अब केही गर्नुपर्छ भन्ने आशा पलाएको छ : श्वेता खड्का

दादा ( श्रीकृष्ण श्रेष्ठ) ठूलो बिरामी भएको थाहा पाएर मैले उहाँसँग विवाह गरेको होइन । तर, उति बेला मिडियामा यही विषयलाई लिएर धेरै चर्चा गरियो । चलचित्र ‘कोहिनुर’को छायांकनअगाडि मात्रै उहाँसँग मेरो भेटघाट भएको हो । करिब तीनचार महिना अघिदेखि नै उहाँलाई सामान्य खोकी लाग्न सुरु भएको थियो ।
विवाहको करिब एक महिना अघिदेखि उहाँलाई सुक्खा खोकीले बढी नै च्याप्न थालेको थियो । त्यति बेला फिजिसियन शशीकुमार थापासँग उहाँको चेकअप गराउँदा कोल्ड एलर्जी भन्दै उहाँले केही औषधि दिनुभयो । हामीले त्यही औषधि चलाइरह्यौं ।
विवाहको दिनमै पार्टी भएकाले हामीलाई धेरै नै दौडधुप पनि भयो । सायद, यही थकानका कारण उहाँलाई खोकी लागेको लाग्यै गर्‍यो । यसैले पनि परिवारका सदस्यले हामीलाई एकै छिन पनि छाड्नुभएको थिएन । बेलाबेला दादालाई तातो पानी खान दिएर आराम गर्न लगाइरहेका थियौं ।
भोलिपल्ट मेरो माइतीबाट मुख हेर्नका लागि आफन्तहरू आउनुभयो । तर, उहाँलाई खोकी निको नभएकाले ममीहरूसँग जानसक्ने अवस्था नै थिएन । ममीले पनि अहिले ज्वाइँलाई सन्चो छैन, १६ दिनभित्र जहिले भित्रिए पनि हुन्छ भनेर जानुभयो ।
दादाले पहिलेदेखि नै दिल्लीमा चेकअप गराइरहनुभएको थियो । त्यसैले परिवारको सल्लाहमा पुरानै डाक्टरसँग चेकअप गराउन दिल्ली लैजाने निर्णय भयो । विवाहको तेस्रो दिन हामी दिल्लीस्थित गंगाराम अस्पताल पुग्यौं । त्यहाँ नौ दिनसम्म आईसीयूमा राखेर क्याबिनमा सारिएको थियो । लगातार तीन सातासम्म उपचार गराउँदा पनि डाक्टरले कहिले कोल्ड एलर्जी त कहिले निमोनिया भन्थे ।
स्वास्थ्य अवस्थामा कुनै सुधार नदेखिएपछि उहाँको दाइले डाक्टरहरूलाई ‘किन रोग पत्ता लगाउन नसकेको’ भनेर सोध्नुभयो । यतिमात्रै होइन, आफ्नो शरीरको रोग पत्ता नलागेकाले दादा आफैं निराश भइसक्नुभएको थियो । उहाँले ‘डाक्टर मलाई के भएको छ भन्नुस्, कि मलाई मारिदिनुस् कि रोग पत्ता लगाइदिनुस्’ समेत भन्नहुन्थ्यो । त्यसपछि डाक्टरहरूले अन्य धेरै परीक्षण गरे ।
कुनै कुनै क्यान्सर अन्तिम अवस्थामा मात्रै थाहा हुने रहेछ । बायोप्सी टेस्टबाट बल्ल उहाँलाई फोक्सोको क्यान्सर लागेको भन्ने पत्ता लाग्यो । परिवारले पहिले त मलाई केही भनेको थिएन । तर, पछि दाइले बच्चालाई सम्झाएझैं सम्झाउँदै मलाई सबै कुरा भन्नुभयो । त्यो सुनेर म बेहोश भएँ । करिब चार घन्टापछि मात्रै होश आएर रुन थाल्दा दाइले रुन दिनुभएन । तिमी रोयौ भने भाइ झन् आत्तिन्छ र उसको उपचारमा गाह्रो हुन्छ भनेर दाइले भन्नुभयो । दाइ भन्नुहुन्थ्यो- हामीले उसलाई केही पनि भएको छैनजसरी सामान्य रूपमै व्यवहार गर्नुपर्छ ।
उहाँहरूको पूरै परिवार मेडिकल लाइनको भएकाले कुन रोगमा के औषधि प्रयोग गरिन्छ भन्ने सबैलाई थाहा थियो । त्यसैले उहाँलाई औषधि दिँदा पनि बोतल परिवर्तन गरेर दिने भन्ने सल्लाह भयो । उहाँलाई पहिलो किमो पनि त्यसरी नै दिइयो । त्यति बेला उहाँ टेलिभिजनमा कार्यक्रम हेर्दै हुनुहुन्थ्यो । हजुरलाई सन्चो पार्न औषधि दिएको भनेर भुलाउँदै उहाँलाई किमो दिइएको थियो ।
यसको करिब एक सातासम्म त केही भएन । तर, दोस्रो किमो दिने बेला अचानक उहाँलाई गाह्रो भयो । उहाँको आँखाबाट आँसु बगिरहेको थियो । आईसीयूभित्र लैजाने बेलामा गेटमा हात हल्लाएर मलाई बाई गर्नुभएको थियो । त्यति बेला मेरो मन निकै आत्तिसकेको थियो । भित्रैबाट एक प्रकारको निराशा छाइसकेको थियो । दैवको खेल त्यस्तै भयो । दादासँगको अन्तिम भेट त्यही भयो ।
केही समयपछाडि ‘भाइले तिमीलाई भेट्न खोजेको छ’ भन्दै दाइले आईसीयूमा बोलाउनुभयो । तर, त्यहाँ नहुनुपर्ने घटना घटिसकेको रहेछ । त्यसपछि के भयो ? म नेपालसम्म कसरी आइपुगेँ ? केही सम्झना छैन ।
उपचारका क्रममा उहाँलाई नदुख्ने औषधि थुप्रै दिइएको थियो । त्यसैले पनि होला, उहाँ मज्जाले गफ गरिरहनुहुन्थ्यो । खाना पनि डाइटिसियनको सल्लाहअनुसारै खानुहुन्थ्यो । उहाँ साई र शिवलाई धेरै मान्नुहुन्थ्यो । त्यसैले बिहीबार मासु खानुहुन्नथ्यो । घटना भएको दिन साउन २४ गते पनि उहाँले म आज मासु खान्नँ भनेर दूध र अन्य खानेकुरामात्रै खानुभएको थियो ।
आफूलाई क्यान्सर भएको छ भन्ने जानकारी दादालाई नदिने मेरै योजना थियो । परिवारको साथ पाएर उहाँलाई अन्तिमसम्म पनि यो कुरा बताइएन । ‘मलाई कम त हुनुपर्ने, किन के भएको भन्नु न’ भनेर उहाँले डाक्टरहरूलाई धेरैपटक सोध्नुभयो । तर, हामीले नबताउनू भनेकाले डाक्टरले पनि भन्नुभएन । रोग पत्ता लागेपछि डाक्टरले राजीव गान्धी क्यान्सर अस्पतालमा उपचारका लागि लैजाने सल्लाह दिएका थिए । तर, हामीले उहाँलाई मनोवैज्ञानिक असर पर्छ भनेर बरु उताका डाक्टर यता बोलाएरै उपचार गरायौं, राजीव गान्धी क्यान्सर अस्पतालमा लगेनौं ।
उहाँको उपचारमा हामीले कुनै कमी गरेनौं । उहाँले दुख्यो भनेको म सहन सक्दिनथिएँ । त्यसैले उहाँलाई नदुख्ने र गाह्रो नहुने सर्तमा जति पैसा खर्च भए पनि औषधि दिनुस् भनेर डाक्टरलाई भनेँ । र, करिब एक लाख ३० हजार रुपैयाँ पर्नेसम्मको एउटै इन्जेक्सन दिइयो । तर, धेरै महिनासम्मको खोकाइ र बढी औषधि सेवनले उहाँको शरीर निकै कमजोर भइसकेको थियो । सायद यसैले, दोस्रो किमो अलि कडा भएकाले उहाँको शरीरले सहन सकेन । दिउँसो ३ बजेतिर किमो दिएको, राति उहाँले संसार छोड्नुभो ।
उहाँको अवस्था देख्दा म बेलाबेला निकै रुन्थेँ । दाइहरू ‘तिमी कमजोर देखियौ भने भाइ झन् आत्तिन्छ’ भन्नुहुन्थ्यो । त्यसैले रुन मन लागे ट्वाइटेलमा गएर रुमालले मुख छोपेर रुन्थेँ । कहिले बार्दली त कहिले खाना खान गएको भन्दै चौरमा गएर रुन्थेँ । उहाँलाई सबैले चिन्छन् भनेर हामीले अस्पतालमा पनि नाम परिवर्तन गरेर राखेका थियौं । त्यहाँ उपचारका लागि आउने नेपालीले चिन्लान् भनेर मसमेत बाहिर निस्कँदा अनुहारमा मास्क लगाएर निस्कन्थेँ ।
स्वास्थ्यप्रति उहाँ निकै सचेत हुनुहुन्थ्यो । प्रत्येक वर्ष भारत गएर नियमित रूपमा एकपटक सम्पूर्ण शरीरको चेकअप गराउने उहाँको बानी थियो । लामो समयसम्म नखाई नखाई सुटिङमा व्यस्त हुने बानीले उहाँको ग्यास्ट्रिक बिग्रिएर पेटमा अप्रेसन गरिएको रहेछ । त्योभन्दा बढी त केही भएकै थिएन । रोग पत्ता लगाउनै हामीलाई धेरै समय लागेको थियो ।

पशुपतिमा भएको एउटा कार्यक्रममा मनीषा कोइराला र म सँगै थियौं । पेट दुख्यो भनेर नर्भिकमा उपचार गराउन जाँदा मनीषा दिदीलाई क्यान्सर भएको पत्ता लागेको थियो । खबर सुनेर मलाई धेरै दुःख लाग्यो । गौशालाको एउटा पार्लरमा काम गर्ने दिदीको छोराको नाकबाट रगत आयो रे । जँचाउन लैजाँदा थाहा भयो- रक्त क्यान्सर भएको रहेछ । उहाँलाई राजीव गान्धी अस्पतालमा लगेर उपचार गरेपछि अहिले निको भएको छ ।
दशा बाजा बजाएर आउँदैन भन्ने हाम्रो उखानै छ । क्यान्सर पनि खबर गरेर आउँदैन । क्यान्सर जहिले, जसलाई पनि हुनसक्छ । क्यान्सर मृत्युभन्दा पनि डरलाग्दो रोग हो । तर, बिरामीले आफ्नो आत्मबल बढाउँदै लगेर यसलाई जितेका उदाहरण पनि हामीले धेरै देखेका छौं ।
दादाले अन्तिम समयसम्म यो रोगसँग लड्ने धेरै प्रयास गर्नुभयो । चलचित्र ‘कोहिनुर’को रिलिज मिति पहिले नै तय भएअनुसार साउन २३ गते रिलिज गरियो । उहाँले अस्पतालबाटै म उपचारमा छु भन्ने भ्वाइस बाइट पनि पठाइदिनुभएको थियो । साँझ चलचित्र कस्तो चल्यो भनेर निर्देशक र हलवालाहरूसँग रिपोर्ट मागिरहनुभएको थियो । चलचित्र राम्रो चलेको सुनेपछि निकै उत्साहित पनि हुनुभएको थियो । आफ्नै ब्यानर नेपा मुभिज प्रालिबाट अझै धेरै चलचित्र बनाउनुपर्छ भन्ने सल्लाह गर्नुहुन्थ्यो ।
घटना हुनु एक दिनअघि उहाँले ‘भोलि मलाई केही भइहाले तिमी जिन्दगीमा धेरै खुसी हुनु, हिम्मत लिएर अगाडि बढ्नु’ भनेर जिस्कनुभएको थियो । ‘मेरो आत्माले तिमीलाई सधैं हेरिरहनेछ, तिम्रो हरेक दुःखमा साथ दिनेछु’ भनेर उहाँले भनेपछि म उहाँको मुठी समातेर धेरै रोएको थिएँ । मैले ‘यस्तो कुरा नगर्नुस्, तपाईंलाई सन्चो हुन्छ’ भनेको थिएँ । त्यस बेला उहाँले ‘खोइ त नि तिम्रो डाक्टरले के भएको भनेर भन्दै भन्दैन’ भन्नुभएको थियो । ‘म तिमीसँग कति कुरा गर्न चाहन्छु तर तिमी रोइरहन्छौ’ भन्नुहुन्थ्यो ।
उहाँलाई कति कुरा भन्ने इच्छा थियो होला तर म भन्ने बाटै दिन्नथेँ । ‘हजुरलाई केही हुँदैन’ भनेर सधैं हौसला दिने प्रयास गर्थें ।
उहाँ भन्नुहुन्थ्यो- विवाहलगत्तै मेरै कारणले अस्पतालमा बस्नुपर्‍यो, सरी ।
म मन थाम्न नसकेर सँगै रुन्थेँ । उहाँ सधैं भन्नुहुन्थ्यो- मृत्यु खबर दिएर आउँदैन, आइहाले पनि नआत्तिनु, तिमी धेरै खुसी हुनु ।
जे भए पनि विधिको विधानलाई स्वीकार्नैपर्ने रहेछ । म धेरै तनावमा गइसकेको थिएँ । यहाँसम्म कि मलाई अरूले नै नुहाइदिनुपर्ने भइसकेको थियो । एक हिसाबमा म पनि मरिसकेको थिएँ । धेरैजनाको परामर्शपछि मलाई ‘जीवन छ’ भन्ने लागेको छ । अब केही गर्नुपर्छ भनेर आशा पलाएको छ र यो ठाउँसम्म आइपुगेकी छु । चाँडै नै नयाँ चलचित्र सुरु गर्ने सोच बनाएको छु । दादालाई कुनै पनि हिसाबमा चोट पुग्ने काम म गर्दिनँ । उहाँको सपना र इच्छालाई साकार पार्ने बाटोमा अगाडि बढिरहन्छु ।
अन्नपूर्ण पाेस्टबाट
Loading...
Share on Google Plus