.

प्राविधिक पढेका युवा तरकारी खेतीमा

जागिर खाने मनसायले प्राविधिक शिक्षा पढेका बैतडी, सिद्धपुर–५  बन्तडका ४३ वर्षीय मदनराज भट्ट तरकारी खेतीमा लागेका छन् । पढे लेखेकाले खेती किसानी गर्नु हुन्न भन्ने सोचलाई बदलेर उनी माटोसँगै खेलेर मनग्ये आम्दानी गर्न थालेका हुन् ।

तरकारी लगाउन थाले पछि उनको ध्यान जागिरतर्फ कहिल्यै गएन । तरकारीले आत्मनिर्भर बनाएपछि खानेपानी डिभिजन कार्यालय डडेलधुरामा टेक्निसियनको  करार जागिरको अवसर  पाए पनि उनी त्यता लागेनन् । सुरुदेखि गाउँमै केही गर्ने साँेच बनाएका भट्ट  व्यवसायिक तरकारी खेती गर्न थालेपछि कहिल्यै पछि फर्केनन् । सुरुमा गाउँकै सहकारीबाट ३० हजार ऋण लिएर यसतर्फ लागेका उनी आफ्नै मेहेनत र लगनशीलताले जिल्लाकै उत्कृष्ट कृषकमा दरिएका छन् । तीन वर्षदेखि व्यवसायिक तरकारी खेती सुरु गरेका उनले सुरुमा टमाटर मात्रै फलाएका थिए । टमाटरबाटै राम्रो आम्दानी हुन थालेपछि अन्य तरकारी पनि फलाउन थाले । अहिले उनको चार रोपनी जमिनमा सिमी, तीन रोपनीमा काउली, दुई रोपनीमा टमाटर, एक रोपनीमा भेडेखुर्सानी गरी १० रोपनीमा तरकारी फलाएका छन् । एक रोपनी जमिनमा मात्रै मकै लगाएका भट्टले तरकारीबाट मनग्ये आम्दानी हुन थालेपछि परम्परागत बाली घटाएका हुन् । तरकारीबाटै उनी वार्षीक पाँच लाख आम्दानी गर्न थालेका छन् । दुई सिजनको तरकारीबाट उक्त आम्दानी हुने गरेको हो । तरकारीको बजार भाउ राम्रो भएकाले स्थानीय खोड्पे बजारमै दैनिक ३० किलो टमाटर खपत गर्ने गरेको भट्टले जानकारी दिए । तरकारी खेतीबाटै सातजनाको परिवार र घरखर्च चलाउन उनलाई सहज भएको छ ।

मेहेनत गर्नेका लागि न त जागिर चाहिन्छ, न त विदेश नै जानुपर्छ । घरमै बसीबसी मनग्ये आम्दानी गर्न सकिने उदाहरण भट्टले दिएका छन् ।
तीन वर्ष अघि महिला तथा बालबालिका कार्यालय र किसान परियोजनाले प्रदर्शनीका लागि पोली हाउस (प्लास्टिक घर) उपलब्ध गराएपछि भट्टले १० रोपनी जमिनमा व्यवसायिक तरकारी खेती गरे । दुईवटा प्लाष्टिक घरबाट टमाटर खेती सुरु गरेका भट्ट  अहिले १५ ओटा पोली हाउस छन्  । टमाटर र अन्य तरकारीबाट  सोचे अनुरुप आम्दानी हुन थालेपछि अझै बढाउने सोँचमा रहेको उनले जानकारी दिए ।
उनीमात्रै होइन गाउँका अन्य स्थानीय पनि तरकारी खतीमा लागेका छन् । २४ जनाको लाली गुराँस कृषक समूह गठन गरी तरकारी खेतीमा लागेका छन् । उनले भने, ‘तरकारीको बजार पनि राम्रो छ । तरकारी खरिद गर्न व्यपारी बारीमै आउने गरेका छन ।’ अनारखोली–हतास सडकखण्ड सुरु भएदेखि गाउँमै तरकारी खरिदका लागि व्यापारी आउने गरेको उनले बताए ।

टमाटर मात्रै प्रतिकलो ४० देखि ५० रुपैयाँसम्ममा उनको बारीबाटै बिक्री हुँदै आएको छ । उनले भने, ‘पढे लेखेकाहरू खेतीपाती तिर लाग्न मान्दैनन्, तर यही माटोले स्वभिमानी बनाउन सिकाउँछ ।’ बारीमा औँला खियाउन सके मनग्ये आम्दानी लिन सकिने उनको धारणा छ । उनी भन्छन्, ‘म तरकारी खेतीमै रमाइरहेको छु । यही माटोले मलाई स्वाभीमानी बन्न सिकाएको छ ।’

भट्ट जस्ता मेहेनती किसान कमै भेटिने जिल्ला कृषि विकास कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताए । उनले फलाएकोे तरकारी देख्दा हर्षित भएको बताउँदै उनले भने, ‘ग्रामीण क्षेत्रका किसानले उनको जस्तै मेहेनत गर्ने हो भने कृषि क्षेत्रमा जिल्लाकै प्रगती हुने छ ।’ -
Loading...
Share on Google Plus