धनी हुने काइदा यस्तो छ :: जानकरिको लागि पूरा पढ्न

Loading...
-डा. बाबु राम ज्ञवाली
अर्थशास्त्रले धन खर्च गर्दा सामाजिक मानिसले ध्यानमा राख्नु पर्ने एक महत्त्वपूर्ण कुरालाई बेवास्ता गर्ने गरेको छ । यस कुरालाई गायत्री मन्त्रको पहिलो पद तत्सवितुर्मा रहेको

चौथो अक्षरको व्याख्या गर्दै गायत्री तीर्थका संस्थापक पं.श्रीराम शर्मा आचार्यले धनको वास्तविक उपयोगबारे व्यापक प्रकाश पार्दै भन्नु भएको छ। धनवान् कसरी हुने? :-
वित्त शक्तातु कर्तव्य उचिताभाव पूर्तयः ।
न तु शक्त्या न या कार्य दर्पोद्धात्य प्रदर्शनम् ।।
धन उचित अभावको पूर्तिका लागि हो, त्यसबाट अहंकार र अनुचित कार्य गर्नु हुंदैन ।
baburam gyawali१.धन उपार्जनको ठीक तरीका
आफ्ना र अरुका उचित आवश्यकताहरुको पूर्तिका लागि धनको आवश्यकता पर्छ । शरीर, मन, बुद्धि र आत्माको विकासका लागि, सांसारिक उत्तरदायित्व पूरा गर्नका लागि धनको उपयोग हुनु पर्दछ र यसैका लागि धन कमाउनु पर्दछ ।
धन कमाउने उचित तरीका के हो भने त्यसमा मनुष्यको शारीरिक र मानसिक श्रम लागेको होस्, अरुको हक अपहरण नगरिएको होस् । कुनै चोरी छल, प्रपञ्च, अन्याय, दबाव आदिको प्रयोग नगरिएको होस् । समाज र राष्ट्रको कुनै अहित नहोस् ।
यस्तो कमाईले उपार्जित पैसा बढ्छ र त्यसले मानिसको सच्चा उन्नति हुन्छ । जसरी धनको उपार्जनमा त्यसको औचित्यलाई ध्यानमा राख्नु पर्छ, त्यसै गरी खर्च गर्नमा र उपयोगमा पनि सावधान रहनुपर्छ । आफ्नो र आफ्ना परिजनहरुको आवश्यक विकासका लागि धनको उपयोग गर्नु नै कर्तव्य हो । रवाफ देखाउन वा दुव्र्यसनहरु सन्तुष्ट गर्न धन लगाउनु मानिसको अवनति, अप्रतिष्ठा र दुर्दशाको कारण बन्न जान्छ ।
आफ्नो उचित शारीरिक, मानसिक, आत्मिक र सांसारिक आवश्यकताहरुको उपेक्षा गरेर जुन मानिसहरुले अधिकाधिक धन एकट्ठा गर्ने तृष्णामा डुबिरहन्छन् र सातपुस्ताकालागि अमीरी छोडेर जान चाहन्छन् उनीहरुले बिराएका छन् । सित्तैको धन पाउनाले आगामी सन्तान अल्छी व्यसनी, अपव्ययी तथा अन्य खराबीको शिकार हुन सक्छ । जसले जुन पैसालाई पसीना चुहाएर कमाएको छैन उसले त्यस पैसाको मूल्यांकन गर्न सक्दैन । छोराछोरीहरुलाई सम्पत्ति छोडेर जानुभन्दा उनीहरुलाई सुशिक्षित स्वस्थ र स्वावलम्बी बनाउनमा खर्च गर्नु अधिक उत्तम हुन्छ ।
२.धनको तिर्सनाबाट जोगिनु
धन कुनै खराब चीज होइन । र खासगरी वर्तमान समयमा दुनियांको स्वरुप यस्तो भइसकेको छ कि बिना धन मनुष्यको जीवन निर्वाह हुन सक्दैन, तर धन त्यसबेला मात्रै शुभ र हितकारी हुन्छ जबसम्म त्यसलाई ईमानदारीका साथ कमाइन्छ । अनि त्यसको सदुपयोग गरिन्छ । यसको विपरीत यदि हामीले धन कमाउन र चारैतिरबाट बटुलेर त्यसलाई तिजोरीमा थुपार्ने कामलाई मात्रै आफ्नो लक्ष्य बनाइदिन्छौ. वा यो ठान्छौ. कि आफ्नो पैसाको जेजस्तो उपयोग गरे पनि हुन्छ, र त्यसलाई दुव्र्यसनहरुमा लगाउ“छौं भने त्यो हामीलाई अभिशाप बन्न पुग्छ ।
यस्तो मानिसले आफ्नो पतन निम्त्याउंछ साथै अरुमानिसकहरुलाई उनको उचित अधिकारले वंचित गरेर उनीहरुकालगि पनि विपत्तिको कारण बन्छ । तर अचेल के देखिन्छ भने जो बढी बाठो छ जो अलिकति बढी शक्ति भएको छ उसले के काेिशस गर्छ भने संसारको बढीभन्दा बढी सुखभोगको सामग्री मेरो कब्जामा आइजाओस् । आफ्नो यस वासनालाइ पूरा गर्न उसले आफ्ना छिमेकीका अधिकारहरु उपर हमला गर्छ र उनको हातको रोटी, मुखको गास खोसेर धन जम्मा गर्छ ।
एक जना धनी बन्नुमा अनेकौं मानिसको क्रन्दन, रुवाई, अनेकको शोषण, र अनेकको अपहरण भएको हुन्छ । एक अग्लो घर बनाउंदा थुप्रै माटो लाग्छ । र जहां जहांबाट त्यो माटो खनेर निकालिएको हुन्छ त्यहां त्यहां खाल्टो पर्ने निश्चित छ । यस संसारमा जति प्राणी छन् त्यसै हिसाबले परमात्माले वस्तुहरु उत्पन्न गरेका हुन्छन् । यदि एकजनाले आफुलाई चाहिनेभन्दा बढी वस्तु थुपार्छ भने यसको अर्थ के हो भने अरुअरुको जरुरी चीजको अपहरण भएको छ । गत महायुद्धहरुमा सरकारहरुले तथा पूंजीपतिहरुले अन्नको अधिकाधिक स्टक जम्मा गरे पछि अरुअरु ठाउंमा अन्नको कमी हुन गएको थियो । र बंगाल जस्ता स्थानहरुमा लाखौं मानिस भोकमरीले मर्नुपर्यो । गतः शताब्दीमा ब्रिटेनको धन सम्पन्नता भारत जस्तो पराधीन देशहरुको दोहनबाट भएका हो ।
जुन जुन देशहरुको शोषण भयो उनीहरु बिचरा दीनहीन, गरीबी, बेकारी, भोकमरी र बीमारीले तबाह भइरहेका थिए ।
संसारमा त्यतिनै वस्तुहरु छन् जसबाट सबले समानरुपले सुखपूर्वक गुजारा गर्न सकुन् । एक व्यक्ति मालदार हुनजान्छ भने यो हुनै सक्दैन कि अरु कैयौंलाई गरीब हुन नपरोस् । यस सामान्य सत्यलाई हाम्रँ पुरखाहरुले राम्ररी बुझेका थिए ।gayatri mata
त्यसैले उनीहरुले मानवधर्ममा अपरिग्रहलाई महत्वपूर्ण स्थान दिए । वस्तुको ज्यादै कम संग्रह गर्नु यो वैदिक सभ्यताको आदर्श थियो । ऋषिगण कमभन्दा कम वस्तुले काम चलाउंथे ।
उनीहरु कौपीन लगाएर खरको छानामुनि बसोबास गर्थे । जनकजस्ता राजाले आफ्ना हातले आफैं खेती गरेर आफ्ना परिवारको निर्वाहकालागि अन्न कमाउने गर्थे । प्रजाको सामूहिक धन राज्यकोषमा केवल प्रजाको काममा मात्र खर्च हुन्थ्यो । व्यापारीहरुले आफुलाई जनताका धनको ट्रष्टी मान्दथे र मौका पर्दा त्यस धनलाई बेझिझक जनतालाई सुम्पिदिन्थे ।
भामाशाहले राणा प्रतापलाईलाई खांचो पर्दा प्रचुर सम्पदा दिएका थिए । (अकबरसंगको युद्धमा सम्पूर्ण राज्यशक्ति गुमाएका राणाप्रतापका परिवारले वनमा बयर खाएर पेट भर्नु पर्ने दिन पनि बेहोर्नु पर्यो । यस्तोमा मेवाडका एक जना धनी व्यक्तिले युद्धलाई चाहिने धनको ठूलो सहयोग गरेका थिए ।
नेपालमा पृथ्वीनारायण शाहलाई निराशाका क्षणहरुमा बिसे नगर्चीले आर्थिक सहयोगको बाटो देखाएका थिए ः अनुवादक) जनताको नासो जनताको खांचो पूरा गर्न बिना हिचकिताहट फिर्ता गरिएका यस्ता अनेकौं उदाहरण पाइन्छन् ।
आजको दृष्टिकोण भने बेग्लै छ । मानिसहरु धन कमाउने होडमा लागेर अन्धा हुन पुगेका छन् । नीति अनीतिको उचित, अनुचितको धर्म अधर्मको प्रश्न जुठेल्नामा मिल्काइदिएका छन् र के कोशिश गरिंदै छ भने छिटोभन्दा छिटो धनपति भइजाओस् । धन, अझ बढी धन, छिटो धन, धन, धन, । यसलाई घोक्दा घोक्दा मानिसले आफ्नो होश हवास बिर्सिसकेको छ । पागल फ्याउरो झैं धनको खोजीमा उन्मत्त भएर चारैतिर फन्फन्ती घुमेको छ ।
पाप एक सरुवारोग हो ।
यो एक मानिसबाट अर्कोमा सर्दै जान्छ र बढ्छ । एउटालाई धनी बन्नकालागि धुनपत्ता गरेको देखेर अरु अनेकलाई पनि त्यस्तै गर्न मन लाग्छ । अनुचित तरीकाले धन थुापर्नै लुटेराहरुको संख्या बढ्दै जान्छ अनि लुटिएका र लुट्न पल्केकाहरुको बीचमा संघर्ष हुन्छ । लुट्न पल्केकाहरुको बीचमा आपसमा पनि होडबाजी हुन्छ । यसरी तीनवटा मोर्चाहरुमा लडाई शुरु हुन थाल्छ । घरघरमा, गाउंगाउंमा, जातिमा, वर्गमा लुछाचुंडी भइरहेको छ ।
जसरी तसरी छिटोभन्दा छिटा धनी हुने । व्यक्तिगत सम्पन्नतालाई प्रधानता दिने कुराको एउटै निश्चित परिणाम हो कलह, झैझगडा । जसलाई हामीहरुले आफ्ना चारैतिर ताण्डव नृत्य गरेको देखिरहेको छौं ।
जबसम्म मानवजातिले यो गतिविधिलाई सुधार गर्दैन तबसम्म ऊ कठिनाईहरुबाट पार पाउन सक्दैन । एउटा गांठो फुकाउन नपाउंदै अर्को गांठो बल्झिेनछ । एउटा संघर्ष शान्त हुन नभ्याउंदै अर्को नयां संघर्ष सुरु हुनेछ ।
न लुटिएकालाई निद्रा पर्ने छ, न लुटनपल्केकालाई शान्ति मिल्ने छ । एउटा धनी हुनु भनेको अरु अनैकौंका मनमा ईष्र्याको, डाहाडको, जलनको आगो बाल्नु हो । यो सत्य घाम झैं छर्लंग्ग छ कि एउटा धनी हुनु भनेको अनेकोंलाई गरीब राख्नु हो । यस खराबीलाई रोक्न हाम्रा पूर्वजहरुले अपरिग्रहको स्वेच्छाले स्वीकृत शासन स्थापित गरेका थिए । आजको दुनियां राजसत्ताद्वारा समाजवादी प्रणालीको स्थापना गर्न तम्सिइरहेको छ ।
वस्तुतः जीवनयापन गर्नकालागि एक निश्चित मात्रामा धनको आवश्यकता पर्छ । यदि लुछाचुंडी बन्द भयो भने ज्यादै थोरै प्रयासलले मानिसले आफ्नो आवश्यकताका वस्तुहरु प्राप्त गर्न सक्छ । शेष समयमा विविध प्रकारका उन्नतिहरुको साधना गर्न सकिन्छ । आत्मा मानव शरीरलाई धारण गर्नकालागि जुन लोभको कारणले तैयार हुन्छ, प्रयास गर्छ, त्यस रसलाई अनुभव त्यस बेलामात्र गर्न सकिन्छ जब धन संचयको ज्वरो ओर्लिन्छ र त्यस ज्वरोका साथै अन्य अनेक उपद्रवहरु जुन उठ्छन तिनीहरुको अन्त हुन्छ ।
परमात्मा समदर्शी छ । उसले सबलाई समान सुविधा दिन्छ । हामीले त्यति मात्र भौतिक पदार्थहरुको संचय गर्नु पर्दछ जति उचित तरीकाले कमाउन सकिन्छ र वास्तविक आवश्यकताहरुकालागि जरुरी छन् ।
यसभन्दा बढी सामग्रीको संचयको तृष्णा गर्नु हुंदैन किनभने यो तृष्णा ईश्वरीय इच्छा विपरीत छ र यसले अनेक कलह उत्पन्न गर्छ ।
३. धन विपत्तिको कारण पनि बन्न सकछ
यसरी हामीले के देख्छौं भने वर्तमान समयमा संसारका अधिकांश मासिहरुले धनलाई उसको वास्तविक स्थानभन्दा धेरै अग्लो आसनमा बसालिदिएका छन् । आजको अवस्था देखेर हामीलाई के लाग्छ भने मानव जीवनको सबभन्दा ठूलो शत्रु धन हो, यो स्वीकार गर्नु नै पर्दछ । ईसाले गलत भनेका छैनन् कि स्वर्गमा धनीको प्रवेश असम्भव छ । यसको अर्थ केवल यति मात्र हो कि धनले मानिसलाई यसरी अन्धो बनाइदिन्छ कि संसारका सबै कर्तव्यहरुबाट ऊ तल खस्न जान्छ । धनको महव के हो भने त्यो लोक सेवामा खर्च होस् । श्रीमद्भागवतमा भनिएको छ ,
स्तेयं हिंसानृतं दम्भः कामः क्रोधः स्मयो मदः ।
भेदो ः वैरमविश्वासः संस्पर्धा व्यसनान िच ।।
एते पञ्चदशानर्था ह्यर्थमूला मता नृणाम् ।
तस्मादनर्थमर्थाख्यं श्रेयो अर्थी दूरस्त्यजेत् ।। ११।२३।१८–१९
(धन) ले मानसिहरुमा चोरी, हिंसा, झूठ, दम्भ, काम क्रोध, गर्व, मद, भेद, बुद्धि, वैर, अविश्वास, स्पर्धा, लम्पटता, जुआ, र रक्सी जस्ता अनर्थ उत्पन्न हुन्छन् । त्यसैले कल्याण कामी मासिहरुलाई अर्थ नामधारी अनर्थलाई टाढैबाट त्याग्नु पर्छ ।
आज संसारमा बहुतै कम मानिसहरुलाई सुखी भन्न सकिन्छ । विगतमा हाम्रो जीवन केवल रोटी कमाउनमा खर्च भयो । अब हामीलेले समाजमा आफ्नो स्थान कमाउन खर्च गर्नु पर्छ । केवल धन र समृद्धि मात्र जीवनको लक्ष्य हुनु हुंदैन । लक्ष्य के हुनु पर्छ भने कहिल्यै दुखी नहुनु, सधैं प्रसन्नचित्त । हरेकको जीवनमा सबभन्दा महान प्रेरणा के हुनु पर्छ भने कि हाम्रो जीवन प्रकृतिको नजीकभन्दा नजीक होस् र तर्क तथा बुद्धिभन्दा टाढा होस् ।
हामीले आफ्नो जीवनमा काम गर्नुको आदर्श बुझ्नु पर्छ । यो आदर्श पेटको धन्दा होइन, सेवा हुनु पर्छ । सर्वकल्याण, समाजसेवा सामाजिक जीवन तथा शिक्षा नै हाम्रो कार्यक्षेत्र हो । हामीले यस्तो युगको कल्पना गर्नु पर्छ जब हाम्रँे जीवनको लक्ष्य केवल जीविकोपार्जन मात्र नहोस् । जीवन केवल अर्थशास्त्र या प्रतिस्पर्धाको वस्तु मात्रमा सीमित नहोस् । व्यापारका नियम बदलिएर जाउन् । एउटा काम गर्ने अनेक मानिस होउन् र अनेक मानिसहरुले एउटैकाम गर्न सकुन् ।
मालिक र नोकरमा काम गर्ने समयको कचकच कहिल्यै नहोस् । मानिस केवल मानिस होइन उसको आत्मा पनि हुन्छ, उसको देवता पनि हुन्छ, उसको इहलोक र परलोक पनि हुन्छ ।
यदि हामीले आफ्नो र अर्काको हृदय भित्र बसेर यो कुरा बुझ्यौं भने हाम्रँे जीवन कति सुखी हुन्छ कति, तर आज हामीले यस्तो गर्दैनौं, किन? यसको कारण धनको विपत्ति नै हो । धनको दुनियांमा निर्धनको व्यक्तित्व समाप्त हुन जान्छ ।
जबसम्म आफ्ना व्यक्तित्वको विकासको अवसर पाईंदैन मानिस सुखी हुन सक्दैन । सुख त्यो अत्तर हो जुन अरुलाई लगाउनु अघि आफैले लगाउनु पर्छ । यो अत्तर तब बन्छ, जब हामीले आफ्ना कामहरु अर्कालाई सघाउने भावले गर्छौं । हामीले आफ्ना इच्छाहरुको दमन भलै गर्नु परोस तर हामीले अर्काका सुखको आदर गर्नु पर्छ । सुखको सबभन्दा ठूलो साधन निःस्वार्थ सेवा हो ।
संसारमा धनको सबभन्दा ठूला उपासक यहुदीहरु मानिन्छन् । तर यहुदी समाजमा पनि अब धनका विरुद्ध जेहाद सुरु भएको छ । यरुशलम मित्र संघको तर्फबाट चूज (ऋजययकभ) अर्थात् छनौट गर शीर्षक एक पुस्तक प्रकाशित भएको छ जसको लक्ष्य हो, तिमी ईश्वर र शैतान दुवैलाई संगै उपासना गर्न सक्दैनौ । यसका लेखक आर्थर ई जोन्सले भनेका छन्, कुन्नी कस्तो कुबेलामा रुपैया पैसा संसारमा आयो, जसले आज हामीमाथि यस्तो अधिकार गरेको छ कि हामी उसको अंग हुन पुगेका छौं । यदि मैले यसो भनुं कि संसारमा समृद्धिको सबभन्दा ठूलो बाधा रुपैयां हो भने पुरानो मानिसहरुलाई अप्ठारो लाग्ला । तर आज संसारमा जे जति पीडा छ, त्यो यसै नीच देवताको कारणले हो । खाद्य सामग्रीको संकट रोगव्याधि सबको कारण यो नै हो । किनभने सुखको सबै सामग्री यसैबाट प्राप्त गर्न सकिन्छ त्यसैले संसारमा यतिविधि कष्ट छ । जति समय उपभोगको सामग्री उत्पादन गर्नमा लाग्छ त्यसभन्दा कैयौं गुना बढी समय ती वस्तुको विक्रीको दाउपेंचमा लाग्छ । व्यापारको दुनियांमा यस्ता करौडौं नरनारी व्यस्त छन् जसले उत्पादनको नाममा केही झिंगो मार्दैनन् ।
विपत्ति के हो भने मानिसहरुले एक अर्कालाई प्रेम गर्दैनन् । यदि अपनाउने स्वार्थी भावनाको स्थानमा प्रतिपादनको भावना हुनजान्छ भने हर एक वस्तुको आर्थिक महत्व समाप्त हुनजानेछ । आज लाखौं मानिसहरु हिसाब किताब, बहीखाताको काममा परेशान छन् र लाखौं मानिस फौज, पलटन, वा पुलिसमा केवल बहिखाता र त्यसका कोषहरुको रक्षालागि नियुक्त छन् । जेल तथा पुलिसको खांचो रुपैयांको दुनियांमा हुन्छ ।
यदि यिनै मानिसहरु आफैं उत्पादनको काममा लाग्छन् र आफ्ना उत्पादनको आर्थिक मूल्य प्राप्त नगरेर शारीरिक सुख मात्र प्राप्त गर्छन भने संसार कति सुखमय होला ? आज संसारमा अटूट सम्पत्ति उच्च अट्टालिकाहरुमा, बैंक तथा वित्तीय कम्पनीहरुको भवनमा सेना पुलिस जेल तथा रक्षकहरुहको दल लागेको छ । यदि यति सम्पत्ति र त्यसको बढ्दो मायाजाल संसारको पेट भर्नमा खर्च हुन्थ्यो भने आजको दुनियां कस्तौ हुन्थ्यो? अस्पतालहरुमा लाखौं नरनारी रुपैयांको मारले वा अभावले बीरामी परेका छन् तथा लाखौं नरनारी धनकालागि जेल सजायं भोगी रहेका छन् ।
प्रायः हरेक परिवारमा यसको झगडा छ । मालिक तथा नोकरमा यसको झगडा छ । यदि धनको मर्यादा हुदैनथ्यो भने यो संसार कति मर्यादित हुन्थ्यो होला?
के कुरा सत्य हो भने संसारबाट पैसा एकदम हटेर जाओस् यसको संभावना भने छैन । तर पैसाको विकास, त्यसको महत्ता तथा त्यसकोे रजाईंलाई रोक्न सकिन्छ । यसकालागि हामीले आफ्नो मोह हटाउनु पर्ने छ। स्वार्थको ठाउंमा परार्थ, समृद्धिको झुट्ठा सपनाको ठाउंमा त्याग तथा भाग्यको ठाउंमा भगवानको शरण लिनु पर्नेछ । होइन भने आजको हाइ हाइ, जसले हाम्रा जीवनको सुख नष्ट गरिसकेको छ, त्यो अब हाम्रो आत्मा पनि नष्ट गर्न लागिपरेको छ ।
अरु सब दिएर भए पनि हामीले आफ्नो आत्मा बचाउनु छ ।
४. धन के हो ?
कुरा के हो भने झुक्किएर हामीले रुपैयां पैसालाई धन ठानेका छौ., स्थावर सम्पत्तिको नामकरण हामीले धनको रुपमा गरि भ्याएका छौं र हाम्रो जीवनको केन्द्रबिन्दु, आनन्दको स्रोत यस स्थावर जंगमको रुपमा हाम्रो सामु आएको छ । हाम्रो प्रवाह गलत बाटो मा हिंडेकोछ ।
के हाम्रो अमूल्य श्वास प्रश्वासका केही क्रियाहरुको तुलना या मूल्यांकन तीन लोकको सम्पूर्ण सम्पत्तिबाट गर्न सकिन्छ ? कारुंको सारा खजाना जीवनरुपी धनको चरण रजभन्दा पनि अल्प किन नभन्ने ? सच्चा धन हाम्रो स्वास्थ्य हो, विश्वको सम्पूर्ण उपलब्ध सामग्रीको अस्तित्व जीवन धनको योग्य शक्तिमा नै अवलम्बित छ । मानव अप्राप्यकालागि चिंतित तथा प्राप्यका प्रति उदासीन छ । हाम्रो पासमा जे छ उसकालागि सुखको सांस लिदैन सन्तोष गर्दैन । बरु के छैन यसकालागि चिन्तित र दुखी हुन्छ । परेशान हुन्छ । मानव स्वभावका अनेक दुर्बलताहरुमा प्राप्यप्रति असन्तोषी हुनु उसको स्वभावजन्य पद्धति मानिएको छ ।
मानिस आदिकालदेखि मस्तिष्कबाट टाटपल्टेको छ । हेर्नुस न, एक दिन एक हृष्ट पुष्ट माग्ने जसको बलियो शरीर सबल अभिव्यक्तिको प्रतीक थियो, एक गृहस्थ ज्ञानीको ढोकामा गएर आफ्नो दरिद्रताको, आफ्नो अपूर्णताको बडो जोडदार तरीकाले वर्णन सुनाइ रहको थियो । यसले के बुझिन्थ्यो भने त्यो मानिस असाध्ये गरीब छ । र यसकालागि विश्वनिर्माता ईश्वरलाई दोषी बनाइरहेको थियो । अचानक ज्ञानीे गृहस्थले भने, बाबु, मलाई मेरो भाइकालागि आंखाको एउटा नानी चाहिएको छ, एक शय दिन्छु , मलाई दिनुहुन्छ ।
माग्नेले तुरन्तै हुन्न भनिहाल्यो र भन्यो उसले दस हजार रपैयांमा पनि आफ्ना शरीरका अमूल्य अंगहरु दिन तैयार छैन ।
एक छिन पछि गृहस्थले फेरि भने, मेरो छोराको मोटर दुर्घटनामा देब्रे गोडा भांचिएको छ, तपाईंले दस हजार रुपैयां दिएर आजै अस्पताल पुगेर त्यसलाई गोडा दिनु भए बडो गुन मान्थें । यो सुनेर माग्ने रिसले मुर्मुरिंदै भन्न थाल्यो, दस हजार होइन, एक लाख होइन, दस लाखमा पनि मैले मेरो अमूल्य शारीरिक अवयव दिन तैयार छैन ।
यति भनेर रिसाएर फर्कन थाल्यो ।
ज्ञानीले माग्नेलाई रोकर गम्भीरतापूर्वक भन्न लागे, बाबु तिमी त बडो धनी रहेछौ । तिम्रो दुइ अंगको मूल्य ५० लाख रुपैयां बराबर हुन्छ । त्यसो भए तिम्रँे पूरै शरीरको मूल्य अरबौं रुपैयां हुने भयो नि । तिमीले आफ्नो दरिद्रताको झ्याली पिट्दै हिंडेका छौ, र लाखौं रुपैयां मिल्काउंदै हिंडेका छौ । हेर जीवन अमूल्य छ ।
हामीले आफ्नो सोच ठीक बनाउनु पर्छ । माटाको डल्लालाई,ं जड वस्तुलाई धन मानेर त्यसको रक्षाकालागि चौकीदार राखेर विशाल तिजोरीहरुमा सुरक्षित गरिएका छन् । चोरबाट, डाकुबाट कुनै पनि मूल्यमा हामीले त्यसलाई जोगाइरहेका छौं तर प्रतिदिन नष्ट हुने हाम्रँे प्रत्येक दिनको अशोच्य क्रियाकलापद्वारा थोपाथोपा नष्ट हुंदै गएको यो जीवनदीप बिना तेल निभ्नेवाला छ । निर्वाण दीपे किम् तैल्य दानम् । यो बत्ती निभ्यो भने तेलको के गर्ने?
हामीलाई आलस्य अकर्मण्यता आदि स्वास्थ्यलाई हानि पुर्याउने दैनिक क्रियाहरुद्वारा यस जीवन धनको रक्षा गर्नु पर्नेछ । व्यसन, व्याभिचार, संयमहीनताका डाकुहरुले कहीं लुटेर नलैजाउन । सतर्कता साथ जागरुक रहनु पर्छ ।
रुग्ण शैयामा पल्टेका रोमका अन्तिम सम्राटलाई राजवैद्यद्वारा अन्तिम निराशाजनक सूचना प्राप्त भयो कि अब सम्राट संसारमा केही क्षणकालागि मात्र पाहुना छन् । उसका मंत्रीहरुलाई साम्राज्ञीले कैयौं पटक आग्रह गरिन् ।
राजकीय कोषको आधा भाग राजवैद्यको चरणमा टक्र्याइन् र भनिन् कि दुइ घण्टा अरु जिउंदो राखिदिनु पर्यो ।
राजवैद्यको उत्तर थियो, त्रैलोक्यको सम्पूर्ण लक्ष्मीदे समेत सम्राटलाई एक छिन पनि बढी सांस दिन सक्दैन ।
के हाम्रा आंंखाको ज्ञानको ज्योति निभ्यो ? के उपर्युक्त कथनले स्पष्ट हुंदैन कि जीवन धन अमूल्य छ, बहुमूल्य छ तथा अखिल ब्रह्माण्डको कुनै पनि वस्तुसंगको तुलनामा यो महान छ ।
५. धनको सच्चा स्वरुप
धन किन जम्मा गर्नु पर्दछ भने त्यसको सदुपयोग गरियोस । र त्यसबाट सुख र सन्तोष प्राप्त होस् । तर यदि जम्मा गर्ने लालसा बढेर तृष्णाको रुप धारण गर्छ र मानिसलाई धर्म अधर्मको ख्याल नगरी पैसा लिने वा आवश्यकताको उपेक्षा गरेर उसलाई जम्मा गर्ने कंजुसीको बानी परेको छ भने त्यो धन धुलो बराबर हो । हुन सक्छ कि कुनै मानिस धनी भइजाओस तर उसमा मनुष्यताकालागि आवश्यक गुणहरुहरुको विकास भएन र उसको चरित्र अत्याचारी बेइमानी या लम्पट नै रहिरहोस । यदि धनको वृद्धिका साथसाथै सद्वृत्तिहरु विकसित हुंदैनन् भने के बुझ्नुभने यो धन जम्मा गर्नु निरर्थक गयो ।
र उसले धनलाई साधन न बुझेर साध्य बुझेको छ । धनको गुण उदारता बढाउनु हो हृदय विशाल पार्नु हो । कंजुसी या बेइमानीको भाव जुन कमाई संग जोडिएका छन् त्यो कमाई केवल दुःखदायी सिद्ध हुनेछ ।
जसको हृदय दुर्भावनाहरुबाट कलुषित भएको छ यदि तिनीहरु कंजुसी गरेर धन जोडिपनि हाल्छन् भने उनकालागि त्यसले कुनै पनि सुख दिने छैन । बरु उल्टै कष्टकर हुने छ । यस्ता धनवानलाई हामीले कंगाल नै भन्ने छौं । किनभने पैसाले शारीरिक र मानसिक सुविधा जुन पाउनु पर्ने हो त्यो पाईंदैन बरु उल्टै त्यसको चौकीदारीको भारी जोखिम सिरमा बोकेर हिंडिरहनु पर्छ । जसले आफ्नो आराममा , स्त्रीको स्वास्थ्यमा, सन्तानको पढाईमा दमडी खर्च गर्न चाहंदैन उसलाई कसले धनवान् भन्न सक्छ? अर्काको कष्टमा ढुंगो भएर बस्छ तर शुभकार्यमा केही दान गर्ने नाममा जसको प्राण निस्किन्छ यस्तो अभागी मक्खीचूसलाई कदापि धनी भन्न सकिंदैन । यस्ता मानिसहरुसंग बहुत सीमित मात्रामा पैसा जम्मा हुन सक्छ किनककि त्यसबाट केवल ब्याज कमाउने हिम्मत गर्न सक्छन्, उसमा घाटाको जोखिम पनि रहन्छ । कंजुस डराउंछ कि कहीं मेरो पैसा डुब्छ कि? त्यसैले उसले आफ्नो छातीबाट निक्लेर कुनै कारोबारमा लगाउने आंट गर्न सक्दैन ।
यी सबै कारणहरुले कुनै पनि कंजुसको स्वभावको मानिस बहुत ठूलो धनी बन्न सक्दैन ।
तृष्णा कुनै अन्त छैन । हवस छाया जस्तै हो । जसलाई आजसमम कसैले समात्न सकेको छैन ।छायांको पछाडि जति दगुरिन्छन् त्यो झन्झन् टाढा भाग्छ । मानिसको जीवनको उद्देश्य केवल पैसा बनाउनु होइन, बरु यो भन्दा केही बढी हो ।
पोम्पेइ नगरका खण्डहरुहरुलाई उत्खनन गर्दा एउटा यस्तो मानव अस्थिपंजर भेटिएको थियो जसले हातमा सुन डल्लो मुठी कसेर समातेका थियो । (पोम्पेइ नगरमा जालामुखी विस्फोट भएर धेरै मानिसहरुको लाभामा परिमृत्यु भएको थियोः अनुवादक) यस्तो लाग्छ कि मृत्युको समयमा उसले सुनको रक्षाको सबभन्दा बढी चिन्ता गरेको रहेछ ।
एउटा पानीजहाज समुद्रमा डुब्न थालेको थियो । सबै मासिहरु ससाना डुंगाहरुमा बसेर जिउ जोगाउन थालेका थिए तर एक जनाले भने जहाजको खजाना बटुल्न थाल्यो । साथीहरुले भने, एइ, भाग, नत्र डुब्छस तं । तर उसले सुनेन । खजाना बटुल्नमा लागिरह्यो । फलस्वरुप पानीजहाजसंगै समद्रमा डुब्यो ।
एक कंजुसको तपस्याबाट प्रसन्न भएर भगवान शंकरले उसलाई यस्तो थैली दिनु भयो जसमा जति निकाले पनि एक रुपैयां बांकी रहन्थ्यो । साथै भगवान शंकरले के चेतावनी पनि दिनु भयो भने हेर् बाबु, जबसम्म यस थैलीलाई नष्ट गरिंदैन, त्यसबेला सम्म खर्च गर्न नथाल्नु ।
त्यस गरीबले एक एक गरेर रुपैयां निकाल्दै गर्यो, निकाल्दै गर्यो यहांसम्म कि निकाल्दा निकाल्दा अत्तालिएर उसको मृत्यु नै हुन पुग्यो ।
एक पटक लक्ष्मीजीले एक भिखारीलाई आएर भन्नु भयो, तंलाई जति सुन चाहिन्छ लैजा तर, यो जमीनमा खस्नु हुदैन । भुईंमा खस्नासाथ त्यो माटो हुने छ । भिखारीले आत्तिएर आफ्नो थोत्रो झोलीमा सुनको खात यति थुपार्यो कि त्यो झोली च्यातियो र सबै सुन धुलो हुन पुग्यो ।
मोहम्मद गौरी जुन दिन मर्न थालेको थियो उसले आफ्नो सारा खजाना आंखा अगाडि फिजाएर राख्न लगायो । अनि त्यो खजाना आंखा च्याति च्याति हर्न थाल्यो । उसका आंखाहरुबाट बर्बर आंसु बग्न थाले । तृष्णाले सताइएका कंजुसहरु मागीखाने भिखारी भन्दा कम हुंदैनन् । भलै उनीहरुको तिजोरी सुनले भरिएको होस् ।
सच्चा दौलतको बाटो आत्मालाई दिव्य गुणबाट सम्पन्न गर्नु हो । सांच्चै नै, हृदयका सत्प्रवृत्तिहरु छोडेर बाहिर कही. पनि सुख शान्ति छैन । भ्रमवश हामीले बाह्य परिस्थितिमा सुख खोज्न गएका हुन्छौं । हुन सक्छ कि केही कमीना र निकम्मा मानिसहरु पनि अनायास धनी हुन जाउन् । तर असलमा तिनीहरु धनपति होइनन् । यथार्थमा उनीहरु दरिद्र भन्दा पनि बढी दद्रिता भोगिरहेका छन् । उनको धन बेकार छ ।
अस्थिर छ । र बहुत अंशमा त्यो उनका लागि दुखदायी छ । दुर्गुणी धनवान केही होइन, केवल एक मागीखाने भिखारी हो । मर्ने बेलासम्म जो धनवान हुन्छ उसलाई बडो भाग्यमानी भन्छन् तर हाम्रो विचारमा उ अभागी हो किनकि अर्को जन्ममा आफ्नो पापाको फल त उसले भोग्नु नै पर्छ तर धनलाई न उसले भोग गर्न सक्यो न संगै लैजान सक्यो । जसका हृदयमा सत्प्रवृत्तिहरुको निवास छ उही सबभन्दा बढी धनवान हुन्छ चाहे बाहिरबाट उसले गरीबीको जीवन बिताएको होस् । सद्गुणी निश्चय नै सुखी हुन्छ । समृद्धि उसको स्वागतकालागि ढोका खोलेर उभिन्छ ।
यदि तपाईं स्थायी रहने सम्पदा चाहनुहुन्छ भने धर्मात्मा बन्नु होस् । लोभमा परेर अधिक पैसा जोड्नकालागि दुष्कर्म गर्नु कंगालीको बाटो हो । खबरदार, कहीं लोभको वशमा परेर सुन कमाउन जांदा पछिबाट केवल माटोमात्र हात लाग्ला ।
एडिसनले एक पटक भनेका थिए, कि देवताहरुले जब मनुष्यजातिमाथि कुनै ठुलो कृपा गर्न चाहन्छन् भने हुरी, तुफान र दुर्घटनाहरु उत्पन्न गरीदिन्छन् । जसबाट मानिसहरुमा लुकेको पौरुष प्रकट भइजाओस । र उनीहरुलाई आफ्नो विकासको अवसर प्राप्त होस् । कुनै ढुंगा त्यसबेलासम्म सुन्दर मूर्तिको रुपमा परिणत हुन सक्दैन जबसम्म उसलाई घन र छिनाले हजारौं पटक साना ठुला घाउ लगाएर राम्ररी कुंदिएको हुंदैन । एडमण्ड बर्कले भन्छन्, कठिनाई व्यायमाशालाको त्यस वस्तादको नाम हो जसले आफ्ना शिष्यहरुलाई पहलवान बनाउन खुद आफु उनीहरुसंग लड्छ । र उनीहरुलाई पटक पटक पछारेर उनीहरुलाई यति मजबूत बनाउंछ कि उनीहरु अरु पहलवानलाई पछार्न सकुन् ।
जोन बानथनले ईश्वरको प्रार्थना यसरी गर्दथे, हे प्रभु, मलाई अझ कष्ट दे ताकि मैले अधिक सुख भोग्न सकुं ।
के देखिएको छ भने जुन वृक्ष ढुंगा र कठोर भूभागमा उत्पन्न हुन्छन्, र बांच्नकालागि सर्दी गर्मी आंधी आदिसंग निरन्तर यसुद्ध गर्छन् तिनीहरु अधिक सुदृढ र बढी समय बांच्ने हुन्छन् । जसलाई कठिन अवसरहरुका सामना गर्नु पर्दैन उनीहरुले जीवनभर कुनै महत्वपूर्ण कार्य गर्न सक्दैनन् ।
एक तत्वज्ञानीले भन्ने गर्दथे, महापुरुषहरु दुखको कोक्रोमा झुल्छन् र विपत्तिहरुको तकिया राख्छन् । विपत्तिहरुको अग्निले हाम्रा हड्डीलाई फौलाद जस्तो बलियो बनाउंछन् ।
एक पटक एक युवकले एक अध्यापकलाई सोध्यो, के म एक दिन प्रसिद्ध चित्रकार बन्नसक्छु, अध्यापकले भने होइन ? अनि त्यस युवकले दंग परेर सोध्यो किन ?
अध्यापकले उत्तर दिए– किन भने तिम्रो बाबुबाजेको सम्पत्तिमा घर बसी बसी १००० रुपैयां कमाउंछौ । पैसाको चकाचौंधमा मानिसले आफ्नो कर्तव्य पथ भेटाउंदैन, र उसले बाटो बिराएर कहींबाट कहीं पुग्छ ।
कीमती हतियारहरु फलामलाई पटक फटक आरनमा तताएर बनाइन्छन् । काट्ने हतियार त्यसबेला धारिलो हुन्छ जब त्यसलाई ढुंगोमा बेसरी उदाइन्छ । खरादमा चढाएर हीरालाई काट्ने तलास्ने नगरीकन हीरा चम्किदैन । चकमक पत्थरलाई रगडिएन भने त्यसभित्र को अग्नि सुषुप्त अवस्थामा नै रहन्छ । परमात्माले मानिसलाई अनेक अमूल्य वस्तु दिएका छन् । यसमा सबभन्दा महत्वपूर्ण गरीबी, कठिनाई, आपत्ति र असुविधा हो । किनभने यिनैले मानिसले आफ्ना सर्वोत्तम गुणहरुको विकास गर्ने अवसर प्राप्त हुन्छ । केही गरी परमेश्वरले हरेकको सबैकाम सजिलो बनाइदिन्थ्यो भने निश्चय नै अल्छी भएर हामीहरु उहिल्यै सखाप भइसक्थ्यौं ।
यदि तपाईंले बेइमानी गरेर लाखौं रुपैयांको सम्पत्ति जम्मा गर्नु भयो भने के ठुलो काम गर्नु भयो ? दुखी गरीबहरुको रगत चुसेर आफ्नो पेट बढायौ भने यो के ठूलो सफलता भयो । तपाई अमीर बन्दा यदि अन्य अनेक व्यक्ति गरीब हुन गए र तपाईंको व्यापारले अन्य अनेको जीवन पतित भएका छन् अनेकौंको सुख शान्ति नष्ट भइरहेको छ भने यस्तो अमीरीलाई धिक्कार छ ।
याद राख्नुहोस एक दिन तपाईंलाई सोधिने छ कि धनलाई कसरी कमाउनु भएको थियो र कसरी खर्च गर्नु भएको थियो । नबिर्सनु होस् कि तपाईलाई एक दिन न्यायको तुलामा तौलिने छ । त्यसबेला आफ्नो भूलमा पछुतो पर्ला । अनि देख्नु हुनेछ कि तपाई जस्तो हुनु पर्ने थियो त्यो नभएर अर्कै पो हुनु भएछ ।
तपाईंलाई अचम्म लाग्ला । के बिना पैसा कोही धनवान हुन सक्छ ? तर सत्य के हो भने यस संसारमा अनेक मानिसहरु यस्ता छन् जसको खल्तीमा एक पैसा छैन वा जसको खल्ती नै छैन तर पनि उनीहरु धनवान छन् । र यति धनवान कि उनको समता कसैले पनि गर्न सक्दैन । जसको शरीर स्वस्थ छ हृदय उदार छ र मन पवित्र छ यथार्थमा धनवान उही हो । स्वस्थ शरीर चांदी भन्दा कीमती छ । उदार हृदय सुनभन्दा बढी मूल्यवान छ र पवित्र मनको मूल्य रत्नहरुभन्दा कैयौं गुना बढी छ ।
लार्ड कलिंगवुडले भन्थे, अरुलाई धनमाथि मर्न देउ । म बिना पैसँकँे अमीर छं । किनकि मैले जे कमाउंछु राम्रो कामले कमाउंछु । सिसरोले भनेका छन्, मसंग ईमानदारीसाथ कमाएका थोरै पैसा छन् तर तिनीले मलाई करोढपतिभन्दा बढी आनन्द दिन्छन् ।
दधिची, वशिष्ठ, व्यास, वाल्मिीकि, तुलसीदास, सूरदास, रामदास, कबीर आदि बिना पैसाका अमीरहरु हुन् । उनीहरुलाई थाहा थियो कि मानिसको सबै आवश्यक भोजन मुखबाट मात्र प्रवेश गर्दैन, आनन्द दिने सबै वस्तु पैसाले किन्न सकिंदैन ।
ईश्वरले जीवनरुपी पुस्तकको प्रत्येक पृष्ठमा अमूल्य रहस्यलाई अंकित गरिराखेको छ । यदि हामीले चाहन्छौ. भने त्यो चिनेर जीवनलाई प्रकाशपूर्ण बनाउन सक्छौं । एक विशाल हृदयको उच्च आत्मा भएको मानिस कुटियामा पनि रत्नको जगमगाहट बनाउन सक्छ । जो सदाचारी छ र परोपकारमा प्रवृत्त छ, उ यस लोकमा धनी छ र परलोकमा पनि धनी छ । भलै उसको पासमा द्रव्यको अभाव होस् । यदि तपाईं विनयशील प्रेमी निस्वार्थ र पवित्र हुनु हुन्छ भने विश्वास गर्नु होस् कि तपाईं अनन्त धनका स्वामी हुनुहुन्छ । जो संग पैसा छैन उसलाई गरीब भनिन्छ तर जो संग केवल पैसा छ उ त्यसभन्दा पनि कंगाल छ । के तपाईंले सदुबुद्धि र सद्गुणहरुलाई धन मान्नु हुन्न ? अष्टावक्र आठ ठाउंमा बांगा थिए र गरीब थिए । तर जुन दिन जनकको सभामा गएर आफ्नो गुणको परिचय दिए राजा उनको शिष्य हुन बाध् भए । द्रोणाचार्य जुन दिन धृतराष्टको दरबारमा पुगेका थिए उनको शरीरमा कपडा पनि थिएनन् । तर उनका गुणहरुले उनीलाई राजकुमारका गुरुको सम्मानपूर्ण पद प्रदान गर्यो ।
महात्मा डायोजनीजका अगाडि गएर विश्वविजयी सिकन्दरले निवेदन गर्यो, महात्मन तपाईंलाई के दिउं ?
उनले भने मेरो घाम नछेक र अर्कातिर उभिउ । त्यो कुरा मसंग नखोस, जो तिमीले मलाई दिन सक्दैन ।
अनि सिकन्दरले भन्यो, यदि म सिकन्दर हुंदैनथें भने डायोजनीज हुन रुचाउंथें ।
गुरु गोविन्दसिंह, वीर हकीकतराय, छत्रपति शिवाजी, राणा प्रताप आदिले धनकालागि आफ्नो जीवन उत्सर्ग गरेका थिएनन् ।
माननीय गोखलेले एक पटक एएटा सम्पन्न मानिसलाई सोधे, तपाईं यत्रो राजनीतिज्ञ हुंदाहुंदै पनि गरीबीको जीवन किन बिताउनु हुन्छ ?
उनले उत्तर दिए, मेरालागि यो नै प्रशस्त छ । पैसा जोड्नकालागि जीवन जस्तो महत्वपूर्ण वस्तुका अधिक भाग नष्ट गर्नुमा मलाई कुनै बुद्धिमत्ता लाग्दैन ।
तत्वज्ञहरुको भनाई छ, ए, ऐशवर्यको इच्छा गर्नेहरु हो, आफ्ना तुच्छ स्वार्थहरुलाई सडेगलेको पुरानो जामाजस्तै फुकालिदेउ । प्रेम र पवित्रताका नवीन परिधान ग्रहण गर । रुन, कल्लाउन, आत्तिन र निराश हुन छोड । विपुल सम्पदा तिमी भित्र छ ।
धनवान बन्न चाहन्छौ भने उसको सांचो बाहिर होइन भित्र खोज । धन अर्थोक केही होइन सद्गुणहरुको सानो प्रदर्शन मात्र हो । लोभ, क्रोध, घृणा, द्वेष छल र इन्द्रिय लिप्सा त्याग । प्रेम पवित्रता सज्जनता नम्रता दयालुता धैर्य र प्रसन्नतालाई आफ्नो मनमा भर अनि दरिद्रता तिम्रो ढोकाबाट पलायन हुन्छ । निर्बलता र दीनताको दर्शन हुने छैन । भित्रबाट एक यस्तो अगम्य र सर्वविजयी शक्तिको आविर्भाव हुने छ जिसका विशाल वैभव टाढासम्म जाने छ ।
पं. श्रीराम आचार्यको पुस्तक धनका सदुपयोगको नेपाली रुपान्तर
Loading...
Share on Google Plus