.

नेपालमाथि पुनः नाकाबन्दी गर्ने भारतको यस्तो चेतावनी

पर्साः भारतको रक्सौल हुँदै नेपाल आउने औद्योगिक कच्चा पदार्थ लगायतका मालसामान आइतबारदेखि अनिश्चितकालका लागि रोक लगाउने चेतावनी भारतीयहरुले दिएका छन् ।
रेलमार्फत रक्सौलको रेलवे साइडबाट आउने सिमेन्ट उद्योगको कच्चा पदार्थ क्लिङ्करले वातावरण प्रदूषण भई रक्सौलवासीको स्वास्थ्यमा असर पारेको आरोप उनीहरूले लगाएका छन् ।
यसको समाधानका लागि बारम्बार आग्रह गर्दा समेत चासो नदिएकाले रक्सौलबाट मालसामान ढुवानीमा रोक लगाउने चेतावनी उनीहरूले दिएका हुन् ।
सन् २००६ देखि नै रक्सौल रेलवे गोदामा रहेको क्लिङ्करले स्थानीयको स्वास्थ्यमा असर पारेको भन्दै त्यसको व्यवस्थापनका लागि पटक पटक प्रधानमन्त्रीको कार्यालय, रेल मन्त्रालय प्रदूषण कन्ट्रोल बोर्ड, जिल्ला पदाधिकारी र अनुमण्डल पदाधिकारीलाई पनि पत्रचार गरिएको उनीहरूले जनाएका छन् ।
यसअघि पनि पटक पटक प्रदूषण नियन्त्रणको लागि आन्दोलन गर्दा आएको समाधानको आश्वासन मात्र दिँदै आएकाले समाधानका लागि दबाबस्वरुप नेपालतर्फको ढुवानी रोक्ने चेतावनी रक्सौलवासीले दिएका हुन् ।
क्लिङ्कर लोड अनलोड गर्दा निस्किएको धूलोले वातावरण प्रदुषित भई स्थानीयको स्वस्थ्यमा असर पारेपछि त्यसको व्यवस्थापनका लागि भारत सरकारलाई दबाब दिन ढुवानी रोक्ने रक्सौलवासीको चेतावनीपछि औद्योगिक करिडोरका उद्योगी व्यवसायी भने चिन्तित बनेका छन् ।
एक वर्ष पहिले मधेस आन्दोलन र भारतीय नाकाबन्दीकै कारण आर्थिक सङ्कट व्यहोरेका उद्योगी व्यवसायीहरु रक्सौलबाट फेरि ढुवानी बन्द गर्ने चेतावनी आउँदा झस्किएका छन् ।
ढुवानी बन्द गरेमा औद्योगिक करिडोरका उद्योगमा प्रयोग हुने कच्चा पदार्थहरु नआई उत्पादनमा असर पर्ने उद्योगीहरुको भनाई छ ।
नेपाली सिमेण्ट उद्योगकका आयातकर्ताले भने रक्सौलवासीको यो घोषणको विरोध गरेका छन् । क्लिङ्कर अनलोड गर्दा उड्ने धुलोका कारण वायु प्रदुषित भएको स्थानीय भारतीयको दाबी रहँदै आएको छ ।
ढुवानी रोक्नेसम्बन्धी जानकारी रेल्वे, भारतीय प्रहरी र सीमा सुरक्षा बललाई पनि जानकारी दिइएको छ । भारतीय रेलवेका पदाधिकारीहरुले भने रक्सौलसम्मका लागि बुक गरिएको मालवाहक रेललाई सुख्खा बन्दरगाहमा पठाउन नसकिने बताएका छन् ।
नेपालका आयातकर्ताले बुकिङ्ग पोइण्टमै बन्दरगाहका लागि बुकिङ्ग गरे मात्र बन्दरगाहमा जाने बताएको जानकारी पत्रमा उल्लेख गरिएको छ ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले त्यहाँको समस्या रेलवेको भएकोले वैकल्पिक व्यवस्था नहुन्जेलसम्म बन्द नगरे राम्रो हुने बताए ।
“बन्द गरेपछि आयात निर्यात नै रोकिन्छ । रेलवे व्यवस्थापन गर्नुपर्छ । बन्दले आयात निर्यात प्रभावित हुन्छ’’, उनले भने, ‘‘यसले उद्योग कलकारखाना पनि बन्द हुने अवस्था हुन्छ ।”
वीरगन्ज उद्योग वाणिजय सङ्घका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश शर्माले यसमा नेपाल सरकारको पनि कमजोरी रहेको बताए । “जहाँ अहिले क्लिङ्कर खसालिन्छ, त्यो जग्गा नेपालको हो । पहिले त्यहाँ नेपालको स्टेसन थियो’’, उनले भने, ‘‘सरकारको कमजोरीले गर्दा हामी दोहोरो मारमा छौँ ।”
उनले आफूहरुको सामान खन्याउने ठाउँ पनि भारतीयले मिचिरहेको गुनासो गरे । “एक त हाम्रो जग्गा प्रयोग गर्न पाएका छैनौँ, दोस्रो विलम्व शुल्क तिरिरहेका छौँ’’, उनले भने, ‘‘हाम्रो भारतीयहरुले जग्गा अतिक्रमण गरेको छ । हाम्रो १९ विगाह जग्गा भारत सरकारसँग माग गरेर हामीले प्रयोग गर्नुपर्छ । त्यसपछि प्रदूषण व्यवस्थापनमा हामीले पनि केही गर्न सकिन्छ ।”
ढुवानी ठप्प भएपछि नेपालका उद्योगहरुको उत्पादन बन्द हुने चिन्ता उद्योगीहरुमा छ । उद्योग बन्द भएपछि मजदुर कर्मचारी पनि बेरोजगार हुने विश्वकर्मा सिमेण्ट उद्योगका प्रबन्धक विशाल कर्णालीले बताए ।
“हामीले महिनामा करिब १५ देखि २० हजार टन क्लिङ्कर आयात गर्छौँ । ढुवानी ठप्प भयो भने हाम्रो उत्पादन नै बन्द हुन्छ”, उनले भने ।
नेपालका सिमेन्ट उद्योगहरुका लागि आवश्यक औद्योगिक कच्चा पदार्थहरु क्लिङ्कर, स्लेग, कोइला, फ्लाइस र जिप्सन लगायत अन्य कच्चा पदार्थ रेलमार्फत रक्सौलमा ल्याइने गरिन्छ ।
त्यहाँबाट वीरगन्ज भन्सार हुँदै वीरगन्ज पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगहरु साथै हेटौँडा, भैरहवा, अर्घाखाँची, दाङ्ग र मिर्चैया लगायतका सिमेन्ट उद्योगहरुमा ढुवानी हुने गरेको छ ।
औद्योगिक करिडोरमा रहेका करिब १ दर्जन सिमेन्ट उद्योगहरुका लागि आवश्यक कच्चा पदार्थहरु रक्सौल रेलवे गोदामबाट ट्रकमार्फत ढुवानी हुने गरेको कारोबारमा खबर छ ।
Loading...
Share on Google Plus