.

धुर्मुस–सुन्तलीद्वारा अष्ट्रेलियाबाट करिब ८२ हजार डलर संकलन, आजै नेपाल फर्किँदै

काठमाडौँ, २५ माघ, करिब २० दिनको अष्ट्रेलिया भ्रमणमा रहेका धुर्मुस–सुन्तलीले करिब ८२ हजार डलर संकलन गर्न सफल भएका छन् । अष्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रमको आयोजना तथा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग संकलनबाट नेपाली रुपैया करिब ७० लाख संकलन भएको हो ।
प्रदीप चापागाईँको संयोजकत्वमा अष्ट्रेलियाका विभिन्न स्थानमा गज्जबको इभेन्टस् नाममा कार्यक्रमहरु भएका थिए । सो यात्रामा कलाकार सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), र दीपक आचार्य तथा गायक भरत सिटौलाको सहभागिता रहेको थियो । संयोजक चापागाईंका अनुसार जनवरी २० मा सिड्नीमा भएको कार्यक्रमबाट करिब २५ हजार डलर संकलन भएको थियो । एडिलेटमा जनवरी २६ तारिखका दिन भएको कार्यक्रमबाट करिब १५ हजार डलर संकलन भएको थियो भने जनवरी २९ तारिखमा मेलबर्नमा भएको कार्यक्रमबाट करिब २३ हजार डलर संकलन भएको छ ।
यता फाइनस्टनमा ब्रेकफास्ट आयोजना भएको र त्यहाँबाट करिब ३१ सय डलर संकलन भएको चापागाईंले जानकारी दिए । यसैगरी फेब्रुअरी ४ मा मेरो इभेन्टस अष्ट्रेलियाले ब्रिसबेनमा गरेको धुर्मुस–सुन्तली साँझ कार्यक्रमबाट १९ हजार डलर संकलन भएको थियो । बोन्डावडमा पनि एक डिनर आयोजना भएको र त्यहाँबाट ५ हजार डलर संकलन भएको उनले जानरकारी दिए ।

यो यात्राको क्रममा करिब ८२ हजार अष्ट्रेलियन डलर संकलन भएको चापागाईंले बताए । संकलित रकम बर्दिबासमा निर्माणाधीन एकीकृत मुसहर नमुना बस्ती निर्माणको लागि खर्च गरिने धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष तथा कलाकार सिताराम कट्टेलले जानकारी दिए । आज बिहान अष्ट्रेलियाबाटै फेसबुक लाइभ मार्फत सन्देश दिँदै कट्टेलले रकम संकलनमा सहयोग गर्ने सबै अष्ट्रेलियाबासीलाई धन्यवाद दिए । उनले एकीकृत नमुनाबस्ती निर्माणमा यति रकमले मात्रै नपुग्ने भएकोले सहयोगी मनहरुलाई निरन्तर सहयोग गरिदिन अपिल गरेका छन् ।
फाउण्डेसनकी कोषाध्यक्ष तथा कलाकार कुञ्जना घिमिरेले अष्ट्रेलिया यात्राको क्रममा संयोजन गर्ने र सहयोग गर्नेलाई धन्यवाद दिँदै यो यात्राले राष्ट्र निर्माणको अभियानमा थप उर्जा, हौसला र प्रेरणा मिलेको बताएकी छिन् ।
धुर्मुस–सुन्तली लगायतका कलाकारहरु सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गरेर अष्ट्रेलियाबाट आजै नेपाल फर्किने जनाइएको छ ।
source:aajakokhabar.com
Loading...
Share on Google Plus