.

रोजगारीको लागि विदेशिएपछि घरमा नेपाली झण्डा

प्रेम आचार्य

अर्घाखाँची, कात्तिक १७ – वैदेशिक रोजगारीका लागि दुबईमा रहेका अर्घाखाँची सन्धिखर्कका राजु खड्काले देशप्रेम झल्काउन भन्दै घरमा राष्ट्रिय झण्डा फहराएका छन् । विदेशमा रहेर नेपाली शिक्षामा सहयोग गर्दै आएका सन्धिखर्क–१ हटारीनेटाका खड्काले बाध्यताले विदेशमा भएपनि देशप्रतिको प्रेम झल्कने भएकोले आफ्नो घरमा नेपालको झण्डा राखेको बताउनुभयो । रोजगारीको लागि दुबईमा रहेपनि उहाँले जिल्लाको विकास निर्माणका विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । सबै नेपालीले आफ्नो घरघरमा नेपालको राष्ट्रिय झण्डा राख्ने अभियान चलाउनु पर्ने उहाँको भनाई छ ।

खड्काकै पहलमा रोजगारीको लागि विदेशमा रहेका युवा र देशका विभिन्न स्थानमा रहेका व्यक्तिको सक्रियतामा अर्घाखाँचीमा आधुनिक शिक्षा अभियान सञ्चालन भएको छ । उनीहरुले अहिलेसम्म जिल्लाका ११ विद्यालयमा एक सय पाँच वटा कम्प्युटर बितरण गरेका छन् । 
अर्घाखाँचीमा आधुनिक शिक्षा अभियान नामक संस्था जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा गठन गरि त्यसले गर्ने अभियानको बारेमा फेसबुक मार्फत प्रकाशित गरेपछि रोजगारीको लागि विदेशमा रहेका नेपालीको सहयोग मिलेको अभियानका परिकल्पनाकार राजु खड्काले बताउनुभयो ।
कम्प्युटर र प्राविधिक शिक्षा नहुँदा नेपाली विदेशिन परेको र विदेशमा पनि राम्रो काम पाउनका लागि प्राविधिक शिक्षा आवश्यक रहेकोले अभियान सुरु गरेको उहाँको भनाई छ । ‘मैले जस्तै सीप र प्रविधि नजान्दा विदेशमा गएका नेपालीले पाएको दुःख र कष्ट अबका पिढीले भोग्नु नपरोस् भनेर आधुनिक शिक्षा अभियान सञ्चालन गरेको हुँ’ खड्काले भन्नुभयो । 
source:http://ujyaaloonline.com
Loading...
Share on Google Plus