डा. समीर, जसले आफ्नै रगत निकालेर रातको दुई बजे सुत्केरीको अपरेसन गरे -

काठमाडौं । गत कात्तिक ३० गते जिल्ला अस्पताल प्यूठानमा कार्यरत डा. समीर लामाले सामाजिक सञ्जाल ट्विटरमा एउटा सन्देश लेखे — जीवन बचाउने उत्कट इच्छाले मानिसलाई अलौकिक शक्ति दिने रहेछ । आफैंले एक पिन्ट रगत दिएर दुई घण्टा अपरेसन गरियो । रातको २ः१० बजे भएको थियो अपरेसन ।
उनले आफू ‘हिरोइक फिगर’ बनौं या ‘मिडिया स्टन्ट’ गरौं भनेर यस्तो काम भने गरेका हैनन् । मान्छेहरूलाई यस्तै समस्या परिरहोस्, आफू चाहिँ सानातिना सहयोग गर्न पाइरहूँ भन्ने चाहना पनि उनलाई छैन ।
‘रगत दान गरेको मान्छे त आनन्दले सुत्न चाहन्छ,’ उनले भने, ‘त्यो चाहिँ मैले बाध्यताले गरेको हुँ, हेरेर बस्न मनले मान्दैन ।’ उनले सो मध्यरातमा एक सुत्केरी महिलाको दोस्रो अपरेसन गरेका थिए ।
बी पोजेटिभ रगतको आवश्यकता परेकी ती महिलाका आफन्तहरू आउन ढिला भएपछि उनले आफैंले रगत दिएर अपरेसन शुरु गरेका थिए । बच्चा जन्माउँदा गरिएको पहिलो अपरेसनपछि उनमा शरीरभित्रै रगत बग्ने समस्या बल्झिएर उनी अस्पताल आएकी थिइन् ।
˚˚˚
अघिल्लो वर्ष प्यूठानकै विपन्न परिवारकी बालिका सरिता विक प्यूठान जिल्ला अस्पतालमा उपचारका लागि पुगिन् । परीक्षण गर्दा थाहा भयो, उनको छातीमा पीप जमेको रहेछ । सामान्य उपचार प्यूठानमै भयो । तर उपकरणहरूको बन्दोबस्तको अभावमा उनको थप उपचार चाहिँ काठमाडौंमा गर्नुपर्ने भयो ।
सरिता थिइन् अत्यन्तै विपन्न परिवारकी बालिका । काठमाडौं नजाने हो भने उनको २५ हजार खर्च अभावमै ज्यान जाने अवस्था आउने भयो । उनीसँग काठमाडौं पुगेर उपचार गराउने सामान्य खर्च त थिएन नै, उनलाई काठमाडौं पनि परदेश जस्तै थियो ।
यहाँ पनि लामाले नै पहलकदमी लिए । सरिताको ज्यान पनि बचाए । केही दिनअघि घुम्दै सरिताकै गाउँतिर पुगेका रहेछन् सरिताकी आमाले गाउँको मह उपहार नै दिएर पठाइछन् । साह्रै खुशी भइन्, छोरीलाई बचाउने डाक्टर घुम्दै फिर्दै आफ्नो गाउँ आउँदा साक्षात् भगवानै भेटेजस्तो भयो ।
˚˚˚
एमडी जेनरल प्राक्टिस डाक्टर हुन् चितवन भरतपुरका समीर लामा । डेढ वर्षअघि निक साइमन्स इन्स्टिच्युट नामक संस्थासँग आबद्ध रहँदै उनी पहाडी जिल्ला प्यूठानमा पुगेर बिरामीहरू उपचार गरिरहेका छन् ।
धरानमा एमबिबिएस पढेपछि केही वर्ष विभिन्न जिल्लाहरूमा लामाले डाक्टरको रूपमा काम गरिसकेका थिए । यहीबीचमा निक साइमन्सले एमडी पढ्नेको लागि स्पोन्सर ग–यो, त्यसपछि चाहिँ उनी प्यूठानमा कार्यरत छन् ।
निक साइमन्सले राम्रै तलब दिएको छ ।
अरू सामान्य डाक्टरहरूले जस्तै गरेर ‘जागिरे’ जीवन उनले पनि बिताउन सक्थे । तर त्यसो चाहिँ गरेनन् । आफूसँग उपचार गराउन आउने विपन्नहरूलाई सामान्य खर्चकै अभावमा ज्यान नजाओस् भनेर उनी धेरैसँग हात फैलाउँछन् । बिरामीलाई बचाउँछन् ।
‘क्यान्सर लागेर मर्नु र केही हजार रुपैयाँ खर्च अभाव भएर मर्नु फरक प्रकृतिका बिरामी हुन्,’ डा. लामाले लोकान्तरसँग भने, ‘केही हजारको अभावमा चाहिँ कसैलाई मर्नु नपरोस् भन्ने मेरो चाहना हो ।’
उनले सरिता विकको विषयमा पनि सोही धारणा अनुसार नै काम गरेको बताउँछन् । ‘उनीहरूको काठमाडौंमा पुगेर उपचार गराउने अवस्था नै थिएन,’ उनले भने, ‘तर मेरो पहलमा भएको सहयोगमा उनलाई हामीले बचायौं । ’
उपचारपछि सरितासँग डा. लामा
लामाले सरिताको उपचारमा सघाउन काठमाडौंमै केही स्वयंसेवकहरू पनि खडा गरेका थिए । ती सबै स्वयंसेवक उनले सामाजिक सञ्जाल फेसबूकमा गरेको आह्वानबाट प्रभावित भएर आफैं आएका थिए किनकि लामालाई थाहा छ गाउँबाट उपचार गर्न आउने सामान्य मान्छे काठमाडौंका अस्पतालमै हराउन सक्छ । आफूले पहिले नै काम गरेको त्रिवि शिक्षण अस्पतालमा पनि कुराकानी गरेर सरिताको विषयमा जानकारी गराएका थिए ।
अवस्था हेरेर आफूले जागिरे जीवनसँगै सहयोगको जीवन पनि अघि बढाइरहेको उनी बताउँछन् । आफैंले गरिरहेको काममा अलिकति जोखिम लिँदा कसैको जीवनमा सुखद परिवर्तन हुन्छ भने त्यहाँ धेरथोर मेहनत गर्नुपर्छ भन्ने धारणा छ लामाको । तर आजभोलि भइरहने अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार जस्ता घटनाले केही असहज हुने उनी बताउँछन् । ‘जटिलता भएको बिरामीलाई सकेसम्म विशेषज्ञ डाक्टर र सुविधासम्पन्न ठाउँमा रेफर गरौं भन्ने मेरो चाहना हुन्छ,’ उनी भन्छन्, ‘कहिलेकाहीँ सामान्य अपरेसनपछि उनीहरू बाँच्ने अवस्था हुन्छ, तर जिल्लामा त्यो सम्भव हुँदैन ।’
जिल्लामा औषधी, उपकरणहरू र गतिलो मेडिकल टिमको अभावले सिजेरियन बाहेकका सामान्य प्रकारका अपरेसनहरू पनि गर्न नसकिएको तीतो यथार्थ उनले भोगेका पनि छन् । गरिहाल्यो भने जोखिम मोल्नुपर्छ ।
‘मैले यी सबै कुरा आफ्नो चाहनाले गरिरहेको चाहिँ हैन, बाध्यता आइपरेपछि त्यहाँबाट भाग्न त मिलेन,’ उनी भन्छन्, ‘सरकारले आफ्ना सेवा सुविधाहरू गुणस्तरीय बनाओस् भन्ने मेरो सबैभन्दा ठूलो चाहना छ ।’ सर्वसाधारणलाई महंगा निजी अस्पतालले भन्दा पनि सरकारी अस्पतालले ढाडस दिनुपर्छ ।
लामाले प्यूठान पुगेर यस्तो प्रकृतिका १० जना बिरामीलाई सहयोग गरेको बताउँछन् । ‘मैले टिचिङमै काम गर्दा पनि यस्ता बिरामीहरूलाई सहयोग गर्ने गर्थें,’ उनी भन्छन्, ‘प्यूठानका बिरामीलाई एक हजारदेखि ६७ हजारसम्मको रकम जुटाएको छु ।’ उनी यसरी सहयोग गर्न पाउँदा साह्रै सन्तुष्टि मिल्ने बताउँछन् । तर देशको सारा संयन्त्र पंगु भएकोमा गुनासो भने पोख्छन् ।
देशका सरकारी स्वास्थ्य संस्थाहरू कहिल्यैपनि बिरामीमैत्री नभएको उनको भनाइ छ । अझ नबुझ्ने, विपन्न र ग्रामीण क्षेत्रका बिरामी भएमा त अस्पतालमा झन् ठूलो समस्या हुने बताउँछन् । यसरी निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयन नभएको उनको बुझाइ छ । सामान्य खर्च अभावमा बिरामीहरूको मृत्यु भइरहेको छ, उनको चाहना पूरा भइरहेको छैन ।
उनले यस्तै बिरामीहरू सहयोगका लागि आफ्नै नाममा छुट्टै खाता खालेर कोष निर्माण गरेका छन् । सो खातामा आफूले पनि नियमित रूपमा पैसा राख्छन् । आफ्ना साथीभाइ तथा आफन्तहरूलाई पनि अनुरोध गर्छन् । सामान्य खर्च अभावको कारण कसैले मर्न नपरोस् भन्ने उनको चाहना पूरा भइरहेको छ ।
‘सो खातामा अहिले पनि एक लाख ४२ हजार रुपैयाँ रहेको छ,’ उनी भन्छन्, ‘यो खाता चाहिँ म आफूले व्यक्तिगत तरिकाले नै व्यवस्थापन गर्ने गरेको छु ।’ तर खातामा आउने सहयोग र खर्चको बारेमा आफूले सबैलाई थाहा दिने काम चाहिँ गरेको उनी बताउँछन् ।
उनले एउटा कोषकै नाममा खाता खोल्न खोजेका थिए । तर प्रशासनिक झन्झटको कारणले त्यसो गर्न सकेनन् । आफू जहाँ जहाँ पुगिन्छ, त्यहीँका बिरामीहरूलाई सहयोग गर्नेगरी सो कोषलाई सञ्चालन गरिरहेको उनी बताउँछन् । कोषमात्रै होइन, विभिन्न व्यक्ति तथा संस्थालाई अनुरोध गरेर औषधीहरूको जोहो पनि गर्ने गरेका छन् ।
‘सरकारले ७० थरी औषधी दिन्छु भनेपनि सबै औषधी जिल्लामा उपलब्ध हुँदैन, अझ कतिपय बिरामीलाई तीबाहेकका औषधी चाहिन्छ,’ उनले भने, ‘एउटै औषधीको कारणले बाहिर जान नपरोस् भनेर औषधी संकलनका लागि पनि विभिन्न संस्थाहरूलाई अनुरोध गरिरहेको हुन्छु ।’
उनलाई आफू प्यूठानमा पुगेसँगै अस्पतालको सेवामा केही फरक परेको अनुभव गर्छन् । यस्ता कुराहरू स्वयं बिरामीले पनि सुनाउँछन् । तर एकजना मान्छेको प्रयासले स्वास्थ्य क्षेत्रमा सुधार गर्न नसकिने उनले बताए । उनले स्वास्थ्य सेवालाई सामूहिक पहलबाट मात्रै सुधार्न सकिने अनुभव समेत गरेका छन् । यसका लागि राज्य स्वयंले नै गतिलो सिस्टमको विकास गर्नुपर्ने उनले बताए ।
‘मेरो कन्सर्न चाहिँ यहीँ हो, स्वास्थ्य जस्तो गम्भीर विषयमा एउटा डाक्टरले केही गर्दैमा समस्या समाधान हुँदैन,’ उनले भने, ‘राज्यले बलियो सिस्टम सेटअप गरेको छैन, पोलिटिक्स र पोलिसी लेभलले ध्यान दिनुपर्छ ।’
उनले पाँच वर्षमा ५० जना बिरामीलाई व्यक्तिगत रूपमा सहयोग गरेपनि समस्या चाहिँ निराकरण नहुने बताउँछन् । प्यूठान जस्ता जिल्लाहरूमा सामान्य खर्च र औषधीको अभावले बिरामीहरू जोखिममा पर्नुपरेको उनी बताउँछन् ।
आफूले कस्तो बिरामीलाई सहयोग गर्ने भन्नेमा चाहिँ उनको आफ्नै धारणा छ । कसैको अनुरोध वा सिफारिशको भर परेर दिइएको रकम दुरुपयोग समेत हुनसक्ने डर उनले प्रकट गरे ।
उनले सकेसम्म बिरामी आफैंले भेटेर परीक्षण गर्ने वा कम्तीमा जिल्ला अस्पतालले डायग्नोसिस गरेको बिरामी हुनुपर्ने मान्यता विकास गरेका छन् । ‘कतिपयले थोरै थोरै गरेर उठाएको पैसा लिएर निजी अस्पतालमा उपचार गराउन जान्छन्,’ डा. लामाले भने, ‘त्यसैले कस्ता बिरामीलाई सहयोग गर्ने भन्ने धारणा चाहिँ म आफैंले विकास गरेको छु ।’
भविष्यमा पनि यसैगरी बिरामीहरूलाई सहयोग गर्न चाहिँ उनले छोड्ने छैनन् । तत्कालै विदेश पलायन हुने मन चाहिँ छैन । बरू सरकारी डाक्टरको रूपमा काम गरेर सरकारी क्षेत्रलाई नै सुधार्नको लागि कोशिश गर्ने अपेक्षा गरेका छन् ।
निजी अस्पतालहरू मूलतः नाफामुखी हुने भएकोले सरकारी अस्पतालहरूको सेवा प्रवाहलाई सुधार्नुपर्ने उनी बताउँछन् ।
सरकारी अस्पतालहरूको स्तर र सेवालाई सुधारेर सबै स्तरका बिरामीलाई चित्तबुझ्दो बनाउनुपर्ने उनी बताउँछन् । उनका अनुसार निजी अस्पतालहरूमा पैसा कमाउनकै लागि आवश्यकता नभएका उपचार तथा टेस्टहरू गरिन्छ । यस्ता गतिविधिहरू रोक्नका लागि मेडिकल काउन्सिल र सरकारले नै ध्यान दिनुपर्ने उनले बताए ।
पछिल्ला वर्षहरूमा दुर्गम जिल्लामा पनि एमबिबिएस डाक्टर पुगिसकेले गाउँघरको स्वास्थ्य अवस्था पनि बिस्तारै सुधार भएको बताउँछन् । ‘समाजको विकास हुँदै जाँदा नागरिकको जीवनस्तर पनि बढ्दै जान्छ,’ उनले भने, ‘मान्छेको जीवनस्तर सुध्रिएसँगै कतिपय संक्रमणहरू हराएर जान्छन्, रोग विकासले हटाउँछ ।’ उनका अनुसार जीवनस्तर नसुध्रिने हो भने औषधी मात्रैको सेवनले रोगहरू निको हुँदैनन् ।
‘नेपालमा अहिले क्षयरोगको औषधी निःशुल्क बाँडिएपनि नागरिकको दैनिकी नबदलिएसम्म सो रोकको निराकरण हुँदैन,’ उनले भने, ‘खोक्दा मुख छोप्ने, सरसफाईमा ध्यान दिने कुरा मुख्य विषय हो ।’ त्यसैले स्वस्थ जीवनका लागि जीवनस्तर बदलिनुपर्नेमा उनको जोड छ । लामाले राष्ट्रिय वाणिज्य बैंकमा आफ्नै नाममा ४४३००१६०५०१० नम्बरको खाता खोलेर रकम संकलन गर्ने र बिरामीहरूलाई सहयोग गर्ने गरेको बताउँछन् । स्रोत- लोकान्तरबाट साभार
Loading...
Share on Google Plus