प्रधानमन्त्रीका छोरा प्रकाशलाई उपेन्द्र महतोले दिए गाडी उपहार

Loading...
काठमाडौं, २८ मंसिर, भारतका विवादास्पद योगगु््रु स्वामी रामदेवको अनियमित र गोप्य रुपमा भारतबाट नेपाल भित्राइएको भारु ५०० र भारु १००० दरको अढाई अर्व  भारतीय मुद्रालाई नेपालमार्फत वैध बनाउने बेजोड प्रयास भइरहेको छ ।
भारतमा नरेन्द्र मोदी सरकारले भारु ५०० र भारु १००० दरका भारतीय नोटको चलनचल्तीमा रोक लगाएपछि तीन साताअघि बीरगञ्जमा योग शिविर सञ्चालन गर्ने बहानामा स्वामी रामदेवबाट उक्त अढाई अर्व बराबरका भारु ५०० र भारु १००० दरकानोट नेपाल प्रवेश गराइएको थियो ।
गैर आवासीय नेपाली उद्यमी डा. उपेन्द्र महतोको पहलमा बीरगञ्जमा स्थापना गरिएको पतञ्जली आयुर्वेद प्रा.लि. नेपाल नामक उद्योगमा लगानी गर्नका लागि सो अढाई अर्व भारतमा अवैद्य मुद्रा भारतको हरिद्वारबाट नेपाल ल्याइएको हो ।
मुनाफा वितरण नगर्ने कम्पनीका रुपमा उक्त पतञ्जली आयुर्वेद प्रा.लि. नेपाल डा. उपेन्द्र महतोकी पत्नी डा. समता प्रसादको नाममा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता रहेको छ । उक्त उद्योगमा लगानीको स्रोत अहिलेसम्म खुलाइएको छैन ।
नेपाल कानुनमा मुनाफा वितरण नगर्ने उद्योगमा वैदेशिक लगानी गर्ने छुट नभएकोले अवैद्य भारतीय मुद्रालाई नेपालमा ल्याएर लगानी गर्ने योजनाकार  महतो रहेको बुझिएको छ ।
यस घटनामा प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको समेत संलग्नता रहेको चर्चा छ । डा. महतोले प्रकाश दाहाललाई एउटा महंगो गाडी उपहारस्वरुप चढाएपछि उपरोक्त दुई दरका अढाई अर्व भारतीय रुपैयाँ सुरक्षा सहित नेपाल ल्याउने वातावरण प्रकाशले नै आफ्नो पहुंचको प्रयोग गरी मिलाएको पनि बजारमा चर्चा व्याप्त छ । उक्त गाडीको मोल नेपाली बजारमा रु सवा एक करोड पर्ने बताइन्छ ।
एसएलसी समेत पास नगरेको भनिएका प्रकाशलाई बाबु प्रधानमन्त्री प्रचण्डले उपसचिव सरहको स्वकीय सचिव नियुक्ती गर्नु आफैंमा गैरकानुनी र अनियमित कार्य हो । लोकसेवा आयोगले उपसचिव सरहको पदमा नियुक्ती हुनका लागि कम्तिमा स्नातक पास भएकै हुनुपर्छ ।
भरपर्दो स्रोतका अनुसार बीरगञ्जमा योग शिबीर सञ्चालन गर्ने बहानामा भारतबाट बीरगञ्ज ल्याइएका टेन्ट, तिरपाल, सम्मियाना, कार्पेटल गायतका सामग्री बोकेका ट्रकमा हालेर उक्त रकम नेपालमा प्रवेश गराइएको हो ।
 यसरी भित्रयाइएको यो अढाई अर्ब भारुलाई सेतो पार्न चलखेल भइरहेको नाम नदिने सर्तमा नेपाल राष्ट्र बैंकको एक सूत्रले जनाएको छ ।
यसअघि नै प्रधानमन्त्री दाहालले नेपालमा भएका दुवै दरका भारतीय नोटलाई वैद्य भारतीय नोटसँग सटही गरिदिने व्यवस्थाका लागि भारतीय प्रधानमंत्री मोदीलाई गरेको अनुरोधअनुरुप भारतले एक उच्चस्तरीय मुद्रा व्यवस्थापन समिति गठन गरिसकेको छ ।
सोही समितिको प्रतिवेदनलाई आधार बनाएर नेपालभित्र पहिलेदेखि रहेका र भारतबाट पछि गैरकानुनी ढंगले नेपाल भित्राइएको ठूलो परिमाणको गैर–चलनचल्तीका भारु नोटलाई वैद्यता प्रदान गराइने योजना रहेको छ ।
यस्तो गैरकानुनी धन्दामा डा. उपेन्द्र महतोले प्रधानमंत्री दाहालको नाम जोडेर गलत काम गरेको समाचार प्रकाशित हुंदा समेत कतैबाट खण्डन नभएपछि यो ‘भारु काण्ड’ थप रहस्यात्मक बनेको छ । यसबारेमा नेपाल सरकार र नेपाल राष्ट्र बैक दुवै मौन रहेका छन् ।
बेलारुसमा डा. महतोको ठूलो लगानी रहेको सुनियोजित हल्ला नेपालमा चलाइदैं आएको छ । तर नेपालमा डा. उपेन्द्र महतोको अबौंको आम्दानीको स्रोत देखिँदैन भने डा. महतो नेपालका ठूला करदाता पनि होइनन् ।
 यसैले नेपालमा डा. महतो र निजको परिवारको नाममा सामाजिक कार्य र एकाध ब्यवसायमा गरिएको लगानी कालोधन भएको आशंका गरिएको छ ।
 (जनभावना साप्ताहिकबाट)
Loading...
Share on Google Plus