श्रीहजुर म तिम्रै हुँ, अरुसँग बिहे गर्न सक्दिन ः स्वेता खड्का(मन थामेर भिडियो हेर्नुस्)

Loading...
मलाई मेरो जिन्दगीले केवल ३० दिनको मात्र साथ दिएर भगवानको प्यारो होला भनेर सपनामा पनि चिताएकी थिइनँ। मलाई मेरो जिन्दगीले किन यति धेरै कठोर परीक्षा लिएको होला ? यदि साँच्चै भगवान छ भने, मलाई भगवानसँग यही कुरा सोध्न मन लागेको छ–किन यति धेरै मलाई दुःख दिएको भनेर! मैले के नै विराएको थिए र ? यति धेरै भगवान मसंग किन क्रुर बनेको होला ? मलाई यसको जवाफ चाहिएको छ। भर्खरै मात्र हाम्रो घरजम हुन लागेको बेलामा मलाई मेरो श्रीमानसँग राम्ररी दुई दिन पनि बस्ने मौका नदिइकन रातारात मैले मेरो हजुरलाई अस्पताल लानु प¥यो ।
त्यो पनि नेपालबाट धेरै टाढा भारतको नयाँदिल्ली स्थित गंगाराम अस्पतालमा । विवाह भएको तेश्रो दिन नै हामी काठमाडौबाट दिल्ली गएका थियौ। नेपालमा भने विवाहको तेश्रो दिन श्री र स्वेता हनिमूनका लागि भारतको कश्मिर गएको खवर फैलिएको थियो । हामी हनिमूनका लागि कश्मिर गएका थिएनौ। मिडिया र श्रीहजुरका लाखौ–करोडौ शुभचिन्तकहरुलाई पीडा नहोस् भनेर त्यसप्रकारको समाचार प्रवाह गरेर हामी चुपचाप गंगाराम अस्पतालमा उपचार्थ पुगेका थियौ ।
अस्पतालमा पनि त्यहाँ हामीले बास्तविक परिचय लुकाएर बसेका थियौ । त्यसरी नगरिएमा श्रीहजुरको लाखौ–करोडौ शुभचिन्तकहरुको दिल्लीको अस्पतालमा नै भीड लाग्ने संभावित अवस्थाले नै हामीले त्यसो गर्नुपरेको थियो। यसो गर्नु र गराउनुमा मेरो कुनै ट्रीक थिएन । यो सवै श्रीहजुरकै चाहनामा भएको थियो । उहाँ कहिले पनि आफ्नो पीडाले शुभचिन्तकहरुमा थप पीडा दिन नचाहने प्रवृतिले नै उहाँले भनेजस्तै हामीले गरेका थियौ ।
यतिसम्म कि उपचारको क्रममा गंगाराम अस्पतालमा श्रीहजुरको नाम र मेरो नाम नै एबीसी कुनै नाम लेखाएका थियौ। नेपाली फिल्मको प्रसिद्ध कलाकारको रुपमा हामीले श्रीहजुरलाई त्यहाँ चिनाउने काम समेत गरिनौ । शायद त्यहाँका डाक्टरहरुलाई मात्र भएपति श्रीहजुरको बास्तविक परिचय दिन पाएको भए, राम्रो उपचार हुनेथियो कि भन्ने कुराले मलाई अझैपनि थकथक लाग्ने गरेको छ।
उपचारको क्रममा गंगाराम अस्पताल बस्दा पनि अस्पतालको नाम पनि अन्तिम समयसम्म पनि हामीले सही भनेका थिएनौ । अपोलो अस्पताल भनेर जानकारी दिने कार्य भएको थियो। दिल्लीमा रहेका कतिपय नेपालीले श्रीहजुर अपोलो अस्पतालमा उपचार्थ रहेको खवर पाएपछि त्यहाँको अपोलो अस्पतालमा पुगेको हामीले थाहा पाएका थियौ । श्रीहजुर आफ्नो अगाडि आफूलाई धेरै माया गर्ने कोही रोएको हेर्न पनि सक्दैनथिए ।
यसकारण पनि यो सवै बास्तविकतामा हामीले नाटक गर्न बाँध्य बनेका थियौ । उपचारको २८ दिनसम्म पनि श्रीहजुरलाई सघन उपचार कक्ष आइसियुमा राखिएको थियो । म हरेक दिन अस्पतालकै प्रांगणमा रहेको शिव मन्दिरमा गएर श्री हजुरको शिघ्र–स्वास्थ्य लाभको लागि प्रार्थना गर्न जान्थे। अस्पतालमा श्रीहजुर छटपटिएको पलहरुमा मलाई यति धेरै पीडा हुन्थ्यो कि–उहाँ हजुरको सवै पीडा भगवानले मलाई नै सारिदिएको भए, म हाँसी–हाँसी ग्रहण गरिदिन्थे । त्यो भाग्य पनि मलाई भगवानले दिएन ।
म हरेक पल्ट उहाँलाई राखेको आइसियु वार्डमा जाँदा औषधि खुवाउने समयमा केवल १० मिनेट मात्र बस्न दिइन्थ्यो। त्यो बेलामा उहाँलाई कतिखेर कुन औषधि कति मात्रामा खुवाउनु पर्ने हो ? त्यो सवै मलाई कण्ठ भैसकेको थियो । बेला–बेलामा मलाई हेरेर भक्कानिएर रुनु हुन्थ्यो । म उहाँको आँसु पुछ्दा पुछ्दै म आफूपनि भक्कानिएर रुन्थ्ये । त्यो बेलामा हामीलाई सम्हाल्न निक्कै गाह्रो हुन्थ्यो। यसले गर्दापनि त्यहाँका डाक्टरहरुले मलाई धेरै बेर उहाँको सामुन्ने बस्न दिदैन्थ्यो । त्यो बेलामा मलाई यति धेरै पीडा हुन्थ्यो । म सक्तिनँ–त्यो पल तथा क्षणहरुलाई विर्सन । मेरो लागि प्रत्येक सेकेण्ड, मिनेट तथा घण्टा अत्यन्त पीडा लाग्थ्यो ।
कैयौं समय मैले एकथोपा पानी पनि मुखमा नराखिकन उहाँको लागि त्यहाँ ब्रत बसेमा निको हुन्छ भनेकोले ब्रत पनि बसे। मेरो कठोर पुकारामा भगवान कहिले दाहिने बनेन । २८ दिनको अस्पतालको बसाईमा भगवान कठोर मात्र बनिदिए । अन्ततः मलाई मेरो भगवानले २८ औ दिनको दिन अर्थात वि.सं. २०७१ सालको साउन २४ गते सदाको लागि मलाई छाडे्र जानुभयो । मलाई एक्लो बनाएर उहाँ एक्लै भगवानको प्यारो बनेर चुपचाप जानुभयो। जानेबेलामा मलाई जान्छु भनेर पनि जानु भएन। यदि मसंग त्यति मात्र भनेको भएपनि मपनि हजुरसँगै जान्छु भनेर भन्थ्येहोला। त्यति भन्ने मौका पनि मलाई नदिइकन उहाँ जानुभयो–त्यो अनन्त यात्रामा। कहिले पनि नफर्कने गरेर।
उहाँको कठोर मृत्युको अगाडि म अचेत नै भए। मलाई होश नै भएन । नेपालमा उहाँको शवयात्राको बेलामा मेरो अवस्था कस्तो थियो भन्ने कुरा मलाई केही थाहा नै थिएन । कुनैपनि कुराको मलाई होशै थिएन। घरीघरी म उहाँकै संझनामा बेहोश बनिरहे। उहाँ नहुनुको ४ महिना त म बेडमा नै परे । मलाई सन्चो नै भएन । डीप कमजोरीले गर्दा मेरो ब्याँक साइडमा निरन्तर पेन भैरहन्थ्यो । म एकप्रकारले डिप्रेसनको शिकार बनिसकेकी थिए । डिप्रेसनले मलाई पटकै निन्द्रा लाग्दैन्थ्यो ।
२४ घण्टामा मुश्किलले २४ मिनेट पनि मलाई निन्द्रा लाग्दैन्थ्यो । पेटमा औडाहा भएजस्तो हुन्थ्यो। ग्यास्ट्रिक भएजस्तो फुलेर हैरान बन्थ्ये । मलाई यति शारीरिक पीडा हुन्थ्यो । त्यसको बयान गरेर साध्य छैन्। म हरदम उहाँकै संझनामा हरदिन हररात रोएर विताउंथै । सपनामा पनि उहाँ मेरो सामुन्ने त्यति आउनु भएन । शायद मेरो आँखामा आँसु देख्न नसकेर नै उहाँ मेरो सपनामा नआउनु भएको होला ! मलाई थाहा छ–उहाँले मलाई ६ बर्ष लामो चिनाजानी र दुई बर्षदेखिको रिलेसनसीपमा कहिले पनि रुवाउनु भएको छैन् । बरु, पीडामा उहाँ आफै रुनुहुन्थ्यो र मलाई उहाँले आफ्नो पीडा लुकाउनु हुन्थ्यो । त्यसैले पनि शायद उहाँ मेरो सपनामा त्यति धेरै नआउनु भएको होला ।
उहाँ वित्नुभएको पाँच महिनामा उपचारको लागि पहिलो पल्ट अस्ट्रेलिया गए। त्यहाँ तीन हप्ता बसेर उपचार गरे। खासै निदान भएन। पछि उहाँ र मेरो नृत्यको गुरु बसन्त श्रेष्ठले कर गरेरै अमेरिकामा चलचित्र कोहिनूर रिलिज गर्ने बहानामा मलाई उपचार गर्न लानुभयो । अमेरिकामा मलाई उहाँको फेमिली डाक्टर देखि त्यहाँका प्रख्यात साइक्राटिक्सहरुबाट उपचार गराउनु भयो । तीन महिना बसन्त सरको अगुवाईमा अमेरिकामा उपचार गर्न बस्दा मैले मेरो हराएको खुशी फर्काउने प्रयास गर्न थाले। त्यहाँका डाक्टरहरुले दिएको औषधि मुख बारेर खान थाले। डाक्टरहरुको नियमित काउन्सिलले मैले आफूलाई विस्तारै सम्हाल्न जाने । २४ घण्टामा तीन–चार घण्टा भएपनि निदाउन थाले।
अमेरिकामा उपचारको क्रममा बस्दा नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ चलचित्र कोहिनूरको रिलिज पनि भयो । निक्कै राम्रो रेस्पोन्स पाए। अमेरिका बसुन्जेल त्यहाँ रहेका नेपाली कलाकारले दिएको निरन्तर साथ र सहयोगलाई पनि म विर्सन्न सक्तिन । त्यहाँ मेरो आदरणिय गुरुबा बसन्त श्रेष्ठ गुरुआमा लक्ष्मी श्रेष्ठ र उहाँहरुको फेमिलीको सपोर्ट र साथले मैले नयाँ जिन्दगी पाएको अनुभव गरे। अलिकति भएपनि हाँस्न सिके। अमेरिकामा तीन महिना बसेर पूर्ण नभएपनि निको भएर फर्के।
म अमेरिकामा नै भएको बेलामा नेपालमा विनाशकारी महाभूकम्प गएपछि हजारौ–हजारको ज्यान लिएकोमा असाध्यै रोएकी थिए । लाखौको घरबार गएकोमा मलाई थप पीडा दियो । विनाशकारी महाभूकम्पले दिएको पीडाको अगाडि मेरो पीडा त सानो लाग्यो । जसोतसो यसरी नै मैले मेरो मनलाई बुझाएँ। विस्तारै यतिखेर उहाँका विजनेशहरुलाई सम्हाल्ने कोशिश गर्दैछु । पहिला उहाँसँग विजनेश मिटिङ्गमा जाँदा मेरो नाम अगाडि सुश्री स्वेता खड्का नेमट्याँग लागिन्थ्यो । हाल ती विजनेश मिटिङ्गहरुमा श्रीमती स्वेता खड्का श्रेष्ठ भनेर नेमट्याँग लाग्न थालिसक्यो ।
यसहिसावले मैले आफूलाई अभागी संझेकी छैन् । म उहाँकै श्रीमती भनेर चिनिएकी छु । उहाँकै सिन्दूरको लाज भएर बाँचुन्जेल बस्ने मैले सोच राखेकी छु । उहाँले जानेबेलामा रोएर अस्पतालमा मिनकृष्ण दाइलाई मलाई बहिनी बनाएर राख्नु भन्दा मैले प्रतिवाद गरेकी थिए । म किन बहिनी भएर बस्ने ? म हजुरकै श्रीमती भएर जीवनभर बस्नेछु भनेर रोएकी थिए । त्यो बेलामा उहाँ पनि रुनुभएको थियो। यसले गर्दा कतिले अव स्वेताले फेरि विवाह गर्छ या गर्दैन भन्ने धेरैमा खुल्दुली लागेको हुनुपर्दछ। म सवैलाई क्लियर गर्न चाहन्छु–म मेरो श्रीहजुरको बाहेक अरु कसैको पनि हुन सक्तिन। बाँचुन्जेल मैले अर्को विहे गर्दिन । यो मेरो कसम हो। मेरो श्रीहजुरप्रतिको मेरो समर्पण र श्रद्धान्जली हो।
(श्याम स्मृतव्दारा लिखित अमर नायकको संझना पुस्तकवाट साभार )
Loading...
Share on Google Plus