श्रीमानको शव कुरेर बसेकी कमलाको रहस्यमय मृत्यु

Loading...
रोल्पा : डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमानको लासको पर्खाइमा रहेकी रोल्पा, लिवाङ–९ गुरुङ गाउँकी एक महिला श्रीमानको लास हेर्न नपाउँदै मृत्युवरण गर्न पुगेकी छिन्।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान खुमबहादुर गुरुङको मृत्युपश्चात् तनावमा रहेकी कमला गुरुङको सोमबार दिउँसो २ बजे आफ्नै घरमा रहस्यमय तरिकाले मृत्यु भएको हो।

दिउँसो दाँत माझ्दै गरेकी बुहारी एक्कासि बेहोस भई लडेको देखेर मृतककी सासूले छिमेकीलाई खबर गरेकी थिइन् । बेहोस भई लडेकी गुरुङको निधन भएको छिमेकीले बताएका छन् ।

मृत्यु भएको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय, रोल्पाको एक टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने घर्तीले बताए।

प्रारम्भिक चरणको शवपरीक्षणपछि मंगलबार लास आफन्तलाई बुझाइसकेको तथा घटनाको थप अनुसन्धानसमेत भइरहेको घर्तीले जानकारी दिए।

साउदी अरबमा एक कम्पनीमा काम गर्ने मृतक कमलाका श्रीमानलाई कम्पनीकै गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो। उनको मृत्यु भएको लामो समय भइसक्दासमेत शव नेपाल नआएको बताइएको छ। रासस
Loading...
Share on Google Plus