.

"अर्घाखाँची महोत्सव २०७३" देखियो र सिकियो - अशोककुमार रेशम (जापान)

अशोक कुमार रेशम 


अर्घाखाँची महोत्सव, २०७३ देखियो र सिकियो भर्खरै अर्घाखाँचीमा महोत्सव सकिएको छ । दिनहुँका समाचार र तश्वीर हेर्दा यसले आयोजकमा अनौठो उर्जा थपेको सहजै अनुमान गर्न सकिन्छ । महोत्सव यस्तो अवसर र चुनौति थियो कि युवाहरूको अग्रसरता, व्यवस्थापन र नेतृत्वक्षमताको परिक्षण पनि बन्यो त्यो । हाम्रा युवाहरू के सफल भएका थिए, सारा जिल्लावासी यतिवेला निकै खुशी र रोमाञ्चित देखिएका छन् । हामी सबैले यो सफलतालाई यसकारण पनि एउटा प्रेरणाका रूपमा लिन वाञ्छनीय हुन गएकोछ कि, महोत्सवको प्रारम्भिक समयमै यसमाथी अप्रत्याशित अप्ठारो आइलागेको थियो । जसरी, यसको भव्य र सभ्य समापन भएको छ । आयोजकहरूको मेहनतले रंग पाएको छ । उनीहरू धन्यवादका पात्र मात्रै बनेका छैनन् अझ निस्सायीएको राजनीति र सपनाको देश बनाउने नेतृत्व पो हुन सक्छन् कि झिनो आशा पनि पलाएको छ । यसो त कुनै पनि कुरा शुरू गर्न जति सजिलो छ, पार लगाउन उत्तिकै कठिन हुन्छ । तैपनि नेतृत्व, क्रान्तिबाट मात्र निस्कन्छ भन्ने भ्रमबाट बाहिर निस्कने वेला आएको छ । यो युग भनेकै क्षमताको परिक्षण गर्दै दमदारले जिम्मेवारी लिदै र निभाउदै जाने हो । हामीले देख्यौ, अबको युगमा नेता बन्न कुनै राजनीतिक पृष्ठभूमि चाहिदैन । घर-परिवार, पसल र व्यवसाय जसरी नै देशलाई प्रेमपूर्वक र कुशल व्यवस्थापन गर्ने नेतृत्व आजको खाँचो हो । अमेरिकाको चुनाव साक्षी छ, अबको राजनीति कुशल व्यवसायीकै हातमा दिनुपर्ने भएको छ । धेरै महत्वकांक्षी भएको त होइन तर नपत्याएकै घटनाक्रमबाट नेतृत्व जन्मने गरेका कैयौं दृष्टान्तहरू हाम्रा सामु छन् । व्यवसायी जगतमा पनि व्यवस्थापनको व्यवहारिक ज्ञान सिक्ने-सिकाउने यो अभियानको आगामी दिनहरूमा पनि पुनरावृति हुँदै जानेछ र यसैगरी आपसी भाइचारा, अपनत्वका साथ आर्थिक विकास गर्न चामत्कारी नेतृत्वको पदार्पण हुने अपेक्षा समेत गर्नुपर्ने हुन्छ । लोकतन्त्र भनेको नै कुनैपनि क्षमतावान व्यक्तिलाई सामुहिक भविष्य निर्माणको जिम्मा आइलाग्न सक्छ भन्ने नै हो । कुनै पार्टी विशेषको इमान्दार कार्यकर्ता हुँदैमा आँखा चिम्लेर समर्थन गर्ने युगको अन्त हुँदै गरेको शंखघोष पनि बन्न पुगेको छ यो महोत्सव । आशा छ, राजनीति पनि एवम् रितले परिवर्तित र परिस्कृत हुँदै जाला । हाम्रो भाग्यको निर्माता हामी आफै हुनुपर्छ भन्ने नेपथ्यको सन्देश दिन सफल यो महोत्सव, २०७३ अर्घाखाँचीको सन्दर्भमा एउटा दुर्लभ ऐतिहासिक क्षण थियो । आफ्ना जिल्लावासी अझ विशेषगरी युवाहरूले गरेको मेहनत र सफलताले अनौठो सुख र आशा दिलाएको छ । यसो त देश विदेश जहाँरहेर पनि अर्घाखाँचीलाई गौरवान्दित पार्ने सबै हातहरू महान छन् । व्यवस्थापनको कौशलता प्रदर्शन गरी नेतृत्वका लागि सलवलाएका स्थानीय नयाँ उर्जाहरूले कसै-कसैलाई तर्सायो पनि होला तर अधिकांश जनमानसमा एउटा फरक आशा जगाएको छ । गजबको शुरुवातका लागि सबै-सबैलाई हार्दिक बधाई । ( Morning shows the day) बिहानीले दिनको संकेत गर्छ भन्छन् । भलै समाजमा आलोचक, समालोचक र घोचक रहन्छन् नै, वास्तवमा निकै आशा पलाएको छ । व्यक्तिगतरूपमा असफल व्यक्तिलाई अब नेतृत्व जानै सक्दैन । न त हामीहरूजस्ता प्राज्ञिक वा वौद्दिक जमातबाट नै विकास व्यवस्थापनको जोखिम र प्रयोग संभव छ । हामी सबैले आ-आफ्नो स्थानबाट आफैलाई मूल्याङ्कन गर्नु परेको छ । आ-आफ्नो काम आ-आफ्नो स्थानबाट गर्दै जानुपर्ने भएको छ, त्यो पनि पुरा इमान्दारीताका साथ । आफैप्रति इमान्दार भएर नै हाम्रा प्रिय सन्तानका लागि संसार रच्न सकिन्छ । विकास निर्माणका सन्दर्भमा निकै ढिला भैरहेको छ । समय दौडिरहेको छ । यसकारण पनि अब समाजमा रहेका नवोदित सफल व्यवसायीहरूले नै समूहगत रूपमा सोच्नुपर्ने वेला आएको छ । यथासंभव रोजगारी निर्माण गर्न सक्ने युवा व्यवसायी समयको माग बनेको छ । अन्तमा, यो महोत्सवले धेरै हदसम्म हाम्रो पहिचान र क्षमतालाई मुखरित गरेको छ र यसैगरी हाम्रा स्थानीय तहमा रहेका हाम्रा सम्पदाहरूको प्रचार-प्रसार पनि हुन पुगेको छ । हामीहरू सबैले विकासको पुनित अभियानमा विना कुनै पूर्वाग्रह हामी विचकै सक्षम र उर्जाशील सफल युवा व्यवसायीलाई अगाडि सारेर इतिहास निर्माणमा इटा थप्नु नै यस महोत्सवको सिकाई हुन पुगेको छ । आपसमा खटपट धेरै भैसक्यो, अनुकूल मौसम छ, अवसरले ढोका ढक्ढकाइरहेका वखत आपसी भातृत्वको विकास गरौं । आचरणयुक्त समाज निर्माणमा सहभागी बनौं । मौंकामा हिरा फोरौं । 
अशोककुमार रेशम सन्धिखर्क 
न.पा. -१३, अर्घा (हाल) क्यूसु युनिभर्सिटि, जापान

Loading...
Share on Google Plus