सरकारी जागिर छाडेर भागेका पाँच सेलिब्रेटी

काठमाडौं, माघ २४ – एउटा भनाई छ, तिहुन मीठो तरकारी, जागीर राम्रो सरकारी । अर्थात सरकारी जागिर भयो भने जीवनभरलाई ढुक्क हुन्छ । सरकारी जागिर नभएको मान्छेको के भर ? 
सरकारी जागिर भयो भने बुढेसकालमा पेनसेन आउँछ । काम नगरी खान पाइन्छ भन्ने धेरैको धारणा छ । त्यसमाथि सेनामा काम गर्नेको शान र इज्जत समाजमा बेग्लै हुन्छ ।  प्राय मानिसहरु सरकारी जागिर भनेपछि मरिहत्ते नै गर्छन् । सरकारी जागिर खानका लागि लोकसेवाको परीक्षाको फर्म भर्नेको आँकडा हेरेमात्रै पनि पुग्छ सरकारी जागिरको मोह ।
तर सबैलाई सरकारी जागिर मन पर्छ भन्ने छैन । कतिले सुरुमा लहै लहैमा सरकारी जागिर खान्छन् र पछि विविध कारणले छाडेका पनि छन् । केही कलाकार पनि छन्, जो सरकारी जागिर छाडेर अरु काममा लागेका छन् । 

दीपकराज गिरी

नेपाली सिने क्षेत्रका राजा बनिसकेका कलाकार दीपकराज गिरी आफूलाई हुन नसकेको असइ भन्छन् । उनी कलाकारितामा आउनुभन्दा पहिले असइमा भर्ती भएका थिए । यो कुरा धेरै कमलाई थाहा छ । उनले आफू प्रहरी सहायक निरीक्षक (असई) मा भर्ती भएर केही दिन बिताएको कुरा केही अन्र्तवार्ताहरुमा भनेका छन् । 
उनले जम्माजम्मी चार दिनको लागि असईको जागिर खाए । सुरुवाती चार दिनमै ट्रेनिङ गाह्रो लागेपछि उनले त्यो जागिरबाट कुलेलम ठोक्ने विचार गरे र ठोके पनि । पहिले प्रहरी अधिकृत बन्ने रहरले असई भएका उनीसँग थोरै भएपनि फौजी जागिरको अनुभव छ । दीपकले सरकारी जागिर छाडेर कलाकारितामा लागे जुन उनलाई निकै फापेको छ । 

अर्जुन घिमिरे

अजुर्न घिमिले उर्फ पाँडेले पनि नेपाली सेनाको अनुभव संगालेका छन् । संकटकालको समयमा उनी आर्मीमा भर्ती भएका थिए । तर उनको संकटकालको सरकारी जागिर संकटकालले नै खाइदियो । देशमा माओवादी र सरकारबिच बढेको द्वन्द्वले उनको जागिर खाइदिएको हो । उनी त्यो पल सम्झँदै भन्छन्, ‘संकटकालमा जागिर खाको संकटकाल मै अवकास प्राप्त भयो ।’  अर्जुनका दाइ प्रहरीमा थिए । उनले दाइको माध्ययमबाट सेनाको जागिर खाएका थिए । तर पछि संकटकालमा बढेको द्वन्द्वले उनी लगायत अन्य १२ जनाले  एकैपटक आर्मीको जागिर छोडेका थिए  ।  
तपाईँले त आर्मीको जागि छोड्नु भएको रे त भन्ने हाम्रो प्रश्नमा उनले, ‘छोडेको हैन छोडाईएको हो’ भनेर जवाफ फर्काएका थिए । कलाकारिता भने उनले आर्मीमा जानुभन्दा पहिले नै सुरु गरेका थिए । उनले पहिलो पटक  ‘हिजो आजका कुरा’मा क्यामेरा फेस गरेका थिए । पछिल्लो समय उनी भ्रदगोलमा पाँडेको  भूमिका निभाएर चर्चित भएका हुन् । केही समय बन्द भएको यो हाँस्यटेलिसिरियल फेरि नेपाल टेलिभिजनमा आउने भएको छ । 

धिरेन शाक्य

नायक धिरेन शाक्यले नेपाली सिनेमामा झण्डै तीन दशक जति बिताई सकेका छन् । पाल्पामा जन्मेका धिरेनले पनि अभिनयका लागि ब्रिटिश आर्मीको जागिर छाडेका थिए । उनी आफू आर्मीमा हुँदाको कुरा सम्झँदै, ‘त्यतिबेला जोश थियो, उमेर थियो, त्यस कारण म गएँ । तर पछि मलाई त्यो जीवन मन परेन । अनि म छाडेर कलाकारितामा लागँे । मैले राजीनामा दिएर छोडेका पनि होइन तर कलाकारितामा आउन लेखेको रहेछ त्यहि भएर मैलै छाडेँ जस्तो अहिले लाग्छ ।’ 
उनी आर्मीको जागिर छोडेर आएपछि साथीहरुको हौसला र सहयोगले सिनेमामा लाग्ने सोच बनाएका थिए । उनलाई निर्देशक बसन्तजंगले सिनेमाको ढोका खोलिदिएका थिए भने चेतन कार्कीले ब्रेक दिएका थिए । जुन कुरा उनी कहिल्यै पनि बिर्सन सक्दैनन् । 

प्रशान्त तामाङ

ईन्डियन आईडल बनेका गायक तथा नायक प्रशान्त तामाङ पनि पहिले ईन्डियन प्रहरीमा कार्यरत थिए । प्रशान्तले कलाकारिता र प्रहरी मध्ये एउटा छान्नु पर्ने भएका कारण कलाकारितालाई छानेको र प्रहरीको जागिर छाडेको जानकारी मिडियालाई दिएका थिए । तर उनी लामो समयसम्म गयल भएका कारण उनलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको थियो । 
उनी ईन्डियन आईडल भएपछि सन् २००९ देखि २०१४ सम्म  एक हजार ८ सय ७० दिन गयल भएका थिए । प्रशान्तले सिनेमा गोर्खा पल्टन र निशानीमा आर्मीको भूमिका निभाएका छन् । उनलाई वास्तविक जीवनमा भएको प्रहरीको अनुभवले सिनेमामा काम गर्न पनि निकै सजिलो भएको थियो । 

तुलसी  घिमिरे

निर्देशक तुलसी घिमिरेले पनि सरकारी जागिर छाडेर सिनेमालाई अंगालेका हुन् । उनी भारतीय सेनामा भर्ती भएका थिए । उनलाई सानैदेखि सिनेमामा आउन मन थियो । यहि कारण नै उनले सेनाको जागिर छाडेका हुन् । उनले सेनामा ६ महिना बिताए । अर्थात ६ महिने ट्रेनिङ पछि उनले आर्मी जीवनलाई अलविदा भनेर सिनेमामा काम सुरु गरे । उनको पारिवारिक पृष्ठभूमि नै आर्मी भएका कारण उनी आर्मीमा भर्ती भएका थिए । उनका बुवा र तीनजना दाजुहरु पनि आर्मी नै हुन् ।  
अहिले तुलसी नेपाली सिनेमाको इतिहासमा एक सफल निर्देशको रुपमा स्थापित भइसकेका छन् । उनले निर्देशन गरेको चर्चित सिनेमा ‘दर्पण छायाँ’को सिक्वेल फागुन २७ गते रिलिज हुँदैछ । दर्पण छायाँले नेपाली सिनेमाको इतिहासमै पहिलो पटक सिंगल थियटरमा सय दिन मनाएको थियो । कुसुमे रुमाल, लाहुरे, चिनो, साइनो, देउता, दक्षिणा, दर्पणछायाँ लगायत दर्जन बढी सुपरहिट चलचित्र उनले दिइसकेका छन् । 
source:http://ujyaaloonline.com
Loading...
Share on Google Plus