.

नेम्वाङलाई देखाइदिइन ओनसरीले, संसद्मा मासिक ५६ लाख बचत

फाइल फोटोकाठमाडौँ, १९ असोज । खर्च कटौती योजना लागू भएपछि संसद्को प्रशासनिक खर्च मासिक ५६ लाख रुपियाँ कम भएको छ । कर्मचारी, सांसद र अन्य उपस्थितलाई समेत दिइँदै आएको खाना कुपन, चिया तथा खाजा व्यवस्थापन कटौती भएपछि सचिवालयको मासिक खर्च ५६ लाख ३७ हजार ९९० रुपियाँ बचत भएको हो ।
संसद्मा खाना र खाजाको कुपन दुरुपयोग भएको भन्दै सांसदहरूलाई बैठक बसेको दिनमा खानाको पैसा बैङ्कमा उपलब्ध गराउने निर्णय भएको थियो । प्रमुख राजनीतिक दलहरूसँगको परामर्शमा सभामुख ओनसरी घर्तीले साउन ३२ गते खाना, खाजा, तथा चियामा हुने खर्च समेत कटौती गर्ने निर्णय गरेकी थिइन् ।
संसद् सचिवालयले सार्वजनिक गरेको मासिक खर्च विवरण अनुसार खर्च कटौतीपछि भदौ महिनामा सचिवालयको खर्च सात लाख ६२ हजार ४८३ रुपियाँ भएको छ । अघिल्लो वर्ष भदौ महिनामा सचिवालयको खर्च ६४ लाख ४७३ रहेको थियो । अघिल्लो वर्षको भदौ महिनाको तुलनामा सचिवालयको मासिक खर्च ५६ लाख ३७ हजार ९९० रुपियाँ बचत भएको हो । सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले सभामुखको अग्रसरतामा खर्च कटौतीका लागि भएको प्रयास अनुसार सचिवालयको प्रशासनिक खर्च कटौती भएको बताए ।
सचिवालयको विवरणअनुसार भदौमा संसदीय समितिमा दुई लाख ४५ हजार ८०० रुपियाँ बैठक सञ्चालनको खर्च भएको छ । यस्तै दलहरूको संसदीय दल व्यवस्थापन खर्च भदौमा चार लाख ८८ हजार ६६६ भएको छ । सचिवालयतर्फ भदौमा २८ हजार १७ रुपियाँ खर्च भएको छ ।
सबैभन्दा बढी खर्च कटौती समितिको भएको छ । अघिल्लो वर्ष भदौ महिनामा समितिको खर्च ५८ लाख ९७ हजार ४६२ थियो । खर्च कटौती लागू भएपछिको पहिलो महिनामा दुई लाख ४५ हजार ८०० रुपियाँ बैठक सञ्चालनको खर्च भएको हो । समितिको बैठक खर्च ५५ लाख ५१ हजारले कमी भएको छ । यस्तै अघिल्लो वर्ष भदौमा संसदीय दल व्यवस्थापन खर्च पाँच लाख ६९ हजार ५९५ खर्च भएको छ । सचिवालयको तर्फको खर्च भने अघिल्लो वर्षपछि ३३ हजार ४१३ थियो । गोरखापत्र दैनिकमा नारायण काफ्लेले खबर लेखेका छन् ।

Loading...
Share on Google Plus