एटीएम प्रयोगकर्तालाई प्रहरीको अनुरोध- तत्काल पिनकोड परिवर्तन गर्नुहोस्

Loading...
कार्तिक २२, २०७३- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकको एटीएम चलाउने सम्पूर्ण ग्राहकलाई तत्काल पिनकोड परिवर्तन गर्न आग्रह गरेको छ । अर्काको पिन र पासवर्ड चोरी गरी नेपाली एटीएम बुथबाट पैसा निकाल्ने अन्तर्राष्ट्रिय गिरोह नेपालमा पनि सक्रिय भएपछि प्रहरीले यस्तो आग्रह गरेको हो ।
अर्काको एटीएमको पिन र पासवर्ड चोरेर पैसा निकाल्ने तीन रोमानियनलाई सिआइबीले पक्राउ गरेको छ । जिता हुजुन, इओसिफ मोरारु, एलुक्स क्रिस्टेइनलाई सिआइबीले पिनकोड र पासवर्ड परिवर्तन गर्न प्रयोग गर्ने सामाग्री सहित आज सार्वजनिक गरेपछि नेपालको एटीएम असुरक्षित रहेको भन्दै प्रहरीले सबै एटीएम प्रयोगकर्तलाई पिनकोड परिवर्तन गर्न भनेको हो ।
ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, 'समातिएका तीनजनाबाट नेपालका एटीएमको पिनकोड अन्तर्राष्ट्रिय गिरोहमा पुगिसक्यो । त्यसैले जतिसक्दो चाँडोभन्दा चाँडो आफ्नो एटीएम पिननम्बर चेन्ज गर्नुहोला ।'


एटीएम मेसिनमा फिट गरेर पिनकाेड चाेर्न प्रयाेग गरिने किप्याड ।
नेपालमा अहिले ३५ लाख एटीएम प्रयोगकर्ता रहेको सिआइबीको तथ्याङ्क छ । ती मध्ये अधिकांशको पिनकोड चोरी भएको डीआईजी सिलवालले बताए । उनले भने, 'संगठित स्वरुपमा पिनकोड चोर्ने देखिएको छ । यो भन्दा पहिला विदेशमा विदेशीको पिनकोड चोरेर नेपाल आएर पैसा झिक्ने गर्थे । तर अहिले नेपाल आएर नेपालीको एटीएमको पिनकोड चोरेर नेपालीकै पैसा झिक्न थाले ।'
पक्राउ परेका तीनजनाबाट व्युरोले ३ लाख ८ हजार रुपैयाँ, १ हजार युरो, ३ सय ५३ वटा एटिएक, हिडन् क्यामेरा, नक्कली एटीएम नम्बर किप्याड, कार्ड पर्सनलाइजेसन मेसिन लगायतका सामाग्री बरामद गरेको छ ।
उनीहरुले दरबारमार्ग, ठमेल, बसन्तपुर लगायतका पर्यटकीय क्षेत्र र आसपास रहेका एटीएमबाट पैसा निकाल्ने गरेका थिए । उनीहरु १ महिनाअघि पर्यटकीय भिसामा आएका थिए ।
चोरीको पैसाले २५ लाखको घडी
पक्राउ परेका तीनजनाले एटीएमबाट झिकेको पैसा महँगा लुगा, गहना, ग्याजेट्स किन्ने गरेको फेला परेको छ ।
तीमध्ये एकजनाले हबलोड स्विस कम्पनीको २५ लाख पर्ने घडी किनेको फेला परेको डीआईजी सिलवालले बताए । उनले भने, 'नेपाली रुपैयाँ साटेर डलर लैजाँदा शंका हुनेभएपछि उनीहरुले महँगा-महँगा सामान नेपालमा किन्ने र उता लगेर बेच्ने गरेको देखियो ।'



source:ekantipur
Loading...
Share on Google Plus