिललाई आग्रह गर्दा पूर्ण बैठक नबसी निलम्बन गर्न सकिन्न भन्ने जवाफ दिन्छन्,’ ब्युरोका एक अधिकारीले भने, ‘निलम्बन गर्नलाई यता काउन्सिलको पूर्ण बैठक नै बस्दैन, उता छुटेका डाक्टरहरू काममा जान थालिसके ।’

थप दुई पक्राउ
ब्युरोले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आरोपमा सोमबार थप २ चिकित्सक पक्राउ गरेको छ । सोमबार ललितपुरबाट फर्जाना सविहा र काठमाडौं महाराजगन्जबाट किशोर गुरुङ पक्राउ परेका हुन् । सर्लाही मलंगवाकी सविहा मिडाट हस्पिटल लगनखेलमा कार्यरत रहेको सूचनापछि ब्युरोको टोली अस्पताल गएर उनलाई नियन्त्रणमा लिएको थियो । भारत बिहारबाट लिएको आईएस्सीको शैक्षिक प्रमाणपत्रका आधारमा पाकिस्तानबाट एमबीबीएस उत्तीर्ण भएको शैक्षिक प्रमाणपत्र पेस गरेर उनले नेपाल मेडिकल काउन्सिलबाट अनुमति लिएर चिकित्सकीय अभ्यास गर्दै आएकी थिइन् । शिवपुरी डेन्टल क्लिनिक महाराजगन्जमा दन्त चिकित्सकका रूपमा कार्यरत सुनसरी धरानका गुरुङ क्लिनिकमा अभ्यास गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । ४० वर्षका उनले नेपाल मेडिकल काउन्सिलबाट बीडीएस उत्तीर्ण गरेको शैक्षिक प्रमाण पेस गरेर काउन्सिलबाट ७४७९ नम्बरको अनुमति पत्र लिएका थिए । यी दुवैको आईएस्सीको शैक्षिक प्रमाणपत्र नक्कली देखिएको दाबी गर्दै ब्युरोले सोमबार काठमाडौं जिल्ला अदालतमा ठगी अभियोगमा अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्ने म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । दुवैलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको ब्युरोका प्रवक्ता दिवस लोहनीले जानकारी दिए ।

पहिचान १ सय ३४, पक्राउ ५६
१ सय ३४ यस्ता चिकित्सकको पहिचान गरी अनुसन्धानका लागि ६ महिनादेखि ‘अप्रेसन क्वाक’ चलिरहेको छ । सोमबारको पक्राउसँगै नक्कली चिकित्सकको अभियोगमा पक्राउ पर्नेको संख्या ५६ पुगेको छ । उच्च माध्यमिक शिक्षा परिषद् (हाल नेपाल परीक्षा बोर्ड) र नेपाल मेडिकल काउन्सिलसँगको सहकार्यमा ब्युरोले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर अभ्यास गरिरहेकाहरूको खोजी गरिरहेको हो । ब्युरोले गत वर्ष २५ जनाको पहिचान गरी १७ जनालाई पक्राउ गरेको थियो ।

१० पटकभन्दा बढी काउन्सिलको परीक्षा दिएकाहरूको सूचीका आधारमा पहिचान भएका ८ जना अझै पक्राउ परेका छैनन् । अनुसन्धानको दोस्रो चरणअन्तर्गत ब्युरोले गत असारमा भारत विहारका विभिन्न शिक्षण संस्थाको एक हजार शैक्षिक प्रमाणपत्र अध्ययन गरी १ सय ९ जनाको पहिचान गरेको थियो ।

पहिचान भएकामध्ये मोहम्मद रहुल्लाह, अरुणकुमार गुप्ता, निलीमा खडका, गजानन्द प्रकाश भण्डारी, दिनेशकुमार साहतेली, सुनिल आचार्य, सरोजकुमार सिंह, पन्नालाल पटेल लगायत ३७ जना पक्राउ परेका थिए । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनी सर्वसाधारणबाट ठगी गरेको करोडौं बिगो रकम दाबी गर्दै उनीहरूविरुद्ध विभिन्न जिल्लामा ठगी मुद्दा दर्ता भए पनि सबै धरौटीमा मुक्त भएका थिए ।

स्रोतका अनुसार नोबल मेडिकल कलेजका सुनिल शर्मालगायत माथिसमेत सीआईबीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा शर्माको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएपछि प्रहरीले असारमा ३६ जनासँगै उनको पनि खोजी गरेको थियो । उनी श्रीलंका गएका कारण पक्राउ पर्नबाट जोगिएका थिए । ब्युरो स्रोतका अनुसार उनी अहिले नेपालमै छन् ।
कान्तिपुर बाट 
Loading...
Share on Google Plus