.

खुल्लामञ्चमा देखियो कुलमान घिसिङको समर्थनमा अनौंठो दृश्य

काठमाडौं–सधैं राजनीतिक पार्टीको जुलुस र सभासम्मेलन हुने गरेको राजधानीको खुल्लामञ्चमा शनिवार अल्ली फरक खालको कार्यक्रम भयो । कार्यक्रमका मुख्य पात्र ब्यानरमा मात्र थिए– कार्यक्रमस्थलमा थिएनन् ।
कार्यक्रमको केन्द्रबिन्दु रहेका ती मुख्य पात्र कुनै राजनीतिक दलका नेता तथा कार्यकर्ता होइनन् ।
उनी थिए– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । उनका समर्थक र सर्वसाधारणले बिना लोडसेडिङ बिजुली बाल्न पाएको खुसीयालीमा जुलुस निकालेका थिए ।
समर्थक र सर्वसाधारण भृकुटीमण्डपमा भेला भएर र्यालीसहित खुल्लामञ्चमा पुगेर सभामा परिणत भएका थिए ।
खुल्लामञ्चको भित्तामा समर्थकले ‘समृद्ध नेपालका निम्ति सक्षम नेतृत्वलाई समर्थन गरौँ’, ‘कुशल ब्यक्तिलाई सबै मिली प्रोत्साहन गरौँ भन्नेलगायतका नारा लेखिएको घिसिङको तस्विर सहितको ब्यानर राखेका थिए ।
बर्षौदेखि लोडसेडिङ्को मार खेप्दै आएका जनता स्वतस्फूर्त रुपमा खुल्लामञ्चमा आएर घिसिङलाई विद्युत प्राधिकरणको नेतृत्वबाट बाट हटाउन खोज्ने बिरुद्ध पनि नाराबाजी गरे ।
काठमाडौंका विभिन्न ठाँउबाट आएका सहभागीहरुले “जुनसकै सरकार आउ, कुलमानलाई नहटाउ” भन्ने नारा लगाएका थिए ।
कुलमान घिसिङको समर्थनमा भएको यो कार्यक्रमको व्यवस्थापन विवेकशील नेपाली समूहले गरेको थियो भने उज्यालो नेपाल अभियानले कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा सहभागीहरुले भष्ट्राचारी र लोडसेडिङ् गर्नेबिरुद्ध सघर्ष गरौँ भन्दै नाराबाजी मात्रै गरेनन् मनोरञ्जनात्मक तथा सन्देशमुलक गीत पनि गाए ।
कर्मचारीमाथि सर्वसाधारको अचम्मको भरोसा
सरकारी निकायका कर्मचारीप्रति सर्वसाधारणको धारणा बुझ्ने हो भने सकारात्मक प्रतिक्रिया पाउन मुस्किल हुने गर्छ ।
तर सरकारी कर्मचारीले थोरै मात्र पनि सुधारका काम गर्ने हो भने सर्वसाधरणमा कुन रुपमा सकारात्मक प्रभाव पर्छ भन्ने कुरा कुलमान घिसिङको समर्थनमा खुल्लामञ्चमा शनिवार भेला भएको सर्वसाधारणको समूह एउटा उदाहरण हो ।
गत भदौ २९ गते मन्त्रीपरिषदको बैठकले नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघिका प्रवन्ध निर्देशक मुकेश काफ्लेलाई राजीनामा गर्न लगाएर चिलिमे हाइड्रोपावरका प्रवन्ध निर्देशक रहेका घिसिङलाई प्राधिकरणमा ल्याइएको थियो ।
प्राधिकरणमा नेतृत्व सम्हाले लगतै घिसिङले गएको तिहारदेखि लोडसेडिङ हटाउने कार्यको प्रयास गरेका थिए ।
तिहारदेखि लोडसेडिङ हटाउने प्रयास थालिएयता राजधानीबासीले लोडसेडिङको अनुभव गर्नुपरेको छैन । गएका बर्ष यतिबेला दैनिक औसतमा १२ घन्टासम्म लोडसेडिङ हुने गरेको थियो ।
source:ratopati.com/news/101116/
Loading...
Share on Google Plus