.

चन्द्रमामा पनि भूकम्प !

भदौ २४ – चन्द्रमामा पनि धेरै भूकम्प जाने गरेको वैज्ञानिकहरुले बताएका छन् । चट्टानले बनेको साथै त्यहाँ भौगर्विक गतिविधि निकै कम हुने गरेपनि चन्द्रमामा धेरै भूकम्प जाने गरेको उनीहरुले बताएका छन् । चन्द्रमामा जाने भूकम्पलाई मुनक्वेक भनेर चिनिन्छ भने त्यो ४ प्रकारका हुन्छन् । सूर्यको तापले हुने, उल्काहरुका कारण हुने भूकम्प र डिप क्वेक सामान्य हुने भएपनि स्वालो मुनक्वेक भने खतरनाक हुने गरेको छ । स्वालो मुनक्वेक ५ दशमलव ५ रेक्टर स्केलसम्मको हुने र यसको कम्पन १० मिनेटसम्म रहन सक्ने वैज्ञानिकले बताएका छन् ।
यस्तो प्रकारको भूकम्प जाँदा चन्द्रमामा घण्टीको जस्तो आवाजसमेत निस्कने नासाले जनाएको छ । चन्द्रमामा पृथ्वीमा जस्तो सक्रिय टेक्टोनिक प्लेट नभएकाले के कारणले भूकम्प जान्छ भन्ने कुरा भने अध्ययनको विषय बनेको छ । 

चिहान बनेको चन्द्रमा 

चन्द्रमालाई मानिसले अहिले पनि भगवान मानेर पूजा गर्छन् । तर चन्द्रमा चिहानको रुपमा पनि प्रयोग भएको छ । प्रख्यात भूगर्भविद् तथा खगोलविद् युजिन सुमेकरको अस्तु चन्द्रमामा विसर्जन गरिएको छ । उनले ब्रम्हाण्डको अध्ययनका लागि विभिन्न वैज्ञानिक अनुसन्धान गरेका थिए, जुन अध्ययनको सहयोगमा एपोलो यान चढेर चन्द्रमा पुग्ने मानिसको सपना पूरा भएको थियो ।
आफ्नो जीवनकालमा चन्द्रमा पुग्ने सुमेकरको धोको भएपनि त्यो पूरा हुन पाएन । उनको इच्छालाई पूरा गर्न सन् १९९८ मा लुनार प्रोस्पेक्टरमा उनको अस्तु चन्द्रमामा पठाइएको थियो । 

घातक धूलोको भण्डार 

चन्द्रमामा रहेको धुलोका कण अर्थात लुनार डस्ट निकै घातक रहेको छ । पृथ्वीमा बालुवा भएजस्तै चन्द्रमामा पनि लुनार डस्ट प्रशस्त छ । यो धुलो मैदाको पिठो जस्तै मिहीन रहेपनि निकै खस्रो रहेको चन्द्रमा पुगेका अन्तरिक्षयात्रीले बताएका छन् ।
यो धुलोकै कारण धेरै वैज्ञानिक अनुसन्धानमा पनि असर परेको छ । चन्द्रमामा पुगेका अन्तरिक्षयात्रीलाई यसले मु हे फिभर समेत भएको थियो । साथै अनुसन्धान गर्न राखिएका विभिन्न उपकरणमा यस्ता धुलो पस्दा बिग्रने गरेको छ । यो धुलो गन्ध भने बारुदको जस्तै हुन्छ । 

चन्द्रमामा छायाँ पनि चुक घोप्टेजस्तो अँध्यारो 

चन्द्रमामा कुनै पनि वस्तुको छायाँ पृथ्वीमा भन्दा निकै गाढा हुने गरेको छ । जब नील आर्मस्ट्रङ र बज एल्ड्रिनले पहिलो पटक चन्द्रमामा पाइला टेके, उनीहरुको आफ्नै छायाँले अगाडिको बाटो अध्यारो बनाएको पाएका थिए ।
चन्द्रमामा वायुमण्डल नभएका कारण यस्तो भएको हो । आकाशमा सूर्य उदाएपनि छायाँ परेको ठाउँमा निस्पट्ट अन्धकार हुने हुँदा हिँड्न तथा उपकरणको मर्मत लगायत काम गर्न निकै अप्ठेरो परेको उनीहरुको अनुभव छ । 

डम्पिङ साइट बन्दै चन्द्रमा 

चन्द्रमामा मानिस पुगेको झण्डै आधा दशक पुग्न लागेको छ । यसबीचमा चन्द्रमामा फोहोर थुप्रिने क्रम पनि बढेको छ । वैज्ञानिकका अनुसार अहिले चन्द्रमामा झण्डै १ लाख ८१ हजार ४ सय ३७ किलो फोहोर थुप्रिएको छ । अन्तरिक्षयात्रीले प्रयोग गरेका सामान लगायत विभिन्न परीक्षणका काम नलाग्ने सामान चन्द्रमामा थुप्रिएको हो ।  

–एजेन्सीको सहयोगमा 

Loading...
Share on Google Plus