.

‘मेरा सेल अमेरिका,जर्मनी र बेलायतसम्म पुग्छन्’

कठमाण्डौ । घरमा सेल बनाएर बेच्ने पनि कुनै व्यवसाय हुन्छ ? यस्तो काम गर्दा अरुले के भन्लान् ? यस्ता अनेक प्रश्न चिन्नेजान्ने, इष्टमित्रले गर्थे उनलाई । तर केही गरेर खान संकोच मान्नु हुँदैन भन्नेमा अडिग पञ्चकुमारीले आफ्नो धुन छाडिनन् । सेल बनाउँदै बेचेर आफ्नो सीपको स्वाद धेरैलाई चखाइन् । उनको परिकारका पारखी अचेल अनगिन्ती छन् । सेल रोटी बेचेर उनको जीवनमा परिवर्तन आएको छ । आर्थिक रुपमा आत्मनिर्भर बनेकी छन् । लामो समयदेखि स्वादिष्ट सेल बनाउने उनी अचेल ‘सेल दिदी’ भनेर चिनिन थालेकी छन् । दुःख सुख झेल्दै यो लोकप्रियताको अवस्थासम्म आइपुग्दा कस्तो छ त उनको अनुभव ? सरल पत्रिकालाई ‘सेल दिदी’ले विस्तारमा आफ्ना दुःख सुख यसरी सुनाइन्– मैले सेलरोटी पकाउन सुरु गर्दा धेरैले यो व्यवसायलाई सानो भनेर हेप्थे ।

मलाई थाहा थियो काम कुनै ठूलो सानो हुँदैन । मेरो परिवारले भन्दा पनि अरु इष्टमित्रहरुले बारम्बार भन्थे ‘यो पञ्कुमारीको के ताल हो कतै घरमा सेल बनाएर बेच्ने पनि व्यवसाय हुन्छ ?’ तर आज म धेरै खुशी छु । सानो ठाउँबाट शुरु गरेको यो व्यवसायले मैले धेरैको पेट पाल्न सकेकी छु । अहिले मेरै साथीहरु मकहाँ सेल किन्न आउँछन् । उनीहरु अहिले मेरो काम देखेर मनमनै भुतभुतिन्छन् । खोटाङमा जन्मेकी म । खासै पढाईतिर त्यति ध्यान दिन सकिन । सानैदेखि केही न केही गर्ने उत्साह थियो । ठूलो मान्छे बनेर धेरै पैसा कमाउने र सुखको जिन्दगी जिउने सपना धेरैको हुन्छ । तर सानै कामबाट सुखी पनि बनेकी छु, खुशी पनि छु ।

अरुबेला भन्दा पनि चाडपर्वको बेला आमाले सेल पकाउँदा आमासँगै बसेर हेरिरहन्थें र मनमनै सोच्ने गर्थें कसरी बनाउने होला यस्तो गोलो सेलरोटी । साँच्चै भन्ने हो भने, मैले सेल पकाउन जानेकी आमाले पकाएको हेरेर नै हो । प्राय चाडपर्वमा आमाले सेलरोटी बनाउँदा म उहाँसँगै हुन्थें । मैले सेलरोटी बनाउने व्यापार दश वर्ष अघि थालेकी हुँ,२०६३ सालमा । दिनभर घरमा यत्तिकै बस्नुभन्दा केही गरुँ भनेर यो व्यवसाय शुरु गरेकी हुँ । व्यापार यति धेरै चल्ला भनेर सोचेकी पनि थिइँन । एकपटक आफैंलाई खान भनेर एक्लै बसेर सेल बनाउँदै थिएँ, मनमा अचानक के आयो के । मैले सोचें यही सेलरोटीलाई बजारमा बेच्न सकियो भने कति राम्रो होला ।

पैसा पनि कमाइने र मान्छेहरुलाई घरमा सेल बनाउने झन्झट पनि नहुने र मन लागेको बेला सेल खान पनि पाइने । सेलरोटी बनाउँदा बनाउँदै अहिले मलाई सबैले सेल दिदी भनेर बोलाउँछन् । मलाई रमाइलो पनि लाग्छ किनभने यही व्यवसायले गर्दा आज मेरो सबै इच्छा आकांक्षा पूरा हुँदैगएको छ । यही व्यवसायबाट काम गर्नेलाई तलब दिन, घरभाडा तिर्न, परिवार पाल्न पुगेको छ । म एक्लैबाट यो सबै सम्भव भएको पनि होइन । एक्लै सबै काम गर्न सक्दिनथें पनि होला । मेरा श्रीमानले एकदमै सहयोग गर्नुभएको छ । उहाँबिना म एक्लैले यो काम शुरु गर्न सक्दिनथिएँ । हामी दुबैले यो व्यवसाय शुरु गरेको भन्दा पनि हुन्छ । उहाँले पिठो बनाउने काममा सहयोग गर्नुहुन्थ्यो र म सेल बनाउँथें । विस्तारै सेलको माग बढ्दै गयो । त्यसैले हामी श्रीमान श्रीमतीले मात्र यो काम गर्न नभ्याउने भयौं । केही स्टाफहरु काम गर्न राख्ने निधो ग¥यौं । तर भन्नेबित्तिकै कहाँ भनेजस्तो मान्छे पाइन्छ र । अरु बेलाभन्दा पनि चाडपर्वको बेला त सेलरोटीको डिमाण्ड धेरै आउने गथ्र्याे ।

 सबैलाई पुर्याउनै पर्यो । पहिला पहिला आफ्नो चिनजानका मानिसहरुलाई मात्र सेलरोटी दिइन्थ्यो तर विस्तारै विस्तारै यसको बजार बढ्दै गयो अनि हामीले तीनजना स्टाफ राख्नैपर्ने भयो अनी राख्यौं । बिहान ९ बजे देखि बेलुकी ५ बजेसम्म सेलरोटी पकाइन्छ । चाडपर्वको बेलामा भने रातिअबेरसम्म पनि पकाउनुपर्ने हुन्छ । नेपालभरि हाम्रो व्यवसाय चलेको छ । राजधानीभित्र मात्र नभएर बाहिरका जिल्लामा पनि हामीले बनाएको सेलरोटीको डिमाण्ड छ । अझ अहिले त बिदेशबाट पनि यसको डिमाण्ड आउन थालेको छ । बिदेश बसेर यता आएका मानिसहरुले फर्किँदा कोसेली लैजाने भनेर सेल किन्न आउने गर्छन् । अमेरिका, जर्मन, बेलायत, भारत लगायत देशका मान्छेहरु सेलरोटी किन्न आउन थालेका छन् । दिनमा तीनहजार जतिको आम्दानी हुन्छ । बढी आम्दानी हुने भनेको चाडपर्वमा हो । त्यो पनि मुख्य गरेर दशैं तिहारको बेला ।

दशैं तिहारमा त रोटी पकाएर मागेजति दिनै सकिन्न । यति धेरै अर्डर हुन्छ कि कतिलाई त दिनै सकिंदैन ! सेलरोटी बेचेर पैसा त कमाइन्छ तर पैसा उठाउन चाहिँ अलि गाह्रो हुन्छ । पैसा लिन धेरै धाउनुपर्छ । मुख्य गरेर हामीले राजधानीका पसलहरुमा र डिपार्टमेन्टल स्टोरमा धेरै सेलरोटी दिने गरेका छौं । सेलरोटीको मूल्य प्रतिगोटा २० रुपैयाँ छ । अहिले सेलरोटीसँगै निमकी, फुरनदाना र अनारसा पनि बनाउँछौं । तर धेरै डिमाण्ड त सेलरोटी कै हो । मैले सेल पकाउन शुरु गर्दा जे सोचेकी थिएँ अहिले यो १० वर्षमा त अर्कै पो भयो ।

 व्यवसाय शुरु गर्दा त्यस्तै १५–२० हजार जति खर्च भएको थियो होला । अहिले त्यो खर्च उठिसक्यो । चाडपर्वका बेला त भ्याउनै मुस्किल हुन्छ, अरु बेला भने दिनमा ४ सय जति पकाइन्छ । पैसाले त कसलाई पो पुगेको छ र, तै पनि यो काम गरेर कमाएको पैसाले सन्तुष्टि भने मिलेको छ । फिल्म हेरेर अझ आजकल त मोवाइल फोनमा मेसेज लेखेर दिन बिताउँछन रे,त्यस्तो भन्दा त यही सेल पकाएर बेच्दा पनि मलाई त आनन्द भएको छ ।आफ्नो पेट पनि पालिने अरुको सेल खाने इच्छा पनि पूरा हुने !
Loading...
Share on Google Plus