यी छोरी जसले आमालाई मिर्गौला दिएर बचाइन्

Loading...

निकै पीडा भइरहेको थियो। पानी-पानी भनेर कराइरहेको थिएँ रे। त्यो भन्दा पीडा त आमालाई कहिले देख्न पाउँछु भन्ने कुराको थियो। होस–बेहोस दुवैमा आमालाई नै सम्झिरहेको थिएँ। जब आमालाई देखेँ, संसार जितेजस्तो भयो। आफ्नो मिर्गौलाबाट आमले पुनर्जीवन पाउँदा विजय हासिल गरेको सम्झिइन्, विजया विसीले।
< ‘के हुन्छ के द्वीविधामा आमाका लागि मिर्गौला दिएकी थिएँ, सफल भयो,’ विजयाको मुहारमा खुसी नाच्यो, ‘त्यो दिनदेखि मेरो जिवनको नयाँ अध्याय सुरु भएको छ । शल्यक्रिया गरेकाले आलो घाउ दुखिरहेको थियो तर आमाको मिर्गौला प्रत्यारोपण सफल भएको खुसीमा सबै दुखाइ भुलेकी थिएँ।’

अहिले मन्त्री क्वार्रट पुल्चोकमा आमाको हेरचार गरेर बसिरहेकी विजया खेलकुद मन्त्री दलजीत श्रीपाइलीकी ठूली सन्तान हुन्। उनी सानै छँदा २०५२ सालबाटै बुबा माओवादी युद्धमा होमिएका थिए। आमा सुनकुमारी विश्वकर्माले दुःखजिलो गरेर छोरीहरु हुर्काएकी थिइन्।
रुकुम महत गाविसमा जन्मेकी विजयाले सानैदेखि संघर्षको पहाड देखेकी, भोगेकी थिइन्। ‘बुबा युद्धमा हुनुहुन्थ्यो, सेनाले दुःख दिन थालेपछि आमा पनि युद्धमै होमिनु परेको थियो,’ उनी युद्धकालका अँध्यारा दिनतिर फर्किइन्, ‘२०६४ सालअघि त बुबासँग राम्ररी बस्न पनि पाइएन । ०५२ सालमा हिँड्नु भएको बुबालाई एकैपटक ०५६ सालमा देखेको।’
उनलाई राम्रै सम्झना छ, युद्धकालको कहालीलाग्दो समय। जहाँ उनको परिवारले व्यहोरेको सास्तीको सिलसिला क्रमैसँग आउँछ। उनलाई घरिघरि लाग्छ १० वर्षको युद्धले आमालाई जति संघर्षशील बनायो त्यति नै रोगी पनि।
पुराना सकसपूर्ण दिनबाट विजया ताजा पीडादायी दिनमा आइपुगिन्, ‘२०६८ सालदेखि आमाको मिर्गौला खराब भएको हो। पहिला किस्ट अस्पतालमा राखेर ४२ दिन सम्म उपचार गरिएको थियो, निको भएन। २० को १९ हो कि जस्तो मात्र। आमा निको भएर फर्कनुहोला भनेको त २०७१ बाट अस्पतालमा राखेर डायलासिस गर्नुपर्ने अवस्था नै पो आयो।’ आफूलाई दुःख–कष्ट झेलेर जन्माउने, हुर्काउने आमाको पीडाले विजयाको मन हुँडलिन्थ्यो। उनी एकोहोरिन्थिन्, आमालाई कसरी रोगबाट निकाल्ने।
b
विजयाले गाउँमा बस्दा युद्धका घाइते र अरु बिरामीको टिठलाग्दो अनुहार पढेकी थिइन्, जुनबेला उनी स्कुल पनि पढ्थिन्। उनलाई लाग्थ्यो ती मायालाग्दा मान्छेहरुको सेवा गर्न पाए हुन्थ्यो भन्ने। उनले मनमनै अठोट गरेकी थिइन्, मौका मिलेसम्म नर्स बन्छु। विजयाले ०६६ सालमा एसएलसी प्रथम डिभिजनमा पास गरिन्। त्यसपछि उनीसँगै नर्स बन्ने सपना पनि काठमाडौँ छिर्‍यो। उनले भक्तपुरको चक्रवर्ती कलेजमा स्टाफ नर्स पढ्न पाइन्। भन्छिन्, ‘मैले गाउँमा घाइते र बिरामी देख्दा देखेको सपना अहिले आमाको सेवामा लगाउन पाएकी छु। म आफैँ नर्स भएकाले पनि आमाको हेरचाह गर्न सजिलो भएको छ।’
विजयाले कसरी निर्णय गरिन् त आमालाई मिर्गौला दिएर पुनर्जीवित पार्ने?
‘मलाई धर्ती देखाउने आमा कहिले अस्ताउनु हुने हो टुंगो थिएन, यो सम्झिँदै पनि मन भतभती पोल्थ्यो। युद्धको तातो पचाएकी मेरी आमालाई रोगले चिसो बनाउँदै लगिसकेको थियो। जति डाइलासिस गरे पनि सिकिस्तै मात्र भएपछि, आमालाई बचाउने मैले एउटै विकल्प देखेँ, मिर्गौला प्रत्यारोपण। त्यसको निर्णय लिन मलाई त गाह्रो परेन। तर, बुबा–आमासामु मैले मिर्गौला दिने निर्णय सुनाउन चाहिँ निकै हिम्मत जुटाएकी थिएँ।’
विजयाले मृगौला दिने कुरा सुनाउँदा, बुबा दलजीत र आमा सुनकुमारी के भन्ने, कसो भन्ने अलमलमा परे। युद्ध सुरु भएदेखि श्रीमती र छोरीहरु छोडेर हिँडेका श्रीपाइली शान्ति सम्झौतापछि पनि जनमुक्ति सेनामै रहे। काठमाडौँ बस्दा पनि राजीतिक गतिविधिले उनी परिवारसँगभन्दा बढी बाहिरै हुन्थे। लाऊँलाऊँ खाऊँखाऊँ उमेरकी छोरीको एउटा मिर्गौला दिने निर्णय स्वीकार्ने कि दिनदिनै गल्दै गएकी श्रीमतीको जलन सहने, द्वीविधामा थिए उनी। आखिर छोरीको हिम्मतले जित्यो, आमाप्रति छोरीको माया–समर्पणले जित्यो।
विजयाले आफ्नो निर्णण सुनाइन् तर त्यसको लागि जीवनसाथीलाई केही भनेकी थिइनन्। ०७१ साल वैशाखमा रुकुमकै नेपाली सेनामा कार्यरत दिलीप सुनारसँग उनको विवाह भएको थियो । उनले संसयका साथ श्रीमान्लाई आफ्नो मनको कुरा सुनाइन्। तर, श्रीमान्को जवाफले उल्टै उनलाई अवाक् बनायो। उनले खुसी हुँदै सुनाइन्, ‘श्रीमान्ले त आमालाई योगदान गर्ने, छोरीको कर्तव्य पूरा गर्ने योभन्दा ठूलो मौका आउँदैन भनेर मलाई हौसला दिनुभयो।’
त्यसपछि ०७२ माघ २० गते शिक्षण अस्पताल महाराजगन्जमा विजयाको एउटा मिर्गौला आमाको शरीरभित्र पुग्यो। आमालाई मिर्गौला दिएर बचाउन सकेकोमा आफ्नो कर्तव्य पूरा गरेको अनुभव हुन्छ उनलाई। ‘भनिन्छ भगवान् खोज्न मन्दिरको ढुंगालाई पुज्नै पर्दैन, जिउँदा भगवान् त हाम्रै अगाडि हुनुहुन्छ, आमा–बुबाका रुपमा,’ विजयाले खुसी साटिन्, ‘मैले त मृत्युसँग लडिरहेकी मेरी भगवान् आमाको दर्सन पाएँ। मेरोलागि योभन्दा ठूलो खुसी अर्को छैन।’
तर एकैछिन विजयाको मुहारको भाव बदलियो, ‘मिर्गौला दिएँ, अप्रेसन सफल भयो। म पाँच दिनपछि घर आएँ। तर, आमालाई मैले दिएको मिर्गौलाले काम गरेन, रिजेजक्सन भयो, भन्ने कुरा पो आयो।’ उनले लामो सास फेरिन्, ‘आलै घाउ बोकेर म अस्पताल दगुरेँ। चार दिन अगाडि गरेको शल्यक्रियाले मलाई रोक्न सकेन। त्यो दुखाइलाई मैले हसजै जितेँ।’ गहभरि देखिन लागेको आँसु फेरि बिलायो, जब उनले डाक्टरले आमालाई ठिक पारेको कुरा सुनाइन्।
विजयाले दिएको मिर्गौलाले सम्पूर्ण काम भने गर्न सकेन, त्यो मिर्गौलाले सुनकुमारीको शरीरमा २० प्रतिशत मात्रै काम गर्छ। उनी अहिले सामान्य हिँडलुड गर्न सक्ने भएकी छिन्। नियमित चेकजाँचमा छोरीहरु लिएर जान्छिन्। श्रीपाइली परिवारमा खुसीका लहरहरु घुम्न थालेका छन् अचेल।
२४ वर्षीया विजयाले साँच्चै, ‘बावु–आमाको मन छोरा–छोरीमाथि छोराछोरीको मन ढुङ्गामुडामाथि’ भन्ने उखानलाई गलत सावित गरिदिएकी छिन्। source:americanepal.net
Loading...
Share on Google Plus