.

घर बनाउने मजदुरले जिते 'पारा तेक्वान्दो'मा स्वर्ण पदक

भाद्र २६, २०७३- स्वयम्भू क्षेत्रमा सोमबहादुर सुनुवारको परिचय घर ढलान गर्ने मजदुरका रूपमा छ। उनले यो काम गरेको १४ वर्ष भयो। पिताको निधनपछि काठमाडौंमा बाँच्नका लागि उनले के मात्र गरेनन्– होटलमा जुठो पुछे, भाडा माझे। बिहान ३ देखि राति ११ बजेसम्म लगातार जुठा भाडामा दलिनुपर्दा आजित बनेपछि उनी ढलान मजदुरका रूपमा काम गर्न थाले। 
तर उनी स्वर्णपदक विजेता खेलाडी हुन्। मैनपुर–६ उदयपुरका ३२ वर्षीय उनले गत अगस्ट ५ देखि ७ सम्म भारतको गुजरातमा भएको ‘प्रथम अन्तर्राष्ट्रिय पारा तेक्वान्दो च्याम्पियनसिप इन्डिया २०१६’ मा नेपाललाई स्वर्णपदक दिलाए। भारतीय पारा तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगिताको ‘क ४२’ क्याटगोरीअन्तर्गत पुरुष ५५ किलोमा उनले स्वर्ण जितेका थिए। पारा तेक्वान्दोमा लागेको करिब दुई वर्षमा उनले यो सफलता हासिल गरे। शारीरिक रूपमा अशक्त हुँदाहुँदै पनि ढलान गर्ने काममा मजदुरी गर्दै आएका सोमबहादुर उनी पारा तेक्वान्दोका सशक्त खेलाडी हुन्।

पारा तेक्वान्दो शारीरिक रूपमा अशक्त खेलाडीबीचको प्रतिस्पर्धा हो। सानै उमेरमा गोठमा आगो लाग्दा शरीरमा आगो सल्केर बायाँ हात गुमाएका थिए सोमबहादुरले। ‘आगोले जलेर हात झर्‍यो, उपचार पाइनँ,’ उनले भने, ‘न्यूून आयस्रोत भएकै कारण अस्पतालसम्म पुग्न सकिएन।’ हात गुमाएकै वर्ष पितालाई समेत गुमाए। त्यतिखेर १३ वर्षका थिए। ‘मेरो पढाइ एकदमै राम्रो थियो,’ उनले भने, ‘बुवाको निधनपछि कक्षा ५ को पढाइ छाडेर काठमाडौं छिरें।’ उनी काकासँग काठमाडौं आएका थिए। एक छोरा र श्रीमतीका साथ उनी स्वयम्भूस्थित डेरामा बस्दै आएका छन्।

जिरी–९, दोलखाका ३१ वर्षीय नवराज कार्की पनि ‘प्रथम अन्तर्राष्ट्रिय पारा तेक्वान्दो च्याम्पियनसिप इन्डिया २०१६’ कै रजतपदक विजेता हुन्। उनी पनि १६ वर्षदेखि घर ढलानको मजदुरी गर्छन्। उनीहरू एकै ठाउँमा घर ढलानको काम गर्छन्।
नवराजले भने ढलानकै क्रममा मिक्स्चर मेसिनमा परेर दायाँ हात गुमाए। उनी म्याराथन र पारा तेक्वान्दोमा दख्खल राख्ने खेलाडी हुन्। १३ वर्षकै उमेरमा घरबाट भागेर काठमाडौं छिरेका नवराजले केही वर्ष होटलमा भाँडा माझे। कमाइकै लागि गर्ने संघर्षबाट थाकेका उनी १६ वर्षयता ढलानको मजदुरीमा लागे। ‘ढलानले नै मलाई अपांग बनायो,’ उनले भने, ‘केही सीप नलागेर यही पेसामा अल्झिएको छु।’ कमाइ खाने पाटो ज्यामी काम भए पनि खेलप्रतिको लगाबलाई भने भुल्न नसक्ने उनी बताउँछन्।

उपत्यकाका तीनै जिल्लामा ढलानकै लागि दौडने उनीहरू भारी बोक्ने, मसला घोल्नेलगायत काम गर्छन्। ढलान गरेर लखतरान परे पनि उनीहरू कामबाट सिधै कोठा फर्कंदैनन्। दिनभर धूलोमा लपेटिँदासमेत तेक्वान्दोकै सोचमा बस्ने र सिधै रंगशालामा तालिम लिन पुग्ने गरेको नवराजले बताए। यिनीहरूलाई दिलीप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले प्रशिक्षण दिँदै आएका छन्।

खेलप्रति सानैदेखिको रुचि भए पनि न्यून आर्थिक अवस्था र अपांगता भएकै कारण अघि बढ्न नसकेको उनीहरू बताउँछन्। ‘बीडीएस नामक एक गैरसरकारी संस्थामा स्वयंसेवकका रूपमा कार्यरत थिएँ,’ नवराजले भने, ‘सोही संस्थामार्फत रंगशाला छिर्ने मौका मिल्यो।’ रंगशालामा छिरेपछि खत्रीको सहयोगमा पारा तेक्वान्दोको तालिम लिएको उनले बताए। करिब ४ वर्षको तालिमले अन्तर्राष्ट्रिय स्वर्ण तथा रजत पदक भित्र्याउन सफल भएको समेत उनी बताउँछन्।

आफूले रंगशाला छिर्ने मौका मिलेपछि सोमबहादुरलाई समेत नवराजले रंगशाला छिराएका हुन्। ‘खेलप्रति रुचि भए पनि ढलानको काम गर्ने व्यक्तिहरूलाई कसले वास्ता गरोस्,’ सोमबहादुरले भने, ‘खत्रीकै सहयोगमा अन्तर्राष्ट्रिय स्वर्णपदक जित्न सफल भएको हो।’ पहिलो प्रयासमा सफल भएका उनीहरू राज्यको सहयोग पाए अझै माथि जान सक्ने इच्छा व्यक्त गर्छन्। उनीहरूको बाँच्ने आधार भनेकै ढलानको मजदुरी नै हो।

नेपाल पारा तेक्वान्दो संघको सहयोगमा सोमबहादुरले कोरियामा तालिम लिएका छन्। दिलीप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङले न्यून आर्थिक अवस्था भएका अशक्त खेलाडीलाई संघको सहयोगमा अन्तर्राष्ट्रियस्तरको खेलमा सहभागी गराएको हो।

‘डकुमेन्ट बनाउनेदेखि जाने–आउने खर्च सबै संघले गरेको हो,’ डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले भने, ‘नि:शुल्क तालिमको व्यवस्था डोजाङले गरेको छ।’ ज्यामी काम गरेर परिवार धानेका उनीहरूलाई राज्यले केही विकल्प दिनुपर्ने खत्री बताउँछन्।

पारा तेक्वान्दोमा राष्ट्रलाई स्वर्ण पदक जिताउने पहिलो खेलाडी सोमबहादुर र नवराज दोस्रो खेलाडी भएको पारा तेक्वान्दो संघले जनाएको छ। पारा तेक्वान्दोमा नेपालले पाँच वर्षयता सहभागिता जनाउँदै आएको प्रशिक्षक खत्रीले बताए।
source:ekantipur
Loading...
Share on Google Plus