.

भ्रष्टाचार आरोपमा प्रधानमन्त्री प्रचण्ड, उपराष्ट्रपतिसहित दुई मन्त्रीलाई अख्तियारको पत्र

काठमाडौं, ४ असोज माओवादी लडाकू शिविरको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति नन्दबहादुर पुनसहितका नेतालाई बयानका लागि पत्र काटेको छ ।

अख्तियार स्रोतका अनुसार तत्कालीन माओवादी अध्यक्षको हैसियतमा प्रचण्ड, तत्कालीन लडाकूको कमान्डरका हैसियतमा उपराष्ट्रपति नन्दबहादुर पुनलगायत बहालवाला दुई मन्त्रीलाई एक महिनाभित्र बयानका लागि पत्र काटिएको छ । बयानका लागि पत्र काटिनेमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा र ऊर्जामन्त्री जनार्दन शर्मा, माओवादी नेता वर्षमान पुन र लडाकू शिविरका सात कमान्डर छन् ।


माओवादी लडाकूको भरणपोषणमा राज्यले उपलब्ध गराएको रकममध्ये करिब तीन अर्ब रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको अनुमान छ । अख्तियारले केही दिनअघि मात्र माओवादी लडाकू शिविरमा भएको अनियमितताबारे गम्भीर ढंगले छानबिन गर्ने पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।
आफूलाई एमालेले फसाउन खोजेको प्रचण्डको आरोप

लडाकु शिविरको भ्रष्टाचार प्रकरण अगाडि ल्याउन एमालेले उकासेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । माओवादी केन्द्रको सोमबारको बैठकमा उनले सो आरोप लगाएका हुन् । प्रचण्डले आफूसहित २१ जना पूर्वलडाकु कमान्डरमाथि छानविन गर्ने ‘षड्यन्त्र’ भएको बैठकलाई जानकारी गराए ।

आन्तरिक राजनीतिक कारणले संयुक्त राष्ट्रसंघको महासभामा जाने कार्यक्रम स्थगित गरेको भनिए पनि अख्तियारले थालेको छानबिनका कारण त्यसको व्यवस्थापनका लागि अमेरिका जाने कार्यक्रम उनले रद्द गरेको अनुमान गरिँदै आएको छ । भारत भ्रमणबाट फर्केको तीन दिनभित्रै प्रचण्डलाई बयानका लागि अख्तियारले बोलाएपछि नेपाली राजनीतिले ‘ट्रनिङ प्वाइन्ट’ लिएको छ ।
Loading...
Share on Google Plus