रातो नम्बरबाट फोन आएपछि बेहोस : प्रहरी भन्छ– डराउनु पर्दैन

Loading...
पुस २४। काठमाडौं– बैतडीका लालबहादुर चन्द त्रिभुवन विमानस्थल अगाडिको ‘टिका भोजनालय’ का मेनेजर हुन् । गएको पुस १७ गते साँझ करिब ६ बजेतिर उनको मोवाईलमा अनौठो नम्बरबाट फोन आयो । फोन आएको नम्बर मात्रै रातो थिएन, रिसिभ र रिजेक्ट गर्ने अप्सन पनि रातै थियो ।
उनीसँगै काउन्टरमा रहेकी होटल सञ्चालिका टिका श्रेष्ठ (थिङ) लाई उनले भने, ‘आन्टी हेर्नुस् नँ, मेरो मोवाईलमा रातो नम्बरबाट फोन आयो ।’
होटल सञ्चालिकाले फोन नउठाउन भनिन्, लालबहादुरले पनि फोन रिसिभ गर्ने हिम्मत गरेनन् ।
‘फेसवुकमा रातो नम्बरबाट फोन आउँदा मान्छे मर्ने हल्ला सुनेको हुनाले फोन उठाईंन’ लालबहादुरले भने, ‘निकै डर लाग्यो, मैले मोवाईल फालिदिँए ।’

लालबहादुर चन्द (पहेँलो ज्याकेट लगाउने) टिका श्रेष्ठ, विजय माझी
चन्दले मोवाईल फालेपछि त्यही होटलमा वेटरको रुपमा काम गर्ने सिन्धुपाल्चोकका बिजय माझी आएर सोधे, ‘दाई किन मोवाईल फालेको ?’
बिजय निडर स्वभावका थिए, उनले रातो नम्बरबाट कल आएको ९८०३७८८२०८ नम्बरमा आफ्नो मोवाईलबाट फोन गरेर डिस्टर्व गर्ने प्रयत्न गरे तर फोन लागेन ।
‘फोन नलागेपछि लालबहादुर दाईको मोवाईल अफ गर्न खोजेँ’ विजय भन्छन्, ‘अचानक मलाई रिंगटा लाग्यो, जमिन घुमेजस्तो भयो त्यसपछि एकपटक बान्ता गरेको संझना छ ।’
लालबहादुरले फालेको मोवाईलमा लगातार अनौठो नम्बरबाट फोन आईरहेको थियो, त्यतिवेलासम्म विजय बेहोस भएर ढलिसकेका थिए ।
‘हामीले बिजयलाई हस्पिटल दौडायौं’ काठमाडौं मेडिकल कलेजले दिएको रिपोर्ट देखाउँदै टिकाले भनिन्, ‘राती १० बजेतिर बल्ल होस खुल्यो, त्यसपछि होटलमा ल्यायौं ।’
यस्तो अनौठो फोन आउँदा लालबहादुरलाई पनि सामान्य चक्कर लाग्यो, तर बेहोस भने भएनन् ।
रातो नम्बरबारे अहिले महानगरीय प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ । ‘डाक्टरले कन्भर्जन डिस्अर्डर भनेको छ’ वृतका प्रमुख डिएसपी नवराज कार्कीले भने, ‘सामाजिक सञ्जालमा फैलिएको अफवाहका कारण मन कमजोर भएको बेला त्यस्तो नम्बरबाट फोन आउँदा रिंगटा लाग्ने, बेहोस हुने हुँदोरहेछ ।’
विजयलाई अस्पताल लानुअघि नै होटल सञ्चालिकाले प्रहरीलाई खबर गरेकी थिईन् । प्रहरी हस्पिटलमा पनि पुगेको हुनाले ‘अफवाह फैलाएको’ भन्ने आरोपमा उनिहरु पक्राउ पर्नबाट जोगिए ।

विजयको अस्पताल रिपोर्ट
फोन आएको र गएको रेकर्ड ‘कल लग’ मा रातो नम्बरबाट आउने फोनको रेकर्ड नदेखिएको हुनाले फोन कसले गरेको थियो भन्नेबारे पत्ता लगाउन नसकिएको डिएसपी कार्किले बताए ।
फोन आउँदा आउँदै वृतमा पुगेपछि…
केही दिनअघि चावहिलका विजय वुढाथोकीको ९८१३८९६५८३ नम्बरमा रातो नम्बरबाट फोन आयो । करिव ४५ बर्षका वुढाथोकी आफ्नो मोवाईल लिएर गौशाला प्रहरी वृततिर हानिए । प्रहरी वृतमा पुगेपछी ड्युटी अफिसरलाई आफ्नो मोवाईल देखाउँदै भने, ‘लौ हेर्नुस मेरो मोवाईलमा रातो नम्बरबाट फोन आयो !’
फोन आईरहेको थियो, डुयुटी अफिसरले मोवाईल अफ गरिदिए ।
‘विजयको मोवाईलमा ३२ मिनेट ४५ सेकेन्ड सम्म फोन आईरह्यो’ डिएसपी कार्कीले भने, ‘फोन आएको कुरा नपत्याउने अवस्था नै रहेन, हाम्रै ड्युटी अफिसरले देखेपछि कसरी अविश्वास गर्नु ?’
रातो नम्बरको जरो खोतल्दै सिआईवी
गायक दिपक बराईली र प्रश्ना पाण्डे राजधानीको एक रेष्टुरेष्टमा कफि पिउँदै थिए । ठिक त्यतिनै बेला दिपकले आफ्नो मोवाईल देखाउँदै भने, ‘मलाई रातो नम्बरबाट फोन आयो !’
प्रश्नाले रातो नम्बर देखिने स्क्रिनसट आफ्नो मोवाईलमा सेन्ड गर्न लगाइन् र तत्कालै फेसवुकमा पोष्ट गरेर लेखिन्, ‘मलाई रातो नम्बरबाट फोन आयो…!’
दिकपलाई फोन आएकै थिएन्, फेसवुकमा फैलिएको फोटोलाई आफ्नो मोवाईलमा सेभ गरेर उनले प्रश्नालाई हावादारी गफ दिएका थिए । प्रश्नाले पनि हावादारी शैलीमा आफुलाई फोन आएको भन्दै गलत पोष्ट गरेकी थिइन् ।
तर, कहिलेकाँही हावादारी कदमले गम्भिर बाटो पहिल्याउँछ । प्रश्नाको स्ट्याटस र फोटोलाई एक अनलाईनले समाचार बनाइदियो ।
सोही समाचारका कारण प्रश्नालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले नियन्त्रणमा लियो । त्यसपछि प्रश्नाले भनिन्, ‘फोन मेरोमा आएका हैन, दिपक बराईलीकोमा आएको हो ।’
पछि दिपक पनि प्रहरी फन्दामा परे ।
सिआईवीले प्रारम्भिक अनुसन्धानबाटै पत्ता लगाईहाल्यो, ‘रातो नम्बरको त्रासदी हावादारी मात्रै हो, एउटा एपका कारण देशभर हंगामा फैलिएको मात्र रहेछ ।’
‘कल असिस्टेन्ट’ नामक फेक एप्लिकेशसन इन्स्टल गरेर यसरी झुक्याईएको रहेछ’ सिआईवीका सई आनन्द निरौलाले भने, ‘इन्टरनेटमा उपलब्ध फेक एप्लिकेसन मध्येकै एउटा एपको दुरुपयोग गरेर यस्तो हल्ला फैलाईएको रहेछ ।’
रातो नम्बरको अनुसन्धान गरिरहेका निरौलाले एपको प्रयोग गरेर आफ्नो नम्बरमा रातो नम्बरबाट कल गर्दै भने, ‘यसमा आवाज पनि राखेर झुक्याउँन मिल्छ ।’
गायक–गायिककाले माफि मागेपछी ब्युरोले उनीहरुलाई तारेखमा छाडेको छ । ‘अनुसन्धान अझै सकिएको छैन’ निरौलाले भने, ‘अझै थप केही भेटिन्छ कि, जरो सम्म त पुग्नुपर्यो नि !’
कसैले इन्टरनेटमा राखिदिएको हावादारी एपका कारण नकारात्मक सन्देश फैलिएको केन्द्रिय अनुसन्धान ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले बताए । उनले भने, ‘मनमा डर लिन हुँदैन, यो झुक्याउने खेल मात्र हो ।’
साभार रातोपाटी
Loading...
Share on Google Plus